हिरासतमा रहेका जेन-जी विद्रोहीको बयान-‘लुटिएको हतियार नेपाली सेनालाई बुझाएका छौँ’

दियोपोस्ट संवाददाता  

काठमाडौँ । गत भदौ २३ गते जेन-जी पुस्ताले गरेको शान्तिपूर्ण प्रदर्शनका क्रममा प्रहरीले निर्मम दमन गरेपछि १९ जनाको मृत्यु भयो । २३ गतेको घटना पछि आक्रोशित भिडले २४ गते  प्रहरी कार्यालय, सिंहदरबार, सर्वोच्च अदालत, संसद भवन हुँदै राष्ट्रपति कार्यालय समेत जलायो । बिभिन्न प्रहरी चौकीबाट हजारौँको संख्यामा हातहतियार लुटे । महानगरीय प्रहरी परिसरको कार्यालय समेत आन्दोलनकारीबाट लुटियो ।

प्रहरीबाट हतियार लुटेको अभियोगमा पक्राउ परेकाहरुलाई प्रहरीले अपराधिक उपद्रो, हातहतियार खरखजना र ज्यानमार्ने उद्योग सम्बन्धी मुद्दा चलाएको छ । जिल्ला सरकारी वकिल कार्यालयले बुधबार मात्रै ११ जना विरुद्ध उक्त मुद्दा चलाइएको हो ।

जिल्ला सरकारी वकिलको कार्यलयले ति ११ जनाका बिरुद्ध आपराधिक उपद्रो, हातहतियार खरखजना तथा ज्यान मार्ने उद्योग सम्बन्धी कुसरमा मुद्दा दर्ता गरेको छ । उक्त कुसरमा मुद्दा दर्ता हुनेहरुमा रौतहटको राजपुर नगरपालिका ७ घर भई काठमाडौं बस्दै आएका १९ वर्षिय अंशु कुमार गुप्ता,सिन्धुलीको मरिण गाउँपालिका ३ घर भएका २५ वर्षिय कुमार रोक्का छन् ।

त्यस्तै, धनुषाको हंसपुर नगरपालिका २ घर भएका अजय कुमार शाह, सप्तरीको सप्तरी नगरपालिका ४ स्थायी घर भएका २८ वर्षिय देवराज राय, काठमाडौं ३१ श्रीएकता मार्घ घर भएका वर्ष ३१ का उत्कर्ष श्रेष्ठ,  रौतहटको गरुयडा गरुडा नगरपालिका ४ घर भएका लकी बाबु जयसवाल, सोही स्थानका सौरव यादव,सिन्धुपाल्चोकको बलेफी गाउँपालिका २ स्थायी घर भएका २० वर्षिय धिरज थापाका बिरुद्ध समेत उक्त कसुरमा मुद्धा दर्ता गरिएको छ ।

साथै, धनकुटाको हिले नगरपालिका १ स्थायी वतन भएका ३४ वर्षीय नविन राई, दोलखाको शैलुङ गाउँपालिका १ ताम्चेतका ४६ वर्षिय गौतम घिसिङ, पाल्पाको रम्भा गाउँपालिका ५ स्थायी घर भएका २१ वर्षीय विवेक बस्नेत विरुद्ध आपराधिक उपद्रो, हातहतियार खरखजना तथा ज्यान मार्ने उद्योग सम्बन्धी कुसरमा मुद्दा दर्ता भएको हो ।

पक्राउ परेकाहरु विरुद्ध प्रहरीकै विभिन्न युनिटमा कार्यरत प्रहरीकै अधिकारीहरुले जाहेरी दिएका थिए । तिनकुनेस्थित प्रहरी बृत्तका अधिकारीहरुलाई खोलामा लखेटी लखेटी आक्रमण गरेको घटनामा संलग्न भनिएकाहरु पनि यो मुद्दामै अभियोजन गरिएको छ ।

