काठमाडौँ, पुष १२ । प्रधानमन्त्री केपी शर्मा ओलीले धरहरा पुननिर्माणको शिलान्यास गरेका छन् । विहिबार धरहरा परिसरमा एक कार्यक्रम गरि नेकपाका अध्यक्षा पुष्पकमल दाहाल प्रचण्ड, गृहमन्त्री रामबहादुर थापा बादल, रक्षामन्त्री इश्वर पोखरेलगायतका नेताहरुको उपस्थितिमा प्रधानमन्त्री ओलीले धरहराको शिलान्यास गरेका हुन् ।
शिलान्यासपछि धरहराको पुननिर्माणको कामले तिब्रता लिने आशा जगाएको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जीआईईटिसी–रमन जेभीलाई यसअघि नै धरहरा पुनर्निर्माणको जिम्मा दिएको थियो । कम्पनीले ३ अर्ब ४५ करोडमा धरहरा निर्माणको जिम्मा पाएको थियो । धरहराको जग मंसिर महिनामै हालिने भनिएतापनि नेपाल टेलिकमको अण्डरग्राउण्ड फाइबर, खानेपानीका पाइप विद्युतका तार परिसर क्षेत्रमा परेकाले ढिलाइ भएको थियो भने धरहरा परिसरलाई कम्पाउण्डिङ गर्ने, भत्किएको धरहरालाई संरक्षण गर्नेलगायतका काम भइसकेका छन् ।
२०७२ सालको विनाशकारी भूकम्पले भत्किएको धराहराको पुनर्निमाणको काम ३ बर्षपछि मात्रै शुरु हुन लागेको छ । शरुवाती चरणहरुमा धरहराको पुननिर्माण गर्ने जिम्मा विदेशी राष्ट्रलाई दिने भनिएतापनि अन्नतः नेपालकै लगानीमा बनाउन लागिएको हो ।
यस्ताे बन्नेछ धरहरा
तीन बर्षपछि पुननिर्माण गरिन लागिएको धरहरा बाहिरबाट ११ तलाको देखिने तर वास्तविक रुपको भित्री संरचना २२ तलाको र अन्डरग्राउण्ड दुई तलाको हुने पुननिर्माण प्राधिकरणले जनाएको छ । धरहराको परिसरमा म्युजियम, थिएटर , वाटर फाउन्टेन, रेष्टुरेन्ट, पार्किङसहित आकर्षक बगैँचासमेत बनाइने छ । अब बन्ने धरहरामा भर्याङको साटो लिफ्टमार्फत चढ्ने र ओर्लिने सुुविधा बनाइने छ । धरहरा परिसरमा यी सबै संरचनाहरु बनाउनको लागि धरहराको ६ रोपनी जग्गासहित गोश्वारा हुलाक र टक्सार विभागको २३ रोपनी जग्गा खाली गर्ने काम भइरहेको प्राधिकरणले जनाएको छ ।
पुननिर्माण गरिन लागिएको धरहरालाई पुरानै स्वरुपमा बनाइने छ । बाहिरबाट पुरानो देखिएपनि भित्रि भाग भने आधुनिक हुनेछ । भग्नावशेष रहेको धरहराको भागलाई संरक्षण गरेर राखिने छ । यसलाई ‘भुइँचालो स्मारक’ का रूपमा सिसाको फ्रेम (टेम्पर्ड ग्लास) ले छोपेर राखिने छ। दुई तले बेसमेन्टमा तलमाथि गर्नका लागि लिफ्टको व्यवस्था गरिने छ । बेसमेन्टमा बाहिरको प्रकाश प्राकृतिक तवरले भित्र पठाउने व्यवस्था मिलाइएको छ ।
धरहरा परिसरमा दुई तलाको आकर्षक म्युजियम हुनेछ । म्युजियममा पुराना सिक्का र सिक्का छाप्ने मेसिनहरु प्रदर्शनीमा राखिने छ । म्युजियम जाने बाटोमा वाटर फाउन्टेन हुनेछ । वाटर फाउन्टेन ५० फिट अग्लो हुनेछ । नयाँ बन्ने धरहरा अपांगमैत्री समेत हुने प्राधिकरणले जनाएको छ ।
धरहरा छिर्ने बित्तिकै आकर्षक बँगैचा आउने छ । धरहरा परिसरमा लाइब्रेरी, रेष्टुरेन्टलगायतका सुविधाहरु पनि हुनेछन् । धरहरा परिसरमा तीन तले पार्किङ हुने छ । पर्यटकका लागि अब बन्ने धरहरा काठमाडौंको महत्वपूर्ण गन्तव्य बन्ने विश्वास गरिएको छ ।
धरहरा पुनर्निर्माणका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले २०७२ सालमै ‘मेरो धरहरा म बनाउँछु’ अभियान सुरु गरेका थिए। २०७३ असार २९ को मन्त्रिपरिषद बैठकले राष्ट्रिय पुनर्निर्माण प्राधिकरण र पुरातत्व विभागसँगको समन्वयमा धरहरा निर्माण गर्ने जिम्मा टेलिकमलाई दिएको थियो। टेलिकमले धरहरालाई व्यावसायिक रूपमा सञ्चालन गर्ने प्रस्ताव गरेपछि पुरातत्वले अस्वीकार गरेको थियो।टेलिकमले हात झिकेपछि सरकारले धरहरा निर्माण जिम्मा प्राधिकरणलाई दिएको थियो।