
काठमाडौँ । गोरखाको बूढीगण्डकी नदीमा आइतबार बिहान आएको आकस्मिक बाढीका कारण जोखिममा परेका ३६ जनाको नेपाली सेनाले उद्धार गरेको छ । नेपाली सेनाका अनुसार बाढी प्रभावित क्षेत्रमा एमआई-१७ हेलिकप्टर र पैदलमार्गबाट उद्धार कार्य गरिएको हो ।
बाढीबाट प्रभावित चुमनुब्री गाउँपालिकाबाट हेलिकप्टरमार्फत चार जनाको उद्धार गरिएको छ । यस्तै, स्थलमार्गबाट खटिएको सैनिक टोलीले पहिरोको जोखिम रहेको जगत क्षेत्रबाट छ जना, न्याक्फेदीबाट नौ जना, यारुबाट नौ जना र पायुबाट १२ जनाको उद्धार गरेको हो ।
सेनाका अनुसार यारुबाट उद्धार गरिएकामध्ये एक जना शिशु र एक जना विदेशी नागरिक रहेका छन् ।
बाढी प्रभावित क्षेत्रमा नेपाली सेनाले सशस्त्र प्रहरी बल र नेपाल प्रहरीसँग समन्वय गरी खोज तथा उद्धार कार्य जारी छ ।