सीमा सुरक्षा गर्ने सशस्त्र प्रहरी तीन महिनादेखि सदरमुकाममै

Diyo post  

बैतडी, २२ मङ्सिर । सीमा क्षेत्रमा शान्ति सुरक्षा तथा सीमारक्षा गर्र्ने उद्देश्यसहित वैतडी पुगेको सशस्त्र प्रहरी बल विगत तीन महीनादेखि सदरमुकाममै बसेको छ ।

गत असोजमा आएको सशस्त्र प्रहरी बलको गुल्म नेपाल भारत सीमा नाका झुलाघाट नगई सदरमुकाम गढीमा स्थापना भएको हो । सरकारले सबै जिल्लामा सशस्त्रको उपस्थिति गराउने निर्णयानुसार यहाँ पहिलोपटक गुल्म स्थापना गरेको छ ।

सशस्त्र प्रहरीको सुदूरपश्चिम प्रदेश कार्यालयबाट सीमामा बस्नका लागि अनुमति दिन ढिलाइ हँुदा सदरमुकाममै बसेको सशस्त्र प्रहरी नायब उपरीक्षक दुर्गादत्त पन्तले बताए । शुरुका केही दिन झुलाघाटमा बस्नको लागि घर नमिलेकाले सदरमुकाममै बस्नुपरेको र अनुमति दिनासाथ सीमामा सारिने उनले बताए।

गुल्मले जिल्लामा शान्ति सुरक्षा कायम गर्नका लागि अन्य सुरक्षा निकायसँग मिलेर काम गर्ने नायब उपरीक्षक पन्तले बताए। सो गुल्ममा तत्कालका लागि १६० जनशक्ति रहने भएको छ । कार्यालय स्थापनासँगै समुदायमा शान्ति स्थापनार्थ गस्ती, हुल दङ्गा नियन्त्रण, विपद् व्यवस्थापन, लागुऔषधलगायत अवैध सामग्री नियन्त्रण, चोरी निकासी, पैठारी र शान्ति सुरक्षा मजबुत बनाउनेजस्ता काममा आफूहरू सक्रिय रहेको स्पष्ट पारेका छन् ।

केही दिनमै सीमा क्षेत्रमा सशस्त्र प्रहरी खटिने प्रमुख जिल्ला अधिकारी चन्द्रप्रसाद गैरेले बताए नाकामा सशस्त्र प्रहरी खटाउन सशस्त्र प्रहरी र जिल्ला समन्वय समितिको टोलीले सीमा नाकाको निरीक्षणसमेत गरिसकेको छ । सशस्त्रको उक्त गुल्म अहिले साविकको डिभिजन सहकारी कार्यालय र साविकको जिल्ला कृषि विकास कार्यालयको भवनमा राखिएको छ ।

सम्बन्धित खबर