प्रहरी हिरासतमा रहेका प्रतिवादी कुमार रोक्काले आफूहरु जेनजी विद्रोहका क्रममा स्कुटरमा सहभागी भएको र आफू पुग्नु अघि नै तिनकुनेस्थित प्रहरी कार्यालय जलिसकेको बयान दिएका छन् । त्यस्तै त्यहाँ एक आन्दोलनकारीले तीन तीन वटा हतियार बोकेको देखेपछि आफूहरुले यो किन गरेको भनि सम्झाएको उनको बयान छ । सोही क्रममा ती व्यक्तिले हतियार छोडेर गएपछि आफूहरुले हतियारसहितको तस्विर खिचेको उनले बयान दिएका छन् ।

सोहीदिन बेलुका आफूहरुले हतियार बुझाउनका लागि रत्नराज्य स्कुल नजिकै रहेको प्रहरी कार्यालयसम्म पुग्दा पनि प्रहरी नभेटिएपछि पुन तिनकुनेस्थित प्रहरी बृत्तमै फर्किएको र त्यहाँ आएपछि नेपाली सेना आएको देखेपछि नेपाली सेनाले पाउने गरि कान्तिपुर अस्पताल अगाडी छाडिदिएको बयान दिएका छन ।

त्यस्तै प्रहरी र सरकारी वकिलसँगको बयानमा अर्का प्रतिवादी अंशु कुमार गुप्ताले पनि आफूले लिएको प्रहरीको सर्ट गन पेस्तोलका साथमा फोटो खिचेको स्विकरा गरेका छन् । आफूहरुले तस्विर खिचाएको सर्टगन तथा सानो पेस्तोल भोलीपल्टै नेपाली सेना तथा प्रहरीले खोजतलास गर्दैछ भनि थाहा पाएपछि नेपाली सेनालाई बुझाएको उनको बयानमा उल्लेख छ । त्यस्तै अर्का प्रतिवादी बनाइएका जेनजी अजय कुमार शाहले पनि आफूहरुले खोसेको हतियार नेपाली सेनालाई बुझाएको बयान दिएका छन् ।

अर्का प्रतिवादी देवराज रायले पनि खोसिएको उक्त सर्टगन तथा पेस्तोल नेपाली सेनालाई नै बुझाएको बयान दिएका छन् । अर्का प्रतिवादी उत्कर्ष श्रेष्ठले पनि आफूहरुले तस्विर खिचाएको हतियार काउन्पिुर हस्पिटल अगाडी सेनाको सम्पर्कमा पुगोस् भनेर फालेर घर गएको बयान दिएका छन् ।

लकि बाबु जयसवालले पनि आफूहरुले खोसेको हतियार नेपाली सेनालाई नै बुझाएको बयान दिएका छन् । यता धिरज थापाले भने आफूहरुलाई तिनकुने प्रहरी कार्यालय जलेपछि एक जना व्यक्तिले बन्दुक दिएको र सो गन समातेर फोटो मात्रै खिचेको बयान दिएका छन् ।

अर्का प्रतिवादी गौतम घिसिङले भने जेनजी आन्दोलनका क्रममा आफू सहभागी भएको र तिनकुने प्रहरी कार्यालय तोडफोड र हतियार लुटपाट मात्रै होइन प्रहरीलाई नाङ्गो बनाएर खोलामा लखेट्ने कार्यमा आफू संलग्न भएको स्विकार गरेका छन् ।

आफूले नचिनेको व्यक्तिबाट हतियार लिएर तस्विर खिचेको र सो हतियार उनै व्यक्तिलाई दिएको बयान गौतमले दिएका छन् । आफूले फोटो खिचेको हतियार अर्को व्यक्तिलाई दिएपनि उनलाई भने आफूले नचिनेको उनको बयान छ ।

आफूले भदौ २३ मा जेनजी आन्दोलनका क्रममा प्रहरीबाट गोली चल्दा आन्दोलिन जेनजीहरुको मृत्यु भएपछि आक्रोस पैदा भएको र प्रहरीप्रति नकारात्मक भावना सिर्जना भएको स्विकार गरेका छन् । त्यस्तै विदेश जाने तयारी गरेर विवेक बस्नेत पनि यो मुद्दाका प्रतिवादी हुन् । उनले हातहतियार लुटपाट नगरेको तर प्रहरीलाई नाङ्गो बनाएर खोलामा लखेटेको बयानमा स्विकार गरेका छन् ।

 

सिफारिस