भिजिट-भिसा प्रकरणमा अध्यागमन विभागका पूर्व-प्रमुख भट्टराईसहित ६ जनामाथि भ्रष्टाचार मुद्दा दायर

दियोपोस्ट संवाददाता  

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन विभागका तत्कालीन प्रमुख तिर्थराज भट्टराई सहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । भिजिट भिसामा विदेश जाने नेपाली नागरिकसँग अवैध रुपमा रकम असुली गर्ने कार्यमा संलग्न रहेको आरोपमा उनीहरूमाथि मुद्दा दायर गरिएको आयोगले जनाएको छ ।

अख्तियारले २०८१ चैत ७ गते सहसचिव भट्टराईलाई पक्राउ गरेपछि भिजिट–भिसा काण्ड सतहमा आएको थियो । नियमित अनुगमनका क्रममा असुलीमा संलग्नता पुष्टि भएपछि उनलाई नियन्त्रणमा लिइएको बताइन्छ ।

भट्टराईसहित अध्यागमनका केही कर्मचारीले म्यानपावर व्यवसायी तथा मानव तस्करीमा संलग्न एजेन्सीसँग मिलेमतो गरी भिजिट भिसामा जाने ब्यक्तिहरुबाट रकम असुल्ने तथा सेटिङमार्फत चुनिएका व्यक्तिलाई मात्र विदेश पठाउने कार्य गरेको उजुरीका आधारमा छानबिन सुरु गरिएको थियो ।

यसअघि समेत विवादास्पद पृष्ठभूमि बोकेका भट्टराईलाई गृह मन्त्रालयले विमानस्थल अध्यागमनमा पठाएको तथ्यले अधिकारीहरूको निर्णयप्रति थप प्रश्न उठेको थियो ।

यस प्रकरणमा तत्कालीन गृहमन्त्री रमेश लेखकको नाम समेत जोडिएको थियो । सो प्रकरणमा तत्कालिन गृहमन्त्री लेखकसँगै तत्कालीन गृहसचिव गोकर्णमणि दुवाडी, कर्मचारी प्रशासन महाशाखाका प्रमुख छवि रिजाललगायतका अधिकारीहरूको भूमिकामाथि पनि प्रश्न उठाइएको थियो । मन्त्री लेखकको योजनाअनुसार भट्टराईलाई एयरपोर्टमा जिम्मेवारी दिइएको र त्यहींबाट अवैध असुली सञ्चालन गरिएको दाबी गरिएको छ ।

घटना बाहिरिएपछि तत्कालीन विपक्षी दल माओवादी केन्द्र र राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरूले गृहमन्त्री लेखकको राजीनामा माग गर्दै प्रतिनिधिसभा अवरुद्ध गर्दै आएका थिए ।

 

सिफारिस