काठमाडौँ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा भएको भनिएको भ्रष्टाचारसम्बन्धी मुद्दामा विशेष अदालतले नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)का महानिर्देशक प्रदीप अधिकारीसँग पाँच लाख रुपैयाँ धरौटी माग गर्दै उनको रिहाइका लागि आदेश दिएको छ।
मंगलबार विशेष अदालतका न्यायाधीश सुदर्शनदेव भट्ट र डिल्लीरत्न श्रेष्ठको इजलासले अधिकारीलाई पाँच लाख रुपैयाँ धरौटी तिरेर रिहा हुने आदेश गरेको हो। सोही मुद्दामा अभियुक्त रहेका तत्कालीन निर्देशक मुरारी भण्डारीसँग भने एक लाख रुपैयाँ धरौटी माग गरिएको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मंसिर २१ गते पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण तथा सञ्चालनमा अनियमितता भएको भन्दै ५५ जना व्यक्ति र १ कम्पनीसहित ५६ जनाविरुद्ध मुद्दा दायर गरेको थियो, जसमा महानिर्देशक अधिकारी पनि समावेश छन्।
यसअघि पनि अधिकारीलाई भक्तपुरको नलिञ्चोकस्थित हेलिपोर्ट निर्माणमा भएको अनियमिततासम्बन्धी मुद्दामा पुर्पक्षका लागि थुनामा पठाउन अदालतले आदेश दिएको थियो। सो आदेशपछि उनी अहिले डिल्लीबजार कारागारमै रहेका छन्।
नलिञ्चोक हेलिपोर्ट निर्माणमा भ्रष्टाचार गरेको आरोपमा मंसिर १७ गते अख्तियारले अधिकारीसहित ६ जना र एक कम्पनीविरुद्ध विशेष अदालतमा मुद्दा दर्ता गरेको थियो। सो मुद्दामा १३ करोड ५७ लाख ४६ हजार २१३ रुपैयाँ बिगो दाबी गरिएको छ।