कपिलवस्तुमा १० लाख ७४ हजारको अवैध सामान बरामद

दियोपोस्ट संवाददाता

कपिलवस्तु । सशस्त्र प्रहरी बल नेपालले कपिलवस्तुका विभिन्न स्थानबाट १० लाख ७४ हजार २० रुपैयाँ बराबरका सामान बरामद गरेको छ । बरामद गरिएका सामान ढुवानीमा प्रयोग गरिएको एक थान मोटरसाइकलसमेत रहेको सशस्त्र प्रहरीले जनाएको छ ।

सशस्त्र प्रहरी बल नेपाल नं. २८ गण हेडक्वार्टर कपिलवस्तु तथा मातहतका इकाईबाट खटिएको टोलीले लत्ताकपडा, किराना सामान, मोबाइल तथा मोटर पार्ट्सलगायतका सामग्री बरामद गरेको हो ।

सशस्त्र प्रहरीका अनुसार बरामद गरिएका सामान र ढुवानीमा प्रयोग गरिएको मोटरसाइकलको कुल मूल्य १० लाख ७४ हजार २० रुपैयाँ कायम गरिएको छ ।

बरामद सामान तथा मोटरसाइकललाई आवश्यक कानुनी कारबाहीका लागि सम्बन्धित भन्सार कार्यालयमा बुझाइएको छ ।

सशस्त्र प्रहरी उपरीक्षक गोपाल अधिकारीले सीमा क्षेत्रमा हुने अवैध ओसारपसार तथा भन्सार छली नियन्त्रण गर्न निगरानी बढाइएको बताए । उनका अनुसार चाडपर्वका समयमा हुन सक्ने राजस्व छली र सीमा क्षेत्रमा हुने अवैध गतिविधि नियन्त्रण गर्न मातहतका इकाईलाई थप सक्रिय बनाइएको छ ।