काठमाडौँ । जेनजी अभियानसँग जोडिएका युवाहरूले स्वतन्त्र, निष्पक्ष, शान्तिपूर्ण र भयरहित निर्वाचन सुनिश्चित गर्न निर्वाचन आयोगको ध्यानाकर्षण गराएका छन् ।
शुक्रबार आयोगमा पुगेका उनीहरूले विदेशमा रहने २० लाखभन्दा बढी नेपालीले मतदान गर्न पाउने व्यवस्था सरकारले तत्काल गर्नुपर्ने माग राखे ।
अभियन्ता शिरिष साहीले विदेशमा रहेका नेपाली नागरिकको संख्या ठूलो रहेको उल्लेख गर्दै “एउटा राजनीतिक दलले पाउने कुल मतभन्दा धेरै नेपाली विदेशमा छन्, उनीहरूलाई मताधिकारबाट वञ्चित नगरिनुपर्छ,” भने । उनले आम नागरिकको लोकतान्त्रिक अधिकार सुरक्षित गर्नु राज्यको दायित्व भएको पनि बताए ।
यसैगरी, अभियन्ता प्रकृति ढकालले नेपालभन्दा ठूलो ‘नेपालीहरूले बनाएको नेपाल’ विदेशमा रहेको भन्दै प्रवासमा रहेका नागरिकलाई मत दिन नदिने प्रवृत्ति गलत भएको टिप्पणी गरिन् ।
श्रोत–साधनको अभाव भन्दै सरकारले निरन्तर पन्छिन नसक्ने बताउँदै उनले विदेशमा रहेका नेपालीको मताधिकार सुनिश्चित नभए सडक आन्दोलनमा जाने चेतावनी दिइन् ।
उनका अनुसार विश्वका ११५ भन्दा बढी देशले प्रवासमा रहेका नागरिकलाई मतदानको अवसर उपलब्ध गराइसकेकाले नेपालले पनि गर्न नसक्ने कुनै कारण छैन ।
जेनजी अभियन्ताहरूले अन्तरजिल्ला मतदान र विदेशस्थित नेपाली नागरिकको मताधिकार सुनिश्चिततासम्बन्धी मागसहित आयोगलाई ध्यानाकर्षण पत्र बुझाएका छन् ।