'; '; ';

एनआईसी एशिया बैंकले करोडौँ सम्पत्ति ‘कब्जा’ गरेपछि ‘सुकुम्बासी’ बनेको एक दम्पत्तिको कहानी

एनआईसी एशिया बैंकले करोडौँ सम्पत्ति ‘कब्जा’ गरेपछि ‘सुकुम्बासी’ बनेको एक दम्पत्तिको कहानी

काठमाडौं, १२ मंसिर । काठमाडौंको बागबजार स्थित भक्तपुर बसपार्कबाट दायाँ तर्फ मोड नजिकै एउटा पुरानो होटल । कोठा नम्बर १०२ । लामो दारी, दौरा सुरुवालमा नेपाली ढाकाको टोपी लगाएका ६५ वर्षिय बृद्धको पुरा नाम हो – मोहमद नियाज अहमद अलि साई ‘बरकत’ । आफ्नै उमेर बराबरको श्रीमती फातिमा साइसँगै विगत केही महिनादेखि उनी यो होटलमा आश्रीत भएर बसेका रहेछन् । ‘होटलवालाले हाम्रो कहानी सुनेपछि हामीलाई बास बस्नका लागि एउटा कोठा निशुल्क दियो,’ अलिले कुराकानीको औपचारिकता थाले, ‘दिनमा एक छाक मात्रै खान्छौँ । त्यो खानाको पैसा आफन्तहरुले दिएका छन् ।’

कुनै समय करोडौँ रुपैयाँ करोबार गर्ने अलि दम्पत्तिलाई एउटा चर्चित बैंकले सडकमा ‘सुकुम्बासी’ बनाइदिएपछि उनीहरु त्यसविरुद्ध मुद्दा लड्नका लागि काठमाडौं आएका रहेछन् । काठमाडौंको थापाथली ट्रेड टावरमा निकै भव्य रुपमा तामझाम सहित चर्चामा रहेको बैंक एनआइसि एशियाले उनीहरुको करोडौँको सम्पत्ति कब्जा गरेपछि यी दम्पत्ति न्यायको आसले १० दिनअघि राजधानी छिरेका रहेछन् । ‘न्याय पाउँछौँ की भनेर हामी यहाँ आएका हौँ । मेरो दुखले जुटाएको सबै सम्पत्ति एनआइसि एशिया बैंकले गुण्डागर्दी शैलीमा कब्जा गरेको छ,’ साईले भने,‘हामीलाई मधेसी भनेर हेपेर भारत लखेट् समेत खोजियो ।’

दियोपोस्ट डटकमको टिमलाई भेटेपछि साई दम्पत्तिले आफ्नो सम्पत्ति कब्जा गरेर एनआइसि एशिया बैंकले कसरी सडकमा पु¥यायो भन्ने रामकहानी सुनाए ।

मेरो नाम बरकत अलि साइ हो । पहिलेको घर दाङ हो । २०३८ सालमा सुर्खेत झरेको हुँ । त्यतिबेला १८ वर्षको थिएँ । मेरो परिवार १५ वर्षको थिइन् । सुर्खेत झरेपछि मैले गगन बहादुर साहीको मिल चलाउने काम गरेँ । मिल चलाउँदा चलाउँदै टेक्निशियन लाईनको इन्जिनियर जस्तो बनेँ । पढ्न पाइन तर सिकेर नै जानेँ । थोत्रो सामान जोड्ने काम गर्थेँ ।

सुर्खेत जना मणिलाल श्रेष्ठ ‘लुम्बीनी’ भन्ने व्यक्ति हुनुहुन्थ्यो । उहाँको मिल सनिहलदेखि तल पटि थियो जसलाई मैले ठेक्कामा चलाएँ । जहाँ मैले कुट्ने र चामल फल्ने काम गर्थें । हामी दुवै जना मिलेर सोही मिलमा पिठो, तेल र अन्य कुरा पिस्न थाल्यौँ ।

जति श्रम गरेँ उति नै प्रगती हुँदै गयो । म दुई पटकसम्म हज कमिटिको केन्द्रीय सदस्य पनि भएँ । यहाँबाट मक्का मदिनामा हज गर्न जाने चलन छ । हज गर्ने मान्छेले कहिल्यै झूट बोल्दैन । म ०५६, र ०६२ सालमा हजको केन्द्रीय सदस्य भएँ । त्यो समयमा मलाई यहाँको सरकारले हामी दुवै जनालाई नै हज गर्न पठायो । मैले यहाँबाट नेपाली झण्डा लिएर गएको थिएँ । म नेपाली टोपी कहिल्यै हटाउँदिनँ । यो कुरा त्यहाँको सरकारलाई मन पर्यो । त्यहाँको सरकारले ५० हजार रियल पुरस्कार दियो । जो नेपालमा ११ देखि १२ लाख हुन्थ्यो । प्रमाण पत्र र इनाम समेत दियो । हामी चार जना गएका थियौँ ।

