मेचीनगरको भानुटोलमा भएको आगलागीमा डेढ करोडको क्षति

दियो पोस्ट  

भद्रपुर, पुस १३ । झापाको मेचीनगर–१० भानुटोलमा भएको आगलागीमा एक करोड ५० लाखभन्दा बढीको क्षति भएको छ ।

आगलागीबाट २० घर जलेर पुरै नष्ट भएका र दुई घरमा आंशिक क्षति पुगेको छ । बिहीबार राति छविलाल लिम्बूको घरबाट शुरु भएको आगलागीमा शुरुमै ग्यास सिलिण्डर विष्फोट हुँदा आगो चारैतिर अनियन्त्रित भएर फैलिएको इलाका प्रहरी कार्यालय काँकडभिट्टाका प्रहरी नायब उपरीक्षक महेश थापाले बताए ।

आज बिहानै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मेचीनगरले अग्निपीडितमध्ये विस्थापित भएका १६ परिवारलाई नगद १० हजार र अन्यत्र बसोबास भएका चार परिवारलाई पाँच हजारका दरले राहत वितरण गरेको अध्यक्ष राजु पोखरेलले जानकारी दिए

यसैगरी, नेपाल रेडक्रस सोसाइटी उपशाखा मेचीनगरमार्फत प्रति परिवार दुई थान त्रिपाल, दुई थान कम्बल, १७ मिटर कपडा, एउटा साडी र एक सेट भाडाकुँडा वितरण गरिएको उपशाखाकी अध्यक्ष कुसुम कोइरालाले बताएकी छिन् ।

आगलागी स्थलमा पुगी आज बिहान प्रदेश सांसदद्वय गोपाल बुढाथोकी र श्रीप्रसाद मैनाली, प्रमुख जिल्ला अधिकारी जनकराज दाहाल, मेचीनगरका प्रमुख विमल आचार्य, उपप्रमुख मीना उप्रेती, नेपाल रेडक्रस सोसाइटी झापाका अध्यक्ष लोकराज ढकाल, नेकपाका प्रदेश सदस्य विष्णु प्रसाईलगायतले पीडितसँग भेटघाट गरेका छन् । प्रजिअ दाहालले जिल्लाको विपद् कोषबाट नगरपालिकामार्फत प्रत्येक परिवारलाई १० हजारका दरले राहत दिइने बताए ।