
काठमाडौँ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले पूजा, होम, हवन तथा दीप प्रज्वलनका लागि तयार गरिने चिल्लो पदार्थलाई खाद्य घिउ वा बेकरी सर्टेनिङका रूपमा उत्पादन, भण्डारण तथा बिक्री वितरण गर्न प्रतिबन्ध लगाएको छ।
बजार अनुगमन तथा उपभोक्ताबाट प्राप्त गुनासा र सूचनाका आधारमा केही खाद्य व्यवसायी तथा उत्पादन इकाइले वनस्पति घिउ, बेकरी सर्टेनिङ, परिष्कृत घिउ तथा तेल, वासना, प्याराफिन, खनिज तेल र अन्य रासायनिक पदार्थ मिसाएर पूजा तथा धार्मिक प्रयोजनका लागि चिल्लो पदार्थ उत्पादन तथा बिक्री वितरण गर्दै आएको पाइएपछि विभागले प्रतिबन्ध लगाएको हो ।
यस्ता उत्पादनको स्वरूप, रङ, गन्ध, प्याकेजिङ तथा प्रस्तुतिको शैली बजारमा उपलब्ध खाद्य घिउसँग मिल्दोजुल्दो हुने भएकाले उपभोक्ता झुक्किएर खानपानमा समेत प्रयोग गर्न सक्ने जोखिम रहेको विभागले जनाएको छ।
विभागले खाद्य उद्योगको अनुमतिपत्र लिएका उत्पादकलाई समेत यस्ता चिल्लो पदार्थलाई खाद्य घिउ वा बेकरी सर्टेनिङका रूपमा उत्पादन तथा बिक्री वितरण नगर्न र नगराउन निर्देशन दिएको छ।
नयाँ मापदण्ड र निर्देशनहरू
पूजा, होम, हवन तथा दीप प्रज्वलनका लागि चिल्लो पदार्थ उत्पादन तथा बिक्री वितरण गर्नेले त्यसको लेबलको अगाडिको भागमा ‘खानको लागि होइन’ भन्ने वाक्यांश कालो रङमा स्पष्ट देखिने गरी ठूलो अक्षरमा राख्नुपर्नेछ । साथै, त्यस्ता उत्पादनको लेबलमा ‘घिउ’, ‘बेकरी सर्टेनिङ’ वा ‘वनस्पति घिउ’ जस्ता शब्द उल्लेख गर्न नपाइने विभागले जनाएको छ।
खाद्य प्रयोजनका लागि उत्पादन गरिने घिउ, वनस्पति घिउ तथा बेकरी सर्टेनिङमा भने खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ बमोजिमको लेबल विवरण अनिवार्य रूपमा उल्लेख गर्नुपर्नेछ ।
खाद्य तथा अखाद्य उत्पादनबीच मिश्रण तथा मिसावट हुने, गलत लेबल लगाइने र गैरखाद्य पदार्थ खाद्य आपूर्ति शृङ्खलामा प्रवेश गर्ने जोखिम रोक्न यस्तो व्यवस्था गरिएको विभागले जनाएको छ ।
विभागले उक्त निर्देशनविपरीत उत्पादन तथा बिक्री वितरण गरेको पाइएमा खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ बमोजिम कारबाही हुने चेतावनी दिएको छ ।