भिजिट भिषा सेटिङका अभियुक्त तिर्थ भट्टराईको डायरीमा माओवादी नेतादेखि सीआइए एजेन्टसम्मको नाम !

दियोपोस्ट संवाददाता  

काठमाडौं । भिजिट भिसामा मानव तस्करी गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सहसचिव तीर्थराज भट्टराईसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
विहिबार आयोगले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन कार्यालयमा भएको भिजिट भिसा प्रकरणमा सहसचिव भट्टराईसहित ७ जना र दुई कम्पनीविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्धा दायर गरेको हो ।

अख्तियारले भट्टराईविरुद्ध ७९ लाख ८० हजार माग गरेको छ भने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका तत्कालीन अध्यागमन अधिकृत यज्ञ राज अर्यालसँग ८ लाख, ग्रिनलाइन होलिडेज र उक्त कम्पनिका अध्यक्ष बाल कृष्ण खड्कासँग ३० लाख २० हजार, फेमली होलिडेज ट्राभल्स एण्ड टुर्स र उक्त कम्पनीका संस्थापक शेयर सदस्य एवं सञ्चालक दिपक भण्डारीसँग १० लाख ६० हजार, ग्रिनलाइन होलिडेजका तत्कालीन संस्थापक शेयर सदस्य एवं सञ्चालक राम खड्कासँग ३० लाख २० हजार, कविता पौडलसँग ७९ लाख ८० हजार, खेम प्रसाद सुवेदीसँग ७९ लाख ८० हजार बिगो माग गरेको जनाएको छ ।

त्यस्तै अख्तियारले तिर्थराज भट्टराई, कविता पौडेल र खेम प्रसाद सुवेदीलाई १० करोड ३ लाख ८९ हजार ६०० बराबरको थप बिगो माग गर्दै सम्पत्ति शुद्दिकरणको मुद्धा समेत दायर गरेको छ ।

भिजिट भिषा प्रकरणमा पक्राउ परेका भट्टराईसँग अख्तियारले डायरी र मोबाइल फोन समेत बरामद गरेको थियो । उनको डायरीमा विभिन्न उच्च पदस्थको नाम विभिन्न प्रसंगमा लेखिएको भेटिएको छ । अख्तियारले विशेष अदालतमा उनको डायरी र फोन कन्भर्सेसन समेत दशि प्रमाणको रुपमा बुझाएको छ ।

ग्रिनलाइन होलिडेजका संचालक बालकृष्ण खड्का लगायत गिरोहका सदस्यले दिएको भिजिटमा विभिन्न मुलुक जानेहरुको नामावली समेत डायरीमा टिपोट गर्ने गरेको पाइएको छ । कतिपय स्वामीलाई विमानस्थलको भिभिआइपी कक्ष प्रयोग गर्न दिने गरेको, पूर्वमन्त्री गिरिराजमणी पोखरेलको सिफारिसको आधारमा पास दिलाइदिने गरेको लगायत डायरीमा उल्लेख छ ।

२०८१ पुस २७ गतेको मितिमा बालकृष्ण खड्काले सिफारिस गरेका व्यक्तिहरुको नाम उल्लेखित भिजिट भिषामा जानेहरुको सुचीसहितको डायरीमा उल्लेख छ । पुस २८ मा दिपक भण्डारीसँग सेटिङमा २८ जना भिजिट भिषामा जानेहरुको सुची सामेल छ । २०८१ पुस २१ गते गिरिराजमणी पोखरेलले ईन्दिरा शर्माका लागि पास मिलाइदिन सिफारिस गरेको डायरीमा उललेख छ ।

त्यही डायरीमा बद्रि नरसिंह केसी र दिनेश कुँवरको नाम उल्लेख छ । २०२५ जनवरी ७ मिति लेखिएको एउटा डायरीमा भने विहान युनिसेफको अफ्गानस्थान प्रमुखले युन एनको राहदानी देखाएर छिर्न खोजको र निजसँग नाइजेरियाको पनि राहदानी भएको उल्लेख छ ।

२०८१ फागुन २६ मिति रहेको एउटा डायरीमा भने चिनमा विवाह गरेका नेपाली चेली, बंगाली नागरिक तेस्रो मुलुक जाने गरेको उल्लेख छ ।

 

२०८१ चैत्र ३० को डायरीमा भने पूर्वश्रम मन्त्री शरदसिंह भण्डारीको नाम उल्लेख छ । उनको साथीको छोरी जाने उल्लेख छ । सँगै उक्त डायरीमा नेपालमा रहेका सिआइएका एजेन्ट भनेर चिनिने चाल्स मेन्डिजको नाम पनि उल्लेख छ ।

२०८२ वैशाख १४ गते आइतबार मिति रहेको यो डायरीमा भने भोली ४ बजे डिल्ली काठमाडौंको उडान मार्फत स्वामी आउने र ती स्वामीलाई भिभिआईपी सुविधा दिने उल्लेख छ । उक्त डायरीमा पनि गिरोहका सदस्यले सिफारिस गरेका भिजिट भिषामा जानेहरुको नाम उल्लेख छ ।