काठमाडौं । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भ्रष्टाचार भएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ५५ नेपाली उच्च पदस्थसहित एक कम्पनि विरुद्ध मुद्दा दायर गरेको छ । पूर्वअर्थमन्त्री रामशरण महत लगायतलाई प्रतिवादी बनाइएको यो मुद्दामा अख्तियारले ठेकेदार कम्पनि चीन सिएएमसी ईन्जिनरिङ विरुद्ध पनि मुद्दा दायर गरेको छ । कुल २२ अर्ब लागतमा निर्माण भएको पोखरा विमानस्थल निर्माणका क्रममा ८ अर्ब ३७ करोड भ्रष्टाचार भएको आरोप छ ।
अख्तियारले चिनियाँ ठेकेदार कम्पनिलाई बयानका लागि बोलाउँदा बयान दिन अस्विकार गरेको पाइएको छ । अख्तियारले विशेष अदालतमा दायर गरेको अभियोग पत्र अनुसार अख्तियारले पटक पटक पत्राचार गर्दा पनि कम्पनिले बयान दिन अस्विकार गरेको हो । २०८१ मंसिर १७ र पुस २१ मा कम्पनिलाई बयानका लागि उपस्थित हुन भन्दै अख्तियारले नागरिक उडयन प्राधिकरणलाई पत्राचार गरेको थियो । जवाफमा कम्पनिले कुनै पनि विषयमा जवाफ माग्नुपर्ने भए चीन सरकारसँग माग्नु भन्दै पञ्छिएको जनाएको छ ।
त्यस्तै अख्तियारले पुन तत्कालिन कम्पनिका प्रबन्ध निर्देशक लुई सेनचेङलाई बयानका लागि बोलाएको अर्को पत्र २०८२ कार्तिक १६ मा पठाएको थियो । ३० गते भित्र बयानका लागि उपस्थित हुन भन्दै अन्तिम ताकेता गर्दा पनि अख्तियारलाई यो कम्पनिले कुनै जवाफ दिएको छैन ।