मोटरसाइकललाई बचाउने क्रममा ट्याक्टर पल्टियो, सहचालकको मृत्यु

दियोपोस्ट संवाददाता

काठमाडौँ । अर्घाखाँचीमा मोटरसाइकललाई बचाउने क्रममा ट्याक्टर पल्टिँदा सहचालकको मृत्यु भएको छ भने चालक घाइते भएका छन् ।आइतबार बिहान छत्रदेव गाउँपालिका-मथुरास्थित सन्धिखर्क-तम्घास सडकखण्डमा लु.४ त ७९१७ नम्बरको ट्याक्टर दुर्घटना भएको हो ।

दुर्घटनामा ट्याक्टरका सहचालक पाल्पाको रैनादेवी छहरा गाउँपालिका-२, सोमडीका २२ वर्षीय गणेश रास्कोटीको मृत्यु भएको प्रहरीले जनाएको छ । ट्याक्टर पल्टिँदा च्यापिएर गम्भीर घाइते भएका रास्कोटीको उपचारका क्रममा मृत्यु भएको हो ।

दुर्घटनामा ट्याक्टर चालक रुपन्देहीको तिलोत्तमा नगरपालिका-११ का २६ वर्षीय पुण्यप्रसाद थारु घाइते भएका छन् । उनको उपचार भइरहेको प्रहरीले जनाएको छ । ट्याक्टरले बचाउन खोजेको मोटरसाइकलका चालक अर्घाखाँचीको छत्रदेव गाउँपालिका-४, केरुङ्गाका ४१ वर्षीय सञ्जय पाण्डे भने सकुशल रहेका छन् ।

प्रहरीका अनुसार प्रारम्भिक अनुसन्धानमा ट्याक्टर चालकले मदिरा सेवन गरेको र उनीसँग सवारी चालक अनुमतिपत्रसमेत नभएको पाइएको छ । दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित खबर