मेसी प्रेरित बार्सिलोनाको उत्कृष्ट लय, नेयमारको पिएसजी अझै धरमरमा

diyopost.com
Diyo post  बिहिबार, मंसिर १३, २०७५ | ८:४२:११

काठमाडौ, मंसिर १३ । लियोनेल मेसीप्रेरित बार्सिलोनाले पिएजभी आइन्दोभेनलाई २–१ गोलले पराजित गर्न सफल भएको छ । गएरात भएको खेलमा मेसीको उत्कृष्ट गोल र गोलका लागि अवसर सिर्जना गर्दा टिमले २–१ गोलको जित दर्ता गरेको हो ।

यस अघि नै बार्सिलोना अन्तिम १६ मा पुगिसकेको थियो । पाँच खेल खेल्दा बार्सिलोनाले चार जित र एक बराबरीसहित १३ अंक जोडेको छ । बार्सिलोनाले अन्तिम १६ मा स्थान बनाए पनि टोटनहम र इन्टरमिलान भने यो समूहबाट अगाडि जानेमा प्रतिस्पर्धामा छन् । दुवैको सातसात अंक छ । यस्तोमा अन्तिम खेलमा जित हात पार्ने टोलीले अन्तिम १६ मा स्थान पक्का गर्नेछ ।

अन्तिम खेलमा टोटेनहमले बार्सिलोना र इन्टरमिलानल पिएसभीको सामना गर्नेछन् ।

नेयमारको पिएसजी अझै संकटमा
गएराती भएको खेलमा नेयमारको पिएसजीले लिभरपुललाई २–१ गोल अन्तरले पराजित गरे पनि यो समूहबाट अन्तिम १६ मा पुग्नेको छिनोफानोका लागि अन्तिम खेलसम्मै कुर्नुपर्ने भएको छ । जुआन बेरनाट र नेयमारको गोलमा पिएसजीले पहिलो हाफमा अग्रता लिएको थियो । तर, पहिलो हाफको अन्तिम समयमा लिभरपुलले पेनाल्टीमा गोल गर्यो ।

दोस्रो हाफमा दुवै पक्षबाट गोल हुन सकेन । यो समूहका अर्को खेलमा नेपोलीले रेडस्टार बेलग्रेडलाई ३–१ गोल अन्तरले पराजित गर्न सफल भयो । अब अन्तिम खेलमा पिएसजीले बेलग्रेड र लिभरपुलले नेपोलीको सामना गर्नेछन् । नेपालीको ९ र लिभरपुलको ६ अंक छ । अब अन्तिम खेलमा लिभरपुलले तीन खेलको स्पष्ट अन्तरमा पराजित गर्न सके मात्र अन्तिम १६ पुग्नेछ ।

सम्बन्धित खबर