२०५० सालमा मैले आफ्नै उद्योग सुरु गरें । हाम्रो मिल प्रख्यात भयो । मैले ठेक्कामा मिल चलाउँदै गर्दा कसले भन्थे,‘य मिस्त्री हाम्रो मिल थोत्रो भयो लैजाउ र चलाऊ ।’ २० हजार पर्ने थोत्रो सामान मलाई ५ हजारमा दिन्थे । त्यही मिलबाट मैले कमाउन थालेँ ।

त्यसपछि आफ्नो श्रीमतीकोे नाममा फातिमा खाद्य उद्योग खोलेँ । ७ धुर जग्गाको भाडा थियो – महिनाको ३ हजार रुपैयाँ । मैले जग्गा उनै माणिकलाल श्रेष्ठसँग लिएको थिएँ । उनले र मैले ६५ सालसम्म जग्गा भाडामा चलाउने सहमति गरेका थियौँ । त्यो कागज पनि मसँग छ ।
२०६५ सालमा मैले घरेलुबाट पान नम्बर लिएँ ।

नगरपालिका र विद्युतबाट कागजात लिएँ । म बजारभरी निकै प्रख्यात भएँ । बजारमा मेरो तेल निकै चल्यो । मैले मेरो जीवनमा ‘डुब्लिकेट काम’ कहिल्यै गरेनँ । मैले पेलेको तेल राजदरबारसम्म पुग्थ्यो । अझैपनि काठमाडौंका मान्छे त्यहाँ जादा ‘दाह्रीवाला बड्डा कहाँ’ छन् भनेर गाडीवालाहरु खोज्छन् ।

दिनभरमा डेढसय लिटरसम्म तेल विक्री हुन्थ्यो । त्यसरी कमाएको थिएँ । ६६ सालमा जहाँ अहिले मेरो घर छ त्यो घरको जग्गा किन्न सकेँ – ५ लाख ४० हजार रुपैयाँमा । अहिले त्यहाँको जग्गाको मुल्य २० लाख रुपैयाँ मिटर छ । ६ मिटर जग्गा किनेँ । दिनमा ६ हजार त कमाई हुन्थ्यो । पैसा जम्मा भएपछि घर बनाउने सल्लाहा भयो । श्रीमतीसँगको सल्लाहापछि जग हाल्यौँ र एक तलाको बनायौँ । छोरो धनगढीमै मिलमा काम गर्न गएको थियो । एक तलाको घर बनेपछि हामीहरुले मात्रै धान्न सकेनौँ छोरा बुहारीलाई पनि बोलायौँ ।

एक तला घर बनेपछि अलिकति पैसा र निर्माण सामग्री बढी भएपछि अर्को तला पनि थपियो । त्यसरी नै केही वर्षको बीचमै चार तलाको घर बन्यो । मेरो घर बनेको देखेपछि मणिकलाल श्रेष्ठलाई रिस उठेछ,‘मेरो मिलबाट पैसा कमाए’ भन्नु भयो । उहाँको जग्गा खाली गर्न दबाव दिनु भयो ।

मैले त्यतिबेला सम्म एभरेष्ट बैंकसँग ऋण लिएको थिएँ । जहाँ घर बनाएको थिएँ त्यहाँ १४ मिटरको मोहोडा खाली जग्गा थियो । त्यो जग्गा एभरेष्ट बैंकसँग ऋण लिएर किनेँ । त्यतिबेला एभरेष्ट बैंकसँग निकै राम्रो लेनदेन थियो । केही दलालहरुले मेरो छोरालाई फकाएछन् । छोराकै आग्रहमा मैले एनआइसी एसिया बैंकसँग चिनजान गरेँ । छोराकै दबावका कारण मैले एनआइसी एशिया बैंकसँग कारोबार गर्न राजी भएँ । उद्योग सार्ने क्रममा एनआइसि एशिया बैंकले ६५ लाख रुपैयाँ ऋण स्विकृति गरिदियो । ऋण सार्ने बेला एभरेष्ट बैंकका कर्मचारीले भनेका थिए,‘ तपाईंको टर्न ओभर राम्रो छ । तपाईं त्यता नजानुस् तपाईंको दशा विग्रन्छ । यत्रो ४–५ करोडको सम्पत्ति बनाईसक्नु भएको छ । तपाईं किन अरु बैंकमा जानु हुन्छ ? हामीले तपाईंलाई के सुविधा दिनु पर्यो ।’ छोराले जोड गरेपछि हामी एनआइसि एशिया बैंकमै गयौँ । बैंकले तीन किस्तामा हामीलाई ऋण दियो ।

