नुवाकोटका बाढीपहिरो प्रभावित २१ परिवारलाई अस्थायी आवास हस्तान्तरण

दियोपोस्ट संवाददाता

नुवाकोट । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नुवाकोटको बेलकोटगढी र विदुर नगरपालिकाका बाढीपहिरो प्रभावित परिवारका लागि वाईसीएल नेपालले निर्माण गरेका २१ वटा अस्थायी आवास हस्तान्तरण गरेका छन् ।

मंगलबार बिहान बेलकोटगढी नगरपालिका-७, महादेवथानमा आयोजित कार्यक्रममा प्रचण्डले प्रभावित परिवारलाई आवासको चाबी हस्तान्तरण गरेका हुन् ।

रसुवा–भोटेकोशी बाढीबाट घरबार गुमाएका तथा घरमा क्षति पुगेका परिवारलाई सुरक्षित बासको व्यवस्था गर्ने उद्देश्यले वाईसीएल नेपालले आवास निर्माण गरेको थियो ।

वाईसीएल नेपालको पहलमा निर्माण गरिएका आवास दुई कोठा र शौचालयसहितका छन् । निर्माण अभियानअन्तर्गत प्रभावित परिवारलाई अस्थायी रूपमा सुरक्षित बसोबासको व्यवस्था गर्ने प्रयास गरिएको संगठनले जनाएको छ ।

‘हाम्रा लागि यो सिंहदरबार हो’
आवास प्राप्त गरेपछि प्रभावित परिवारले खुसी व्यक्त गरेका छन् । बेलकोटगढी नगरपालिका–७ का ६३ वर्षीय श्रीकृष्ण नेपालले बाढीले आफ्नो घर आधा पुरेपछि वाईसीएलले नयाँ आवास निर्माण गरिदिएको बताए ।

‘मेरो घर बाढीले आधा पुर्‍यो । वाईसीएलले घर बनाइदियो । मेरा लागि यो सिंहदरबार हो,’ उनले भने ।

त्यस्तै, बेलकोटगढी-७ कै प्रदीप राईले वाईसीएलले निर्माण गरिदिएको घरमा यस वर्षको दसैँ मनाउन पाउने बताए । आवास निर्माणले प्रभावित परिवारलाई नयाँ जीवन सुरु गर्न प्रेरणा दिएको स्थानीयको भनाइ छ ।

१६० आवास निर्माणको अभियान
वाईसीएल नेपालले बाढीपहिरो प्रभावित परिवारको पुनर्स्थापनाका लागि अस्थायी आवास निर्माण अभियान सञ्चालन गरिरहेको छ । संगठनका अनुसार प्रभावित परिवारलाई सुरक्षित आवास उपलब्ध गराउन ठूलो संख्यामा नेता तथा कार्यकर्ता परिचालन गरिएको छ ।

वाईसीएलका प्रचार विभाग प्रमुख धिरज उपरकोटीका अनुसार एउटा अस्थायी आवास निर्माणमा अनुमानित चार लाख रुपैयाँ खर्च भएको छ । संगठनका उपाध्यक्ष हरि ढकालले दाताबाट प्राप्त निर्माण सामग्री र प्राविधिक सहयोगका आधारमा आवास निर्माण गरिएको जानकारी दिएका छन् ।

वाईसीएलका अनुसार नुवाकोटमा उद्धार, राहत, सरसफाइ, शव व्यवस्थापन, रक्तदान तथा पुनर्निर्माणलगायतका काममा ६ सयभन्दा बढी नेता तथा कार्यकर्ता परिचालित भएका छन् । प्रभावित परिवारलाई आवश्यक सहयोग उपलब्ध गराउँदै पुनर्स्थापनाको कामलाई तीव्रता दिने संगठनको लक्ष्य छ ।