
काठमाडौँ । नेपाल टेलिकमले दसैँ, तिहार तथा छठ पर्वलाई लक्षित गर्दै सेवाग्राहीका लागि ‘दसैँ-तिहार अफर, २०८३’ सार्वजनिक गरेको छ । टेलिकमले विभिन्न आकर्षक छुट तथा सहुलियतसहितको ‘दसैँ-तिहार अफर २०८३’ सार्वजनिक गरेको हो ।
चाडपर्वको अवसरमा कम्पनीले फाइबर टु द होम इन्टरनेट, मोबाइल डाटा, भ्वाइस र एसएमएस सेवामा विशेष छुट तथा अफरहरू ल्याएको हो ।
नयाँ फाइबर टु द होम (एफटीटीएच) इन्टरनेट जडान गर्ने ग्राहकलाई ५०० रुपैयाँ जडान शुल्क मिनाहा गरिने टेलिकमले जनाएको छ । यस्तै, १००, १५० र २०० एमबीपीएस क्षमताका नयाँ वार्षिक इन्टरनेट प्याकेज खरिद गर्ने ग्राहकले थप एक महिना सेवा पाउनेछन् । आज (असोज २५) देखि कात्तिक ३० गतेसम्म नयाँ एफटीटीएच प्याकेज जडान गर्ने ग्राहकले जडान शुल्कमा समेत छुट पाउने छन् ।
त्यस्तै वार्षिक प्याकेजअन्तर्गत ग्राहकले १२ महिनाको शुल्क तिरेर १३ महिनासम्म इन्टरनेट सेवा उपयोग गर्न सक्नेछन् । प्याकेजमा बोनसका रूपमा उपलब्ध हुने मोबाइल डाटा पनि १३ महिनासम्म प्रयोग गर्न सकिने कम्पनीले जनाएको छ ।
भर्चुअल सेटअप बक्ससहितको प्याकेज लिने ग्राहकलाई एक हजार रुपैयाँ छुटको सुविधा पनि उपलब्ध रहेको कम्पनीले जनाएको छ ।
टेलिकमले मोबाइल सेवाका ग्राहकका निम्ति ४९९ र ६९९ रुपैयाँका दुई प्रकारका ‘फेस्टिभल अनलिमिटेड’ प्याकेज ल्याएको छ । ४९९ को ‘फेस्टिभल अनलिमिटेड’ प्याकेजमा प्रतिदिन पाँच जीबी उच्च गतिको डाटा उपलब्ध हुनेछ । उक्त डाटा सकिएपछि प्याकेजको बाँकी अवधिमा दुई एमबीपीएस गतिमा असीमित डाटा प्रयोग गर्न सकिने टेलिकमले जनाएको छ ।
६९९ को ‘फेस्टिभल अनलिमिटेड प्रिमियम’ प्याकेजमा प्रतिदिन १० जीबी उच्च गतिको डाटा उपलब्ध हुनेछ । दैनिक डाटा सीमा सकिएपछि बाँकी अवधिमा तीन एमबीपीएस गतिमा असीमित डाटा प्रयोग गर्न सकिने व्यवस्था गरिएको छ ।
कम्पनीले भ्वाइस तथा सन्देश सेवामा समेत सहुलियत दरका प्याकेज सार्वजनिक गरेको छ । २०० रुपैयाँमा सबै नेटवर्कमा प्रयोग गर्न मिल्ने एक हजार मिनेटको ‘जोयफुल मिनेट्स’ प्याकेज उपलब्ध हुनेछ ।
९९ रुपैयाँमा नेपाल टेलिकमकै नेटवर्कभित्र एक हजार एसएमएस पठाउन सकिने ‘फेस्टिभ म्यासेज’ प्याकेज खरिद गर्न सकिनेछ । यी मोबाइल प्याकेजको समयावधि ३० दिनको हुने कम्पनीले जनाएको छ ।
मोबाइल प्याकेजमा समावेश अफरका सुविधा असोज ३० देखि कात्तिक ३० गतेसम्म प्याकेज खरिद गर्ने ग्राहकले प्राप्त गर्न सक्नेछन् । ग्राहकले आफ्नो मोबाइलबाट ८१४१५८११३ डायल गरेर वा नेपाल टेलिकमको मोबाइल एप प्रयोग गरी आफूलाई आवश्यक प्याकेज खरिद गर्न सक्ने कम्पनीले जनाएको छ ।
पर्वका अवसरमा ल्याइएको यस योजनाबाट नयाँ इन्टरनेट जडान तथा मोबाइल डाटा, भ्वाइस र सन्देश सेवा प्रयोग गर्ने ग्राहकलाई सहुलियत पुग्ने अपेक्षा कम्पनीले गरेको छ ।