विद्युत् चोरी गर्ने २६ जना पक्राउ

दियो पोस्ट  

 

लहान, मङ्सिर १४ । नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र लहानले विद्युत् चोरी गर्ने २६ जनालाई पक्राउ गरेको छ ।

वितरण केन्द्रबाट खटिएको विद्युत् चुहावट नियन्त्रण टोलीले जिल्लाको विभिन्न स्थानबाट उनीहरुलाई पक्राउ गरेको हो । विद्युत् चोरी गरी विद्युत् चुहावट गरिरहेको अवस्थामा टोलीले उनीहरुलाई नियन्त्रणमा लिई आवश्यक कारवाही गरिएको छ ।

पक्राउ गरिएका सबैमाथि विद्युत् चुहाबट ऐन अन्तर्गत कारवाही गरी जरिवानाबापत दुई लाख २६ हजार राजश्व सङ्कलन भएको छ । सो क्रममा चार थान विद्युत् मिटर, दुई थान पङ्खा, एक थान टेलिभिजन र एक थान रन्दा मेसिन (काठको काम गर्ने) लगायतका समान समेत बरामद गरिएको छ ।