
काठमाडौँ । चाँदी किन्नका लागि अब लाखौँ रुपैयाँ एकै पटक जम्मा गर्नुपर्ने बाध्यता अन्त्य हुने भएको छ । काठमाडौँस्थित चाँदी प्रशोधन तथा कारोबार गर्ने कम्पनी ‘हिमालयन बुलियन कम्पनी लिमिटेड’ (एचबीसी) ले आफ्नो नयाँ मोबाइल एप ‘एचबीसी एप’ सार्वजनिक गर्दै अब थोरै रकम तिरेरै आफ्नो नाममा चाँदी बुक गर्न सकिने व्यवस्था गरेको हो ।
आइतबार पत्रकार सम्मेलन गरी एचबीसीले कुल मूल्यको पाँच प्रतिशत वा एक ग्राम चाँदीको मूल्य मात्रै तिरेर पनि चाँदीका सिक्का वा आधा किलोभन्दा बढीका चाँदीका बार खरिद गर्न सकिने व्यवस्था गरेको जानकारी दिएको हो ।
कम्पनीका अनुसार अब एचबीसी एपमार्फत जोसुकैले पनि आफूसँग भएको थोरै रकमबाटै चरणबद्ध रूपमा भुक्तानी गर्दै वास्तविक चाँदीका सिक्का तथा बार खरिद गर्न पाउनेछन् ।
सन् २००० मा स्थापना भएको कम्पनीले २६ वर्षको अनुभवलाई आधुनिक डिजिटल प्रविधिसँग जोड्दै एप सार्वजनिक गरेको हो, जुन एन्ड्रोइड र आइओएस दुवै प्रयोगकर्ताहरूका लागि उपलब्ध गराइएको छ ।
चाँदी खरिदको परम्परागत शैलीमा परिवर्तन
यसअघि चाँदी खरिद गर्दा घर लैजानै पर्थ्यो र जति मूल्यको खरिद गर्ने हो, घर लैजाने क्रममा त्यति पूरै रकम तिर्नुपर्ने हुन्थ्यो । तर अब एचबीसी एपले यस प्रक्रियालाई सरल बनाएको छ । अब ग्राहकहरूले आफूसँग उपलब्ध रकमबाटै चाँदी खरिदको सुरुवात गर्न सक्नेछन् । यसले विशेष गरी साना–साना बचत गर्ने तथा क्रमिक रूपमा चाँदी संकलन गर्न चाहने ग्राहकहरूका लागि नयाँ ढोका खोलेको छ ।
एपमार्फत कसरी खरिद गर्ने चाँदी ?
ग्राहकहरूले सुरुमा एचबीसी एपमा गएर आफ्नो विवरण र केवाइसी भर्नु पर्नेछ । त्यसपछि एपमा दैनिक रूपमा चाँदीको खरिद मूल्य तथा एचबीसीले पुनः खरिद गर्ने अर्थात् बाई ब्याक मूल्य हेर्न सक्नेछन् ।
त्यसपछि ग्राहकले आफूलाई चाहिएको परिमाणमा १० ग्राम, २० ग्राम, ५० ग्राम वा १०० ग्रामका चाँदीका सिक्का तथा ५०० ग्राम वा सोभन्दा माथिका चाँदीका बार छनोट गर्नुपर्नेछ । एकै पटक अधिकतम तीन वटा छनोट गरी अर्डर गर्न पाउनेछन् । ५ सय ग्राम वा सोभन्दा माथिका बार बनाउँदा त्यसमा कुनै ज्याला नलाग्ने कम्पनीले बताएको छ ।

यसरी आफूलाई जे चाहिएको हो, त्यो छनोट गरेपछि ग्राहकले मात्रा र प्रकृति अनुसार एक ग्राम चाँदी बराबरको रकम, कुल मूल्यको ५ प्रतिशत वा सम्पूर्ण रकम एकै पटक भुक्तानी गर्न सक्नेछन् । त्यसरी भुक्तानी गर्नुभन्दा पहिले कति र कहिले भुक्तानी गर्ने भन्ने ग्राहक स्वयंले छनोट गर्न सक्ने व्यवस्था मिलाइएको छ । यसरी छनोट गरेर अर्डर दिएपछि चाँदीका सिक्का वा बार तयार हुनेछन् । तर ग्राहकले पूरा पैसा भुक्तानी नगरेसम्म उक्त चाँदी वा बार घर लैजान भने पाउने छैनन् । अर्डर दिएपछि तयार भएको चाँदी हिमालयन बुलियनको भल्टमा निशुल्करुपमा राख्न पाइनेछ ।

