मन्त्रा थकालीलाई २ लाख ५० हजार रुपैयाँ जरिवाना, खानामा किरा भेटियो

दियोपोस्ट संवाददाता

काठमाडौँ । काठमाडौँ महानगरपालिका-३, महाराजगञ्जस्थित मन्त्रा थकालीमा खानामा किरा भेटिएपछि खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले २ लाख ५० हजार रुपैयाँ जरिवाना गरेको छ ।

विभागमा फोनमार्फत प्राप्त गुनासोका आधारमा शनिबार गरिएको अनुगमनका क्रममा ग्रीन तारा हस्पिटालिटी प्रालिअन्तर्गत सञ्चालित मन्त्रा थकालीमा खाद्य स्वच्छतासम्बन्धी मापदण्ड पालना नभएको पाइएको हो ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको र्‍यापिड रेस्पोन्स टिम (आरआरटी) र वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको संयुक्त टोलीले स्थलगत अनुगमन गरेको थियो । अनुगमनका क्रममा खानामा किरा परेको गुनासो पुष्टि भएको विभागले जनाएको छ ।

विभागका अनुसार भान्सा कोठाको सरसफाइ सन्तोषजनक नरहेको पाइएको जनाएको छ । खाद्य पदार्थ भण्डारण गर्ने फ्रिज तथा भान्सा कोठामा साङ्लाजस्ता कीटजन्य जीव घस्रिरहेको अवस्थामा भेटिएका थिए । पकाएको खाद्य पदार्थसमेत नछोपी भण्डारण गरिएको पाइएको विभागले जनाएको छ ।

त्यस्तै, भान्साको ड्रेनेजको सरसफाइ कमजोर रहेको, खाद्य सामग्री अव्यवस्थित रूपमा राखिएको तथा फोहोर राख्ने डस्टबिन खुला र फोहोर अवस्थामा रहेको अनुगमनका क्रममा पाइएको विभागले जनाएको छ ।

टोलीले फ्राइड आलु भण्डारण गर्न मसीयुक्त पत्रिकाको प्रयोग गरेको समेत फेला पारेको थियो । पत्रिकामा राखेर भण्डारण गरिएको करिब एक किलो फ्राइड आलु नष्ट गरिएको विभागले जनाएको छ ।

विभागले खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ को दफा २७ को उपदफा ९२० बमोजिम उक्त खाद्य व्यवसायलाई २ लाख ५० हजार रुपैयाँ जरिवाना गरेको हो ।

साथै, पकाएको खाद्य पदार्थ राम्ररी छोपेर भण्डारण गर्न, कीट नियन्त्रणको प्रभावकारी व्यवस्था मिलाउन, भान्सा तथा ड्रेनेजको सरसफाइमा विशेष ध्यान दिन र खाद्य पदार्थ भण्डारणमा पत्रिकालगायत अनुपयुक्त सामग्री प्रयोग नगर्न निर्देशन दिएको छ ।

विभागले आगामी दिनमा खाद्य स्वच्छता तथा गुणस्तरसम्बन्धी मापदण्ड पूर्ण रूपमा पालना गर्न पनि व्यवसायलाई कडा निर्देशन दिएको जनाएको छ ।