
काठमाडौँ । भारतको राजधानी दिल्लीमा निर्वाचन आयोगविरुद्ध भएको प्रदर्शनका क्रममा पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जीसहित तीन पूर्वमुख्यमन्त्रीलाई प्रहरीले पक्राउ गरेको छ ।
शनिबार ककरोच जनता पार्टी (सीजेपी) ले आयोजना गरेको प्रदर्शनका क्रममा ममता बनर्जी, केरलाका पूर्वमुख्यमन्त्री पिनाराई विजयन र त्रिपुराका पूर्वमुख्यमन्त्री माणिक सरकार पक्राउ परेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
भारतीय अनलाइ सञ्चारमाध्यमका अनुसार प्रदर्शनका क्रममा प्रहरीले यसअघि नै जन्तर मन्तरनजिकबाट सीजेपीका करिब एक हजार समर्थकलाई पक्राउ गरेको थियो । पार्टीका संस्थापक अभिजित दीपके, आशुतोष रान्का र सौरभ दासलाई दिल्ली विमानस्थलमा ओर्लिनेबित्तिकै पक्राउ गरिएको समाचारमा उल्लेख छ ।
त्यस्तै, युट्युबर ध्रुव राठीलाई गुरुग्रामस्थित निवासबाटै प्रहरीले हिरासतमा लिएको जनाइएको छ । प्रदर्शनका क्रममा केही पत्रकारलाई समेत प्रहरीले पक्राउ गरेको भारतीय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन् ।
भारतका प्रमुख निर्वाचन आयुक्त ज्ञानेश कुमारको राजीनामा माग गर्दै सीजेपीले शनिबार बिहानैदेखि दिल्लीको जन्तर मन्तर र कनट प्लेस क्षेत्रमा प्रदर्शन गरेको थियो । प्रदर्शनकारीलाई जन्तर मन्तर पुग्न नदिन प्रहरीले विभिन्न स्थानमा ब्यारिकेड लगाएको थियो ।
प्रदर्शनका क्रममा सवारीसाधन रोक्न सडकमा किला गाडिएको र केही प्रदर्शनकारीले प्रहरीका ब्यारिकेड तोडेको समाचारमा जनाइएको छ । आन्दोलनका क्रममा विभिन्न स्थानमा प्रहरी र प्रदर्शनकारीबीच झडपसमेत भएको थियो ।
प्रदर्शन चर्किँदै गएपछि प्रहरीले आन्दोलनकारीलाई नियन्त्रणमा लिन थालेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।