दसैँका लागि उपत्यकाका ६ स्थानबाट ग्यास वितरण, सिलिन्डर साट्न अतिरिक्त शुल्क नलाग्ने

दियोपोस्ट संवाददाता

काठमाडौँ । दसैँमा खाना पकाउने एलपी ग्यासको अभाव हुन नदिन काठमाडौँ उपत्यकाका विभिन्न ६ स्थानबाट ग्यास वितरण तथा सिलिन्डर साट्ने व्यवस्था गरिएको छ । नेपाल एलपी ग्यास उद्योग संघका अनुसार घटस्थापनादेखि फूलपातीसम्मका लागि यस व्यवस्था लागू गरेको हो ।

तर, जुनसुकै कम्पनीको खाली सिलिन्डर साट्न सकिने व्यवस्था भए पनि केही उद्योगले आफ्नै ब्रान्डका सिलिन्डर मात्र साटिदिएको उपभोक्ताले गुनासो गरेका छन् ।

घटस्थापनादेखि फूलपातीसम्म सञ्चालन हुने यस व्यवस्थाअन्तर्गत उपभोक्ताले आफूले प्रयोग गरिरहेको जुनसुकै कम्पनीको खाली सिलिन्डर बुझाएर अर्को ब्रान्डको भरिएको सिलिन्डर लिन सक्ने संघले जनाएको छ । सिलिन्डर साट्दा अतिरिक्त शुल्क लाग्ने छैन । यद्यपि, भरिएको ग्यासको तोकिएको मूल्य भने तिर्नुपर्नेछ ।

संघले उपत्यकाका ६ स्थानबाट ग्यास वितरण तथा सिलिन्डर साट्ने व्यवस्था मिलाएको छ । कलंकीस्थित श्रीकृष्ण ग्यास उद्योगबाट श्रीकृष्ण र साइबाबा ग्यास वितरण भइरहेको छ । त्यस्तै, बालाजुस्थित नेपाल ग्यास उद्योग, पेप्सिकोलास्थित सगर ग्यासको गोदाम, सुकेधारास्थित बाबा ग्यासको डिपो, सिफलस्थित एभरेस्ट तथा सुगम ग्यासको केन्द्र र ललितपुरको हरिसिद्धिस्थित श्रीराम ग्यासको गोदामबाट पनि उपभोक्ताले सेवा लिन सक्नेछन् ।

ग्यास वितरण तथा सिलिन्डर साट्ने समय बिहान ९ः३० देखि अपराह्न ४ बजेसम्म निर्धारण गरिएको छ । नेपाल आयल निगमको समन्वय तथा ग्यास विक्रेता महासंघको सहकार्यमा यो व्यवस्था कार्यान्वयन गरिएको संघले जनाएको छ ।

जुनसुकै ब्रान्डको खाली सिलिन्डर साट्न पाउने व्यवस्था गरिएको भए पनि केही उद्योगले आफ्नै ब्रान्डका सिलिन्डर मात्र साटिदिएको उपभोक्ताको गुनासोले उक्त व्यवस्था प्रभावकारी कार्यान्वयनमा चुनौती देखिएको छ ।

सम्बन्धित खबर

सिफारिस