
काठमाडौँ । गोरखाको चुमनुब्री गाउँपालिकामा आइतबार बिहान एक्कासि आएको बूढीगण्डकी नदीको भीषण बाढीले तल्लो तटीय क्षेत्रमा व्यापक क्षति पुर्याएको छ । पहिरोले नदी थुनिएपछि बनेको अस्थायी बाँध फुट्दा आएको बाढीले चुमनुब्रीका विभिन्न बस्तीमा गरी करिब ३५ घर बगाउनुका साथै कम्तीमा तीन वटा पुल बगाएको छ ।
बाढीको जोखिम त्रिशूली दोभानसम्मै कायम रहेको प्राधिकरणले जनाएको छ । मुग्लिङसम्मको क्षेत्रमा उच्च जोखिम रहेको र चितवनसम्म जोखिम रहने बताइएको छ ।
किन आयो एक्कासि बाढी ?
बाढीको मुख्य कारण चुमनुब्री गाउँपालिका-६ स्थित लोक्पा र चुम्लिङको बिचमा खसेको सुक्खा पहिरो कारण रहेको बताइएको छ । गए राति सो क्षेत्रमा ठुलो सुख्खा पहिरो खस्दा बूढीगण्डकी नदी करिब १५० मिटर लामो क्षेत्रमा थुनिएको थियो । पहिरोले नदीको बहाव रोकेपछि माथिल्लो क्षेत्रमा पानी जम्मा हुँदै गएको र बिहान करिब ४ बजेतिर त्यो अस्थायी बाँध फुटेको हो । अस्थायी बाँध फुटेपछि लेदो र गेग्रानसहितको ठुलो बाढी एक्कासि तल्लो तटीय क्षेत्रमा प्रवेश गरेको थियो ।

चुमनुब्री गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद सापकोटाका अनुसार बिहान ४ बजेतिर ठुलो आवाजसहित बाढी आएको थियो । उनका अनुसार अँध्यारो भएको कारण केही पनि देखिएको थिएन, तर सुरक्षा निकायलाई तत्कालै खबर गरिएको थियो भने आफूहरू पनि सुरक्षित स्थानतर्फ भागेका थिए । पहिरो अहिले पनि झरिरहेको र नदी थुनिने तथा खोलिने क्रम जारी रहेको छ ।
कहाँ-कहाँ के भयो क्षति ?
बाढीले सबैभन्दा बढी क्षति चुमनुब्री गाउँपालिकाको तल्लो बस्तीमा पुर्याएको छ । गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मी गुरुङका अनुसार पैयूँ र बगर गाउँका गरी करिब ३५ घर बाढीले बगाएको छ । दोभान, घट्टेखोला, जगत र सल्लेरी गाउँमा पनि बाढीले व्यापक क्षति पुराएको छ । सिर्दिबासका केही घरमा पनि क्षति पुराएको छ धार्च-५ माछिखोलाको तल्लो बस्तीमा ५ देखि ७ घर र त्यति नै सङ्ख्यामा टहरा बगाएको छ । धार्चे–३ सल्लेरीका २० देखि २२ घर जोखिममा रहेका छन् ।
बाढीका कारण तीन वटा महत्त्वपूर्ण पुल बगाएको छ । चुमनुब्री–३ न्याकचेतबाट सिर्दिबास जोड्ने पुरानो झोलुङ्गे पुल, धार्चे-५ माछिखोलाबाट केरौजा जोड्ने झोलुङ्गे पुल र आरुघाट-२ र ३ जोड्ने सोतीस्थित फलामे पक्की पुल बगेका छन् । त्यसै गरी गोरखा र धादिङ जोड्ने आरुघाटको पुल पनि बाढीले बगाएको छ । यससँगै आरुघाट हुँदै धादिङ जाने बाटो बन्द भएको छ ।

बाढीकै कारण उगेंल खोला किनारका चार वटा गोठ, गोठमा बाँधिएका १५ याक र नाक बगेका छन् भने पशु हेरचाहमा खटिएका चार जना हालसम्म सम्पर्कविहीन रहेका छन् । बाढीले बूढीगण्डकी हाइड्रोपावरको क्याम्पसमेत बगाएको छ ।
अहिलेको अवस्था र सतर्कता
यति बेला बाढी प्रभावित क्षेत्रमा नेपाली सेनाको उद्धार टोली खटिएको छ । नेपाली सेनाले जगत बजार आसपासबाट ६ जनाको हवाई हवाई उद्धार गरेको छ । गृहमन्त्री सुदन गुरुङका अनुसार उद्धार तथा राहतका लागि हेलिकप्टर परिचालन भइसकेको छ र नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा स्थानीय प्रशासनलाई परिचालन गरिएको छ ।
बाढी पूर्वानुमान महाशाखाले आकस्मिक बाढी आएकाले तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन एसएमएस पठाएको छ । चुमनुब्रीबाट आरुघाटसम्म बाढी पुग्न करिब तीन घण्टा लाग्ने अनुमान गरिएको थियो । प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक डा. धर्मराज उप्रेतीका अनुसार बाढीले सिर्दिबास, जगत, यारी, तातोपानी, माछीखोला, सोती, आर्खेत र आरुघाटसम्म क्षति पुर्याउन सक्ने जोखिम छ ।