काठमाडौँ, २१ मङ्सिर । महानगरीय प्रहरी परिसर काठमाडौँले सुधार गृहबाट २१ व्यक्तिको उद्धार गरेको छ ।
काठमाडौँ महानगरपालिका–४ सुकेधारामा सञ्चालित ट्रान्सफरमेशन नेपालको सुधार गृहबाट उनीहरुलाई उद्धार गरेको हो । सुधार गृहमा रहेकालाई चरम यातना दिएको आरोपमा परिसरका टोलीले त्यसका सञ्चालक सन्तोष घिमिरे र कर्मचारी समित मल्ललाई पनि पक्राउ गरी आवश्यक अनुसन्धान शुरु गरेको परिसरले जनाएको छ ।
शुक्रबार दिउँसो गरिएको पत्रकार सम्मेलनमा बोल्दै परिसरका प्रमुख वसन्त लामाले मदिरा र लागुऔषध दुुव्यर्सनमा फसेका व्यक्तिलाई राख्नका लागि खोलिएको सुधार गृहमा सुधार गर्नुुभन्दा पनि यातना दिएपछि सञ्चालकलाई पक्राउ गरी त्यहाँ राखिएका व्यक्तिलाई उद्दार गरिएको बताएका छन् ।
सुधारगृहमा रहेका ३४ जनामध्य १३ जना भागेर प्रहरीको शरणमा आएका थिए । त्यहाँ आफुले भोग्नुपरेका समस्या र चरम यातनाबारे प्रहरीलाई बताएपछि प्रहरीले सुधारगृहमा रहेका अन्य २१ जनालाई उद्धार गरेको हो ।
उक्त उद्धारगृहका संचालकहरुले मासिक ३५ हजार प्रतिव्यक्तिका दरले एक बर्षको एकमुष्ट शुल्क लिने गरेको पीडितका अविभावकहरुले बताएका छन् । पैसा लिईसकेपछि उनिहरुका बाबुआमा तथा आफन्तजनहरुलाई पनि भेट्न नदिई चरम शारीरिक तथा मानसिक यातना दिएर राख्ने गरेको प्रहरी अनुसन्धानमा भेटिएको छ ।
पाँच वर्ष पहिला कपनमा सञ्चालमा रहेका उक्त सुधारगृह दुुई वर्षदेखि सुुकेधारामा सञ्चालित छन् । पक्राउ परेका सञ्चालकलाई अपराध संहिता ऐनको १६८ दफाअनुुसार कारबाही गरिने परिसरले जनाएको छ ।