
काठमाडौँ । दसैँ मनाउन काठमाडौँ उपत्यकाबाट बाहिरिने यात्रुको सङ्ख्या दुई लाख नाघेको छ । नयाँबसपार्क सञ्चालन गर्दै आएको लोत्से बहुउद्देश्यीय प्रालिका अनुसार असोज १७ देखि २५ गतेसम्म नयाँबसपार्कबाट मात्रै दुई लाख सात हजार २५१ यात्रु बाहिरिएका छन् ।
प्रालिका अनुसार असोज १७ गते १८ हजार ७२९, असोज १८ गते १९ हजार ५३०, असोज १९ गते २३ हजार १६, असोज २० गते २९ हजार ६०२, असोज २१ गते २२ हजार २८८, असोज २२ गते २५ हजार २०१, असोज २३ गते ३१ हजार २३५, असोज २४ गते १६ हजार ९७० र असोज २५ गते २९ हजार ३८० यात्रु बाहिरिएका छन् ।
दसैँका लागि घर फर्किने यात्रुको चाप बढेसँगै यातायात व्यवस्थापनमा समस्या देखिएको छ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले सडक अवरुद्ध हुँदा यात्रु ओसारपसार तथा सवारीसाधन व्यवस्थापनमा कठिनाइ भएको जनाएको छ ।
असोज २३ गते अग्रिम बस टिकट बुकिङ खुला भएकै दिन धादिङको गलौँदीस्थित पृथ्वी राजमार्ग भासिएर यातायात अवरुद्ध भएको थियो । सडक अवरुद्ध हुँदा धेरै सवारीसाधन काठमाडौँमै रोकिएकाले यात्रु व्यवस्थापनमा समस्या भएको महासंघले जनाएको छ ।
महासंघले यात्रुलाई टिकट काटेर मात्रै यात्रा गर्न, तोकिएको भाडा तिर्न र यात्रामा निस्कनुअघि सवारीसाधनको अवस्था जाँच गर्न आग्रह गरेको छ ।
दसैँमा परिवार तथा आफन्तसँग भेटघाट गरी पर्व मनाउन रोजगारी र अध्ययनका लागि राजधानीमा बसोबास गर्दै आएका मानिसहरू गाउँघर फर्किने क्रम बढ्ने गरेको छ । यससँगै हरेक वर्ष दसैँको समयमा उपत्यकाबाट बाहिरिने यात्रुको चाप बढ्ने गर्छ ।