त्यो पैसाबाट २० लाखमा जग्गा किन्यौँ । १२ लाख रुपैयाँमा टाटाको गाडी किन्यौँ । छोरोले सोही गाडी भाडामा चलायो । बाँकी पैसाले घर फिनिसिङ गर्यौँ ।

मेरो घर नजिकै अर्को एउटा घर छ । त्यो घर रविन्द्र आरसीको हो । उनी एनआइसि एशिया बैंक सुर्खेत शाखाका ब्रान्च म्यानेजर कृष्णराज बयलकोटीको साथी हुन् । उनीहरु दुवै जना मिलेछन् । रविन्द्र आर सी गुण्डाका नाइके हुन् । उनको श्रीमतीको मिटरब्याज धन्दा चल्छ । म मधेसी भएको हुनाले मेरो घर कसरी कब्जा गर्ने भन्ने षड्यन्त्र अपनाए । हामी बुढाबुढीलाई मिल भन्दा अरु थाहा थिएन । छोरा गाडी लिएर हिड्थ्यो ।

म अनुशासनमा मोटरसाइकल चलाउँथेँ । चैत्रको महिनामा मोटरसाइकल दुर्घटनामा परेँ । मलाई पछाडीबाट अर्को गाडीले ठक्कर दियो । म अचेत भएछु । मलाई नेपालगन्जको अस्पतालमा उपचार गरियो तर, त्यहाँ पनि संभव नभएपछि भारतको लखनउको अस्पताल मेरो उपचार भयो । म विरामी भएपछि कारोबार ठप्प भयो । मैले किस्ता मात्रै १२–१५ लाख बुझाइसकेको थिएँ ।

दुर्घटनामा आर्थिक संकट हुँदा समेत हामीले बैंकको किस्ता बुझाई रहेका थियौँ । म उपचारपछि सुर्खेत फर्किएँ । मलाई भेट्न शाखा प्रमुख कृष्णराज बयलकोटी गइरहन्थे र भन्थे,‘चाचा केही चिन्ता नगर्नुहोला म तपाईंलाई सक्दो पुग्दो सहयोग गर्छु ।’ त्यो अवधिमा हाम्रो आर्थिक पनि कमजोर भयो । म बाहिर हिँडडुल गर्न सक्ने अवस्थामा थिइनँ ।

एक दिन शाखा प्रमुख बयलकोटी मेरो घरमा आए खाली कागज देखाउँदै भने– ‘चाचा म यो एनआइसि एशिया बैंकको ब्रान्च म्यानेजर हो भन्ने कुरा तपाईंलाई थाहा छ । म अहिले काठमाडौं जान लागेको छु । यो खाली कागज लिएर आएको छु । म्यानेजरले कहिल्यै धोका दिँदैन । यो कागजमा तपाईंले सहि गरिदिनुस् र औँठा छाप लगाइदिनुस् । चाचीले पनि छाप लगाइदिनुस् म अलिकति पैसा थपेर माथिबाट स्विकृत गरेर ल्याइदिन्छु । माथि केन्द्रले के लेख्छ त्यो मलाई जानकारी छैन ।’

हामीलाई विश्वास लाग्यो र खाली कागजमा सहि गरिदियौँ । डेढ महिनापछि मेरो स्वास्थ्य अवस्था फेरी गम्भिर बन्यो । त्यही बेला मेरो छोरालाई ‘घुम्न जाम’ भन्दै रविन्द्र आरसी र कृष्णराज बयलकोटीले काठमाडौं ल्याए ।

यसो भनेपछि फातिमाका श्रीमान निशब्द भए उनी बोल्न नसकेपछि फातिमाले कुराकानी थपिन् –

छोरालाई धम्की दिएछन्– बा आमालाई भनिस् भने तलाई मारिदिन्छम् ।’ छोरालाई ‘थुन्ने, कुट्ने’ गरेर सबै प्रक्रिया मिलाएछन् र यतैबाट मेरो सम्पत्ति लिलाम गरेछन् ।

