बीबीसी । संयुक्त राष्ट्रसंघका वातावरणसम्बन्धी प्रमुखले विश्वव्यापी तापमान वृद्धिका कारण मानवजातिले हालसम्मकै सबभन्दा धेरै खतरा सामना गरिरहेको चेतावनी दिएकी छन् । जलवायु परिवर्तनसम्वन्धी पोल्याण्डमा भएको कार्यक्रमलाई सम्वोधन गर्दै महासंघका प्रमुख पेट्रिसिया एसपिनोसाले जलवायु परिवर्तनले चौतर्फि विनाश निम्त्याइरहेको र यसबाट हुने प्रभावहरुलाई कम गर्नको लागि आपतकालिन कदमहरु चाल्नुपर्ने आवश्यक रहेको बताएकी छिन् ।
जलवायु परिवर्तनलाई सीमित पार्ने कार्यमा संलग्न चार वरिष्ठ अधिकारीहरूले पृथ्वी ग्रह चौबाटोमा आइपुगेको पोल्याण्ड सम्मेलनमा बताएका छन्। एक दुर्लभ कदमको रूपमा हेरिएको उक्त घटनामा राष्ट्रसंघले प्रायोजन गरेको वार्ताटोलीका चार पूर्व प्रमुखहरूले निर्णायक कदमका लागि अपिल गरे।
सन् २०१५ मा प्यारिस सम्झौता भए यता जलवायु परिवर्तनसम्बन्धी सबभन्दा महत्त्वपूर्ण पहलको रूपमा पोल्याण्डको क्याटोभिट्समा आयोजित सम्मेलनलाई लिइएको छ। प्यारिस सम्झौतामा तोकिएका लक्ष्य भेट्टाउने हो भने संसारले कार्बन उत्सर्जनको मात्रामा व्यापक कटौती गर्नुपर्ने विज्ञहरूले औँल्याएका छन्।
के हो कोप २४
कोप ट्वेन्टी फोर नामक सो सम्मेलनका वार्ताकारहरू प्रगतिका निम्ति दबाबमा परेकाले निर्धारित समयभन्दा एक दिन अगावै सम्मेलन सुरु भयो। कन्फरेन्स अफ द पार्टीज वा कोप भनिने यो सम्मेलन गत अक्टोबरमा जलवायु परिवर्तनसम्बन्धी राष्ट्रसंघको अन्तरसरकारी प्यानेल वा आइपीसीसीले विश्वव्यापी तापमान वृद्धिलाई डेढ डिग्री सेल्सियसमा सीमित पार्नु पर्ने निचोडसहितको रिपोर्ट आएपछिको पहिलो हो।
आइपीसीसीले तापमान वृद्धिलाई डेढ डिग्री सेल्सियसमा सीमित पार्न सरकारहरूले हरित गृह ग्यास उत्सर्जनलाई सन् २०३० भित्र ४५ प्रतिशतले कटौती गर्नु पर्ने भनेको छ। सो सम्मेलनमा २९ राष्ट्रप्रमुख तथा सरकार प्रमुखहरूले सम्बोधन गर्नेछन्। ।