दसैँ मनाउन २४ घण्टामा ५६ हजारभन्दा बढी यात्रु काठमाडौँबाट बाहिरिए

दियोपोस्ट संवाददाता

काठमाडौँ । नेपालीहरूको महान् चाड बडादसैँ मनाउन काठमाडौँ उपत्यकाबाट गाउँघर फर्किने यात्रुको चाप बढेको छ। विभिन्न पेसा, व्यवसाय तथा अध्ययनका लागि राजधानीमा बस्दै आएका मानिसहरू दसैँ मनाउन आफ्नो घर फर्किन थालेपछि उपत्यकाका विभिन्न नाकामा सार्वजनिक यातायातमा यात्रुको चहलपहल बढेको हो।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार सोमबार बिहानदेखि मंगलबार बिहानसम्मको २४ घण्टामा उपत्यकाका विभिन्न नाका हुँदै ५६ हजार ८०९ यात्रु बाहिरिएका छन्।

कार्यालयका अनुसार सबैभन्दा धेरै यात्रु नागढुङ्गा नाकाबाट बाहिरिएका छन् । उक्त नाकाबाट २७ हजार ६४९ यात्रु बाहिरिएका छन् । त्यस्तै, भक्तपुर नाकाबाट २० हजार ६१५, फर्पिङ नाकाबाट पाँच हजार ५१०, भट्टेडाँडा नाकाबाट ८८६, तीनपिप्ले नाकाबाट ९७२, साँखु नाकाबाट ६०८, भीमढुङ्गा नाकाबाट ५१३ र थानकोट नाकाबाट ५६ यात्रु बाहिरिएका छन् ।

यात्रुको चाप बढेसँगै सवारीसाधन व्यवस्थापनमा भने समस्या देखिएको छ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले सडकको अवस्थाका कारण सार्वजनिक यातायात सञ्चालन तथा व्यवस्थापनमा कठिनाइ भएको जनाएको छ ।

दसैँको पूर्वसन्ध्यामा विभिन्न राष्ट्रिय राजमार्ग बिग्रिएका कारण सवारीसाधन समयमा गन्तव्यमा पुग्न र काठमाडौँ फर्किन समस्या भएको महासंघले जनाएको छ । यसले गर्दा सवारीसाधनको व्यवस्थापनसँगै यात्रुलाई गन्तव्यसम्म पुर्‍याउन पनि कठिनाइ भएको छ ।

असोज २३ गते अग्रिम बस टिकट बुकिङ खुला भएकै दिन धादिङको गलौँदीस्थित पृथ्वी राजमार्ग भासिएर सवारी आवागमन अवरुद्ध हुँदा धेरै सवारीसाधन काठमाडौँमै रोकिएका थिए । यसले यात्रु व्यवस्थापनमा थप समस्या उत्पन्न गरेको छ।

महासंघले यात्रुलाई टिकट काटेर मात्र यात्रा गर्न, तोकिएको भाडा तिर्न र यात्रा गर्नुअघि सवारीसाधनको अवस्था जाँच गर्न आग्रह गरेको छ ।
परिवार, आफन्त र समुदायसँग भेटघाट गरी मनाइने प्रमुख चाड बडादसैँका अवसरमा रोजगारी तथा अध्ययनका लागि राजधानीमा बस्दै आएका मानिसहरू हरेक वर्ष गाउँघर फर्किने गर्छन् । दसैँ नजिकिएसँगै यस वर्ष पनि काठमाडौँ उपत्यकाबाट बाहिरिने यात्रुको चाप बढ्दै गएको छ ।