मनाङवासी जाडो छल्न बाहिरिँदै !

दियो पोस्ट  

मनाङ, मंसिर १९ । मङ्सिरको शुरुआतसँगै हिमाली जिल्ला मनाङमा विस्तारै चिसो बढ्न थालेको छ । चिसो बढ्न थालेसँगै यहाँका बासिन्दा जाडो छल्न जिल्ला बाहिर जान थालेका छन् । प्रायः बाह्रै महीना मनाङमा जाडो हुन्छ । मङ्सिर, पुस र माघमा बढी जाडो हुने हुँदा यहाँका बासिन्दा जाडो छल्न अन्यत्र सर्ने गर्छन् ।

अन्नपूर्ण संरक्षण क्षेत्र धारापानीका अनुसार मनाङमा चिसो बढे पनि बाह्य पर्यटक आउने क्रम भने घटेको छैन । जाडो याममा हिउँसँग खेल्न र रमाउन पाइने भएकाले चिसो मौसममा पर्यटक मनाङ पुग्छन् ।

मङ्सिर, पुस र माघमा जाडो छल्न स्थानीयवासी भने देशका विभिन्न ठाउँमा पुग्ने गर्दछन् । स्थानीयवासी विनोद गुरुङका अनुसार पर्यटकीय यामको अन्त्यसँगै जिल्लाका होटल व्यावसायी जाडो छल्न जिल्ला बाहिर जाने गर्छन् ।

माथिल्लो भेगमा हिउँ पर्न शुरु भइसकेको छ । अब विस्तारै तल्लो भेगमा हिउँ पर्न थाल्छ । चिसो बढेसँगै यहाँको गाउँघर सुनसान र रित्तो हुने क्रम बढेको छ । विद्यालयको अन्तिम परीक्षा सकाएर शिक्षक र विद्यार्थी पनि बिदा मनाउन अन्यत्र लाग्छन् ।

TATA ADD

सिफारिस