नक्कली भवनको नक्सा देखाएर बैंकको ऋण लिएको आरोपमा बेलडाँडीकी उपाध्यक्षबिरुद्ध मुद्धा दायर

दियोपोस्ट संवाददाता  

काठमाडौँ । अस्तित्वमै नभएको पक्की घर देखाउँदै बैंकबाट ऋण लिएको आरोपमा कञ्चनपुरको बेलडाँडी गाउँपालिकाकी उपाध्यक्ष शान्ति नाथविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरिएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसार नाथले कागजी नक्सामा तीनतले भवन तयार भएको झुटो विवरण प्रस्तुत गरी ऋण लिएको आरोपमा नाथबिरुद्ध मुद्धा दायर भएको हो ।

नाथले बैंकबाट ३३ लाख ७५ हजार रुपैयाँ ऋण लिएको पुष्टि भएपछि उनलाई मुख्य कसूरदारका रूपमा मुद्दा चलाइएको अख्तियारले जनाएको छ ।

उपाध्यक्ष नाथले कञ्चनपुरको बेलडाँडी–८ स्थित आफ्नै नाममा दर्ता भएको कित्ता नम्बर ३५७ को ४०० वर्गमिटर जग्गामा सेती कन्सल्टेन्सीमार्फत पक्की घर निर्माण भएको भन्दै नक्कली नक्सा तयार गरेको आयोगको छानबिनबाट पुष्टि भएको हो।

सोही नक्साका आधारमा उनले लक्ष्मी सनराइज बैंक कञ्चनपुर शाखाबाट २०७८ चैतमा २३ लाख ७५ हजार र २०७९ असोजमा १० लाख ऋण लिएकी थिइन्।

नक्सामा भुइँ तलादेखि दोस्रो तलासम्म सटर, कोठा, ग्यालरी, सिढी र किचनसहितको तीनतले घर भएको कागजात पेश गरेकी थिइन् । तर, आयोगको टोलीले स्थलगत अनुगमन गर्दा उक्त स्थानमा कुनै संरचना नभएको, जग पनि नखनिएको खाली जग्गा मात्र रहेको नापी कार्यालय बेलौरीको प्रतिवेदनले स्पष्ट पारेको थियो।

सोही प्रकरणमा संलग्न रहेको ठहर गरिएका अन्यआरोपमा अन्य चार जनाविरुद्ध पनि अख्तियारले मुद्दा दायर गरेको छ।

नक्सा पास गर्ने क्रममा तत्कालीन प्रमुख प्रशासकीय अधिकृत पदमराज जोशी, सव–इन्जिनियर जय कुँवर र असिस्टेन्ट सव–इन्जिनियर तेजबहादुर सुनारले मिलेमतो गरी ‘भवन भएको’ भनी झुट्टा अभिलेख तयार पारेको ठहर गर्दै अख्तियारले उनीहरू विरुद्ध भ्रष्टाचार निवारण ऐन दफा ९ बमोजिम सजाय माग गरेको छ।

उपाध्यक्ष तथा जग्गाधनी शान्ति नाथविरुद्ध भने मुख्य कसूरदार बराबर, सोही ऐनको दफा २२ अनुसार कानुनी कारबाहीको माग दाबी गरिएको अख्तियारका सहायक प्रवक्ता गणेशबहादुर अधिकारीले जानकारी दिएका छन्।