हामीले सोही घरमा केएफसी होटल समेत चलाएका थियौँ । तर हामीलाई आफू बसेको घर लिलाम भएको छ भन्ने थाहा थिएन । छोराले पनि सोही होटलमा काम गथ्र्यो । राती भएपछि रविन्द्र आरसीले केटाहरु होटलमा पठाउँदो रहेछ र खुकुरी देखाएर पैसा लैजाँदो रहेछ । दिनभरको सबै कमाई गुण्डाहरुलाई बुझाउनु पथ्र्यो । अरुले कुट्न पिस्न ल्याएको सामान चोरी होलाकी भनेर हामी भने सँधै मिलमै बस्थ्यौँ ।’

हामी मिलमा बसिरहेको अवस्थामा मेरो श्रीमानलाई कसैले घर लिलाम भएको सुचना सुनाईदिए । त्यसपछि मेरो श्रीमानलाई हर्टएट्याक भयो । राती १० बजे श्रीमानलाई गाडीमा हालेर नेपाल गन्ज पुर्याएँ । ८ दिनपछि बल्ल श्रीमानको होस आयो । हामी उपचार गर्दै थियौँ । छोरो पनि नेपालगन्ज आएको थियो उसको पछिपछि केटाहरु पठाएछन् ।

छोरोसँग रविन्द्र आरसीले ६ लाख भारु मागेको रहेछ । भन्सार पुगेपछि छोरालाई रविन्द्र आरसीले फोनमा,‘कहाँ आइपुगिस्’ भनेको रहेछ । छोरोले भनेछ,‘म भन्सारमा पुगेँ । अब तपाईंलाई पैसा आइएमइ गर्छु ।’ त्यसैको ५ मिनेटपछि २ वटा मोटरसाइकलमा केटाहरु आए । छोरोलाई घेरियो र छोरोको आँखामा खुर्सानी हालियो । आँखा मिच्दै गर्दा पछाडीबाट खुकुरी हाने र झन्डै घाँटी छुट्टिने प्रहार भएको थियो । चक्कुसमेत प्रहार गरी छोरोको झोला काटेर ६ लाख भारु लुटियो । प्रहरीले नै उद्दार गरी अस्पताल पुर्यायो र हामीलाई पनि खबर पुग्यो । तर प्रशासनले कुनै कारबाही गरेन ।

हामी अस्पतालमै हुँदा मेरो श्रीमानलाई फोनमा धम्की आयो,‘तेरो छोरा कहाँ छ हामीलाई दे ।’ त्यति सुनेपछि मैले श्रीमानलाई भनेँ,‘छोरोलाई तुरुन्त सुर्खेत पुर्याउँनुस् नत्र यहाँ मार्छन् ।’ हामीले छोरालाई राती नै गाडीमा चढाएर सुर्खेत पुर्यायौँ । राती फेरी अर्को फोन आयो,‘तेरो छोरा कहाँ छ हामीलाई दे ।’ श्रीमानले भने,‘मैले घरमा ल्याएको छु । म किन डराउने ? किन धम्की दिनुभएको ?’

हामीले जिप्रकामा उजुरी दिन गयौँ । त्यतिबेला नै फेरी पछाडीबाट रविन्द्र आरसी आयो र हामीलाई धम्कायो,‘य बड्डी मेरो नाम नआओस् तेरो छोरालाई खुकुरी हान्नुभन्दा ५ मिनेट अगाडी मैले फोन गरेको थिएँ । मेरो नाम आयो भने नराम्रो हुन्छ ।’। म अनपढ र सोझो मान्छे । म मिलबाट बाहिर गएको थिइनँ । जिप्रका भनेको थाहा पनि थिएन । रविन्द्र आरसीले त्यसो भनेपछि म डराएँ र जिप्रकामा केही भन्न सकिनँ ।
खुकुरी प्रहारपछि छोरोको एउटा हात र खुट्टा नचल्ने भएको थियो । औषधी गर्न जान्छु भन्दै उ घरबाट हिँडेछ । १५ दिनपछि बुहारी राती ३ बजे नै ३ वटा नाती नातिना लिएर घरबाट हिडिँन् । पछि थाहा पाए अनुसार छोरा बुहारीलाई रविन्द्र आरसीले धम्की दिएको रहेछ ।

रविन्द्र आरसीको धम्की सुनाउँदै गर्दा फातिमा बोल्न आँशु झार्न थालिन् र फेरी उनका श्रीमान बरकत अलिले आफ्नो व्यथालाई निरन्तरता दिए,–

