सामाजिक सञ्जाल प्रयोगमा आचारसंहिता बनाइने

Diyo post  

दमौली, पुस १२। नेपाल पत्रकार महासङ्घका अध्यक्ष गोविन्द आचार्यले सामाजिक सञ्जाल प्रयोग गर्दा पत्रकारले अपनाउनुपर्ने आचारसंहिता बनाउन लागिएको बताएका छन् ।

प्रेस काउन्सिल नेपालको आयोजना र महासङ्घ तनहुँको संयोजनमा आज दमौलीमा आयोजित ‘तनहुँका सञ्चारमाध्यमका समस्या र पत्रकार आचारसंहिता’ विषयक मिडिया संवादमा बोल्दै आचार्यले पत्रकार जिम्मेवार हुनुपर्नेमा जोड दिए । पत्रकारले सामाजिक सञ्जालमा आचारसंहिता विपरीतका सामग्री प्रकाशन÷प्रशारण गरेको पाइएकाले त्यसलाई नियन्त्रण गर्न आचारसंहिता बनाउन आवश्यक रहेकोउनले बताए । “आचारसंहिता बनाउन महासङ्घका पूर्वअध्यक्ष र विज्ञलाई मस्यौदा दिने तयारी गरेका छौँ, आगामी साधारणसभासम्म यसको टुङ्गो लाग्छ,” उनले बताए ।

उनले पत्रकारिता क्षेत्र समाजको मार्गदर्शन भएकाले पत्रकार बढी जिम्मेवार हुनुपर्ने धारणा व्यक्त गरे । पत्रकारले प्रकाशन÷प्रशारण गर्ने सामग्री आचारसंहिता बमोजिम हुनुपर्ने र त्यसो नभए आचारसंहिता उल्लङ्घनमा कारवाही हुने समेत उनको भनाइ थियो ।उनले भने, “पत्रकारिता पेशामा क्रियाशील नरहेका महासङ्घका सदस्यलाई बिदाइ गर्ने निर्णय भएको छ, यसलाई कार्यान्वयन गर्छौं”, उनले भने ।

मिडिया दर्ता, वर्गीकरण स्थानीय तहबाट हुनुपर्ने महासङ्घको धारणा रहेको चर्चा गर्दै उहाँले सङ्घीयताको अनुभव सञ्चारमाध्यममा समेत हुनुपर्नेमा जोड दिए । प्रेस काउन्सिल नेपालका सदस्य खिलबहादुर भण्डारीले पत्रकारले आचारसंहिताको परिधिभित्र रहेर सामग्री प्रकाशन÷प्रशारण गर्नुपर्ने बताए ।

सम्बन्धित खबर