मुगुमा सुक्खा पहिरो खस्दा एक्स्काभेटरसहित चालक पुरिए, सहचालक घाइते

दियोपोस्ट संवाददाता

काठमाडौँ । मुगुमा सडक निर्माणका क्रममा सुक्खा पहिरो खस्दा एक्स्काभेटरसहित चालक पुरिएका छन् भने सहचालक घाइते भएका छन् ।
खत्याड गाउँपालिका-११ स्थित बिरा खोलामा सोमबार बिहान मुगु–रारा भित्री सडकखण्डअन्तर्गत बेलिब्रिज जोड्ने सडक निर्माणका क्रममा माथिबाट एक्कासि पहिरो खसेको हो ।

जिल्ला प्रहरी कार्यालय मुगुका अनुसार पहिरोमा बा ३ क ३२७६ नम्बरको एक्स्काभेटरसहित बझाङका २४ वर्षीय चालक विमल बाग पुरिएका छन् । उनको उद्धारका लागि प्रहरी टोली परिचालन गरिएको छ । पहिरो पन्छाएर चालकलाई निकाल्ने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।

एक्स्काभेटरका सहचालक मुगुको सोरु गाउँपालिका-१ का २२ वर्षीय विनय मल्ल भने घाइते भएका छन् । माथिबाट खसेको ढुंगाले उनको हात र खुट्टामा चोट लागेको छ । उनी बोल्न सक्ने अवस्थामा रहेको प्रहरीले जनाएको छ ।

चालकको उद्धारका लागि इलाका प्रहरी कार्यालय रातापानी र प्रहरी चौकी माझचौरबाट १३ जना प्रहरी परिचालन गरिएको छ ।
चालकको उद्धार तथा घटनासम्बन्धी थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित खबर