बूढीगण्डकी बाढी: घर, पुल र जलविद्युत् आयोजनामा क्षति, यस्तो छ प्रारम्भिक विवरण

दियोपोस्ट संवाददाता

काठमाडौँ । गोरखाको बूढीगण्डकी नदीमा आएको आकस्मिक बाढीले घर, झोलुङ्गे तथा पक्की पुल र जलविद्युत् आयोजनामा क्षति पुर्‍याएको छ । गण्डकी प्रदेशको स्वास्थ्य मन्त्रालयले बाढीबाट भएको क्षतिको प्रारम्भिक विवरण सार्वजनिक गर्दै विभिन्न बस्तीका घरहरू डुबानमा परेको र केही घर बगाएको जनाएको छ।

मन्त्रालयका अनुसार चुमनुब्री र धार्चे गाउँपालिका तथा आरुघाट क्षेत्रमा बाढीले भौतिक संरचनामा क्षति पुर्‍याएको छ । चुमनुब्री गाउँपालिका-३, सल्लेरीस्थित निर्माणाधीन सहज ऊर्जा पावर हाउस र आसपासका सातदेखि आठवटा घर बगाएको प्रारम्भिक विवरणमा उल्लेख छ।

बाढीले चुमनुब्री गाउँपालिका-३, न्याकचेतस्थित न्याकचेतबाट सिर्दिबास जोड्ने पुरानो झोलुङ्गे पुल पनि बगाएको छ । सोही वडाको सिर्दिबासमा बसोबास गर्ने रामबहादुर गुरुङको एउटा कच्ची घर बगाएको र अर्को एउटा घरमा बाढी पसेको मन्त्रालयले जनाएको छ।

त्यस्तै, धार्चे गाउँपालिका–५ स्थित माछीखोलाबाट केरौजा जोड्ने झोलुङ्गे पुल बाढीले बगाएको छ । माछीखोलाको तल्लो बस्तीमा रहेका पाँचदेखि सातवटा घर र पाँचदेखि सातवटा टहरामा बाढी पसेको प्रारम्भिक विवरणमा उल्लेख छ । धार्चे गाउँपालिका-३, सल्लेरीका २० देखि २२ वटा घरसमेत जोखिममा रहेका छन् ।

बाढीका कारण आरुघाट गाउँपालिका-२ र ३ जोड्ने सोतीस्थित फलामे पक्की पुल पनि बगाएको छ । यस्तै, आरुघाट गाउँपालिका-९, नयाँपुलस्थित आरुघाटबाट धादिङ जोड्ने पक्की पुलको गोरखातर्फको एउटा भाग बगाएको छ । तीन भागमा रहेको उक्त पुलमा क्षति पुगेपछि सो क्षेत्रको बाटो पूर्ण रूपमा अवरुद्ध भएको मन्त्रालयले जनाएको छ।

यसैबीच, बाढीबाट प्रभावित क्षेत्रमा स्वास्थ्य सेवा प्रभावित हुन नदिन मन्त्रालयले आवश्यक तयारी गरेको छ । फिलिम, सल्लेरी, जगत र माछाखोलाका स्वास्थ्य संस्थाहरू माथिल्लो उचाइमा रहेकाले तुलनात्मक रूपमा कम जोखिममा रहेको मन्त्रालयको भनाइ छ ।

मन्त्रालयले गोरखा, लमजुङ र तनहुँका जिल्ला स्तरीय द्रुत प्रतिकार्य टोली (आरआरटी) तथा प्रदेश अस्पतालका आपत्कालीन चिकित्सकीय टोली (इएमटी) लाई तयारी अवस्थामा राखेको जनाएको छ।

सम्बन्धित खबर

सिफारिस