अख्तियारमा उजुरीको चाङ, शिक्षामा सबैभन्दा धेरै भ्रष्टाचार

दियो पोस्ट  

काठमाडौँ, पुष ९ । देश दुई तिहाईको सरकार र आर्थिक समृद्धीको नाराले अगाडी बढ्दै गर्दा अख्तियारमा उजुरीको संख्यामा पनि वृद्धी हुँदै गइरहेको छ । आर्थिक बर्ष २०७४÷०७५ को पुष मंसिर महिनासम्म मात्रै करिब ७ हजार सात सय १९ उजुरी आएका छन् । यस आर्थिक बर्षमा गत आर्थिक बर्षबाट जिम्मेवारी सरेर आएका ११ हजार ७ सय ६९ उजुरीसहित कुल १९ हजार ४ सय ८८ उजुरी अख्तियारमा रहेका छन् ।

गतबर्षबाट जिम्मेवारी सरेर आएको उजुरीमध्य १२ हजार ४ सय उजुरीहरु फछ्र्यौट भएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ । सोमबार राष्ट्रपति विद्यादेवि भण्डारीसमक्ष प्रस्तुत गरिएको प्रतिवेदनमा फछ्र्यौट गरिएका १२ हजार ४ सय उजुरीमध्य ६ हजार ४ सय ५८ उजुरीहरुलाई छानविनबाट तामेलीमा राखिएको उल्लेख गरिएको छ । त्यस्तै २ सय ६२ उजुरीहरुलाई सुझावसहित तामेलीमा पठाइएको छ । फछ्र्यौट गरिएका उजुरीमध्य ५ हजार १ सय ३४ उजुरीमा आवश्यक कारवाही भएका छन् भने ५ सय ४६ उजुरीलाई विस्तृत अनुसन्धानको लागि राखिएको छ । त्यस्तै फछ्र्यौट हुन बाँकी ७ हजार ८८ उजुरीहरुलाई आर्थिक बर्ष २०७५÷०७६ मा सारिएको छ ।

उजुरीमा सवैभन्दा धेरै शिक्षा क्षेत्रमा भ्रष्टाचार भएका पाइएको छ । आर्थिक वर्ष २०७४÷७५ मा परेका भ्रष्टाचारका उजुरीमध्ये १८ दशमलव ३२ प्रतिशत उजुरी शिक्षा क्षेत्रसँग सम्बन्धित रहेको अख्तियारले जनाएको छ । शिक्षापछि, संघीय मामिला सम्बन्धि भ्रष्टाचारका उजुरी १८ दशमलव २ प्रतिशत, भूमि र स्वास्थ्य सम्बन्धि भ्रष्टाचारका उजुरी झण्डै साढे ४ प्रतिशत रहेको अख्तियारले जनाएको छ

आर्थिक वर्ष २०७४÷७५ मा आयोगबाट १ सय ९४ वटा मुद्दा विशेष अदालतमा दर्ता गरिएको र ति मुद्धामा ४ सय २६ जना व्यक्तिलाई प्रतिवादी बनाई ४० करोड ५५ लाख ५९ हजार २ सय ६२ रुपैयाँ बिगो माग दाबी गरिएको अख्तियारले जनाएको छ । यसैबिच, रुपन्देहीको बुटवल उपमहानगरपालीका १३ का वडा सचिब भरतकुमार काउचा सेवाग्राहीसंग घुस लिदै गर्दा पक्राउ परेका छन् । वडा सचिब काउचालाई बुटवलको हाटबजार लाइनबाट ५ हजार घुस रकम सहित पक्राउ गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलका प्रमुख रबिलाल पन्थले बताए ।

अख्तियारले आर्थिक बर्ष २०७५÷०७६ मा १ सय ९४ वटा मुद्धा विशेष अदालतमा दायर गर्ने निर्णय गरेको छ । जसमध्य घुसकाण्डमा ९७ मुद्धा रहेका छन् । त्यस्तै नक्कली शैक्षिक प्रमाणपत्र बनाएको आरोपमा ६४ मुद्धा दायर हुन लागेका छन् । गैरकानुनी लाभहानी तर्फ अख्तियारले ८ वटा मुद्धा दायर गर्न लागेको छ भने राजश्व हिनामिनामा ५ वटा मुद्धा दायर गर्ने भएको छ । गैरकानुनी ढंगबाट सम्पत्ती आर्जन गरेको आरोपमा ४ मुद्धा अदातलमा दर्ता हुँदैछ भने अन्य विषयमा ३ मुद्धा दर्ता गर्ने अख्तियारले जनाएको छ । आर्थिक बर्ष २०७५÷०७६ को मंसिरसम्म आइपुग्दा ९७ वटा रंगेहात कारवाहीमा करिब १ सय ५४ राष्ट्रसेवक अख्तियारको नियन्त्रणमा आएका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यस आर्थिक बर्ष १६ करोड १३ लाख १३ हार १ सय ७९ रुपैयाँ ९६ पैसा असुल गरेको छ भने तराइका ४ सय १० बिघा संगै पहाडका ५३ रोपनी भन्दा धेरै जग्गाजमिन सरकारको नाममा गराउन सफल भएको छ ।

प्रतिवेदन बुझ्दै राष्ट्रपति भण्डारीले भ्रष्टाचारको विरुद्ध अख्तियारले खेलेको भुमिकालाई प्रशंसा गरेकी छिन् । उनले अनियमितता र भ्रष्टाचारजन्य कार्यउपर छानविन तथा अनुसन्धान गरि दोषिलाई काराबाहीको दायरामा ल्याउन अख्तियारको गहन दायित्व रहेको बताइन् । अख्तियारको कार्यले मुलुकमा पारदर्शिता, जवाफदेहिता, सदाचारिता र सुशासन अभिवृद्धी गर्ने कार्यमा आयोगलाई सफलता मिल्ने विश्वास समेत ब्यक्त गरिन् ।