काठमाडौँ, पुष १६ । आगामी महिना संयुक्त अरब इमिरेट्स (युएई) संग वान डे र टी ट्वान्टी क्रिकेटमा खेल्ने नेपाली क्रिकेट टोलीको घोषणा गरिएको छ । तीनवटा वान डे र तीनवटा टी–ट्वान्टी गरि कुल ६ वटा खेल खेल्ने नेपाली टोलीको कप्तानी पारस खड्काले गर्नेछन् ।
उक्त म्याच नेपालले युएईमा खेल्नेछ । २० सदस्यीय नेपाली टोलीमा केही नयाँ अनुहारहरु पनि आएका छन् । नयाँ खेलाडीहरुमा भीम सार्की, सन्दीप जोरा र पवन सर्राफ प्रारम्भिक छनोटमा परेका छन् । त्यसैगरि स्पीनर बलर विक्रम सोब र अभिनाश बोहोराले पनि राष्ट्रिय टोलीमा पुनारागमन गरेका छन् ।
पारस खड्काको कप्तानीमा रहेको प्रारम्भिक छनोटमा अभिनाश बोहोरा, वसन्त रेग्मी, भीम सार्की, विक्रम सोब, विनोद भण्डारी, दिपेन्द्रसिंह ऐरी, ज्ञानेन्द्र मल्ल, करण केसी, ललितसिंह भण्डारी र आरिफ शेख छन् ।
यसैगरी ललित नारायण राजवंशी, पवन सर्राफ, प्रदिप ऐरी, रोहित कुमार पौडेल, सन्दिप लामिछाने, शरद भेषावकर, सोमपाल कामी, सन्दिप जोरा र सुसन भारी पनि प्रारम्भिक सुचीमा रहेका छन् । नेपालले तयारी छिट्टै थाल्ने बताईएको छ ।
नेपालले यसअघि अगस्टमा नेदरल्यान्डसँग दुई वान डे खेल खेलेको थियो । उक्त खेल १–१ को बराबरीमा सकिएको थियो ।