
गोरखा । गोरखाको चुमनुब्री गाउँपालिकामा आइतबार बिहान एक्कासि आएको बूढीगण्डकी नदीको भीषण बाढीका कारण चार जना व्यक्ति सम्पर्कविहीन भएका छन् । बाढीले उङगिलुङ खोला किनारमा रहेका चार वटा गोठ बगाएको छ भने त्यहाँ बाँधिएका १५ वटा याक र नाक (याकको पोथी) समेत बगेका छन् ।
प्रहरीका अनुसार बाढीले धार्चे गाउँपालिका जोड्ने माछीखोला पुल र आरुघाटको सोती तथा मान्बु जोड्ने पुल बगाएको छ । यसका साथै माछीखोला बजार क्षेत्रमा समेत बाढीले व्यापक क्षति पुर्याएको छ । घटना, जोखिम र क्षतिको पूर्ण विवरण संकलन भइरहेको छ।
साथै यति बेला बाढी प्रभावित क्षेत्रमा नेपाली सेनाको उद्धार टोली खटिएको छ । नेपाली सेनाले जगत बजार आसपासबाट ६ जनाको हवाई हवाई उद्धार गरेको छ । गृहमन्त्री सुदन गुरुङका अनुसार उद्धार तथा राहतका लागि हेलिकप्टर परिचालन भइसकेको छ र नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा स्थानीय प्रशासनलाई परिचालन गरिएको छ ।
बाढी पूर्वानुमान महाशाखाले आकस्मिक बाढी आएकाले तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन एसएमएस पठाएको छ । चुमनुब्रीबाट आरुघाटसम्म बाढी पुग्न करिब तीन घण्टा लाग्ने अनुमान गरिएको थियो । प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक डा। धर्मराज उप्रेतीका अनुसार बाढीले सिर्दिबास, जगत, यारी, तातोपानी, माछीखोला, सोती, आर्खेत र आरुघाटसम्म क्षति पुर्याउन सक्ने जोखिम छ ।