सप्तरीमा प्रहरीलाई देख्नेवित्तिकै १ महिलाको मृत्यु

दियो पोस्ट  

सप्तरी ,पुस १० । प्रहरीलाई देखेर हृदयघात भई सप्तरीमा एक महिलाको मृत्यु भएको छ ।

विद्युत चुहावट नियन्त्रणका लागि प्रहरी सहित खटिएको विद्युत कर्मचारीको टोली सप्तरीको राजगढ गाउँपालिका वडा न. २ कमलपुर टोलकी ४० वर्षीया सविता देवी झाको घरमा पुगेपछि हृदयघात भई मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

विद्युत चोरी नियन्त्रणका नाममा मंगलबार बिहान घरमा पसेर प्रहरी सहितको टोलीले वादविवाद गर्न थालेपछि त्रसित भएर सवितालाई हृदयघात भएको झाका श्रीमान अनिल कुमार झाले बताए ।
‘सुतिरहेको वेला हतियारसहित घरमा पसेर हप्काउन थाले,’उनले बताए
,‘त्यही डरले बेहोस भएर उनी लडिन् र उनको मृत्यु भएको हो ।
सविताको मृत्युपछि आक्रोशित बनेका स्थानीयले पोष्टमार्टमका लागि शव उठाउन दिएका छैनन् ।

प्रहरीले घटनाको जिम्मेवारी लिएर परिवारलाई राहत र क्षतिपूर्ति दिने सम्झौता नभएसम्म शव उठाउन नदिने राजगढ गाउँपालिका वडा न. २ का वडाअध्यक्ष ललितनारायण सिंहले बताए ।

यता जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी प्रमुख एसपी राजेन्द्र विष्टले प्रहरीलाई देखेपछि त्राासका कारण घटना घटेको हुनसक्ने बताए ।
स्थानीयका अनुसार सवितालाई यसअघि पनि हृदयघातको समस्या देखिएको देखिएको थियो ।
यसैबिच विद्युत चुहावट नियन्त्रण टोलीले राजगढ गाउँपालिका वडा न. २ को कमलपुर टोलबाट ९ जनालाई नियन्त्रणमा लिएको छ। हुकिङ गरी विद्युत प्रयोग गरेको पाइएपछि उनीहरूलाई पक्राउ गरिएको हो। चोरी नियन्त्रणका क्रममा पाहुना आएका व्यक्तिलाई समेत टोलीले पक्राउ गरेको स्थानीयले आरोप लगाएका छन् ।

भारतको जिरोगाबाट कमलदेव यादवको घरमा पाहुना आएका चन्दन कुमार यादवलाई समेत टोलीले पक्राउ गरेर लगेको वडा अध्यक्ष सिंहले बताए । पछिल्लो पटक विद्युत चुहावटको नाममा व्यापक मात्रामा प्रहरी प्रशासन सहितको टोली मानिसहरु सुतिरहेको अवस्थामा पुगेर बिभिन्न बहानामा सर्वसाधारणहरुलाई झुक्याएर पक्राउ गर्ने गरेको आरोप स्थानीयबासीहरुको रहेको छ ।

सम्बन्धित खबर