तर केही रकम दिएर अर्डर गरी पूरा पैसा भुक्तानी नभएको यस्तो चाँदी ग्राहकले भल्टबाटै विक्रीसमेत गर्न पाउनेछन् । बुलियनले ल्याएको एचबीसी एपमार्फत नै भण्डारण गरिएका आफ्ना चाँदीका सामानहरू पुनः बिक्री समेत गर्न पाइनेछ ।
सबै ग्राहकका लागि १० लाखसम्मको निशुल्क व्यक्तिगत दुर्घटना बीमा
ग्राहकहरूको आर्थिक सुरक्षालाई थप प्राथमिकता दिँदै सलिको इन्सुरेन्स र एचएसबीसीको सहकार्यमा एचबीसी एपका सबै ग्राहकलाई १० लाखसम्मको निशुल्क व्यक्तिगत दुर्घटना बीमा सुरक्षा उपलब्ध हुने कम्पनीले जनाएको छ । यस योजनामा चाँदी खरिद गर्ने सबै ग्राहकले दुर्घटनाका कारण हुन सक्ने आर्थिक जोखिमविरुद्ध थप सुरक्षा प्राप्त गर्नेछन् । यो सुविधा एचबीसीले आफ्नो ग्राहक समुदायलाई चाँदी खरिदको सेवाभन्दा बाहिर पनि थप मूल्य र सुरक्षा प्रदान गर्ने उद्देश्यले अघि सारेको जनाएको छ ।
तिहारसम्म किन्नेले लक्की ड्रमा सहभागी पाउने, टेस्लाको कार जित्ने मौका
एचबीसी एप सार्वजनिक समारोहका क्रममा कम्पनीले तिहार पर्वसम्मका लागि चाँदी खरिद गर्ने ग्राहकका लागि विशेष लक्की ड्र मा टेस्लाको कार जित्ने योजनासमेत सार्वजनिक गरेको छ । यो योजनाअन्तर्गत तिहारसम्म एचबीसी एप मार्फत गरिएका प्रत्येक पूर्ण खरिदलाई लक्की ड्र मा समावेश गरिनेछ । तर यसरी कार जित्ने लक्की ड्र मा सहभागी हुन भने ग्राहकले चाँदीको पूरै भुक्तानी गरेको हुनुपर्नेछ । एकभन्दा बढी पूर्ण खरिद गर्ने ग्राहकले प्रत्येक खरिदबापत छुट्टाछुट्टै कुपन नम्बर प्राप्त गर्नेछन् ।

योजना सम्पन्न भएपछि कुपन प्राप्त गरेका सबै ग्राहकहरूबाट लक्की ड्र गरी एक भाग्यशाली विजेता छनोट गरिनेछ । उक्त विजेताले एक नयाँ टेस्ला मोडेल थ्री इलेक्ट्रिक कार उपहारमा जित्नेछन् । लक्की ड्रको विस्तृत नियम, योग्यता, अन्तिम मिति तथा विजेता छनोट प्रक्रिया कम्पनीले पछि सार्वजनिक गर्ने बताएको छ ।
सन् २००० मा स्थापना भएको हिमालयन बुलियन कम्पनी लिमिटेड नेपालको काठमाडौँस्थित चाँदी प्रशोधन तथा बिक्री-वितरण गर्ने कम्पनी हो । कम्पनीले आफ्नै उत्पादन प्रक्रियामार्फत विशिष्ट सिरियल नम्बर अंकित चाँदीका बारहरू उत्पादन गर्दै आएको छ । नेपालको बहुमूल्य धातु क्षेत्रसँग सम्बन्धित नीतिगत छलफल तथा चाँदीको आयात भन्सार महसुल सुधारका विषयहरूमा समेत कम्पनीले सक्रिय भूमिका निर्वाह गर्दै आएको छ । २६ वर्षको अनुभवलाई आधुनिक डिजिटल प्रविधिसँग जोड्दै कम्पनीले एचबीसी एपमार्फत वास्तविक चाँदीको स्वामित्वलाई थप सरल, सहज र सर्वसुलभ बनाउने लक्ष्य राखेको दाबी गरेको छ ।