म हिँड्न नसकेपनि पर मिलबाट घर देखिरहेको थिएँ । सोही दिन विहान ९ बजेतिर घरमा हेर्दा च्यानल गेट र ताला लगाएको देखेँ । मैले श्रीमतीलाई भनेँ,‘हेर त किन आज सटर र च्यानलगेट यतिबेला सम्म बन्द छ ?’ श्रीमती उक्त घर हेर्न जाँदा छिमेकीले भने,‘राती मोटरसाइकल ढाइँअ.. ढुइँअ.. आवाज’ आएको थियो बुहारी डरले भागिन् होला ।’

हामीले सोच्यौँ बुहारीलाई छोराले नै औषधी गर्न बोलायो होला । छोरा बुहारी गएकै दिन रविन्द्र आरसी र उनकी श्रीमती मलाई भेट्न आए र भने,‘छोरा बुहारी भागे, लौ घर जग्गा हामी कब्जा गर्छौं ।’ तपाईंले बैंकबाट लिलामी गरेर मेरो घर लिनुभयो ठीकै छ मैले भनेँ,‘छेरा बुहारी आउँछन् । मलाई एक महिनााको समय दिनुस् । त्यतिबेला पनि छोरा बुहारी आएनन् भने म ताला काटेर मेरो सम्पत्ति लिन्छु । अनि तपाईं घरमा बस्नु होला ।’

त्यतिबेला मैले रविन्द्रको श्रीमती गिता आरसीलाई भनेँ,‘ए बुहारी त्यो घरमा मेरो जीन्दगीको सबै कुरा त्यहीँ छ । ताला छोराले लगाएर गएको छ । तिमीहरुले जथाभावी नगर्नु । १५ गतेसम्म आएन भने १६ गते म ताला फोडौँला ।’

मैले यसो भन्दै गर्दा केहीबेरमा उनीहरुले मेरो छोराले लगाएको ताला फोडेर अर्को त्यस्तै ताला लगाए । ४–५ दिनको बीचमा ताला खोलेर भित्र प्रवेश गरी रविन्द्रको श्रीमान श्रीमतीले भित्रको सबै सामान ओसारे । त्यो भित्र रहेको नगद, सुन, मेरो दाइने शंख सबै सामान ओसारेछन् र फेरी त्यही ताला लगाए । केही दिनमा फेरी प्रशासन र प्रहरीको रोहबरमा घरको ताला तोडेछन् । बैंकको मान्छेले हामीलाई भन्नु पर्ने थियो,‘तिमीहरुको घर जग्गा लिलाम भयो भित्रको सामान निकाल ।’ त्यो कुरा बैंकले आजसम्म पनि भनेको छैन ।

त्यतिबेला मेरी श्रीमतीलाई रविन्द्रले धम्की दिए,‘य बड्डी उताको घरमा आइस् भने छोराको जस्तो गति बनाइदिन्छु ।’ हामी डरले कायल भयौँ । एउटा मान्छेलाई मोटरसाइकल बोलाएर हामी प्रशासन पुग्यौँ । हामी सिडिओ सापसँग रुन थाल्यौँ । सिडिओले भने,‘यो त नहुने काम भयो त ? कहाँ मिल्छ यसरी ? घर भाडामा बस्ने मान्छे त भाग्यो भने ६ महिना पर्खिने नियम छ । तपाईंको आफ्नै घर हो ?’ उहाँले घन्टी बजाएपछि सुब्बा आए । ती सुब्बा आफै खटिएका रहेछन् । उनलाई सामान कसरी निकालेको भन्दै सिडिओले प्रश्न गरे । ‘घर धनीको सहमति बिना कसरी ताला काटियो ?’ भन्दै सिडिओले प्रश्न गरे । सुब्बा हतारिएर निस्के । हामीलाई भोली आउनु भनेपछि हामी पनि निस्क्यौँ ।

हामी भोलीपल्ट फेरी सिडिओ सरको कार्यालयमा पुग्यौँ ।’ सुब्बालाई सिडिओले सोध्नु भयो,‘तपाईंले के–के हेर्नु भयो ?’ सुब्बाको उत्तर थियो,‘म जाँदा सामान लुटपाट हुँदैथियो । सामानको हारालुछ भइरहेको थियो । बड्डा धनी रहेछन् । नातीलाई चढ्ने खेलौना कार ४० हजारमा किनेका रहेछन् । म जाँदा २ सय वटा सामानको मुचुल्का गरिसकेका थिए ।’ २ सय सामान भनेको थोत्रा मोत्रा सामान थिए । बाँकी सामान सबै लुटियो । मैले सिडिओ सापलाई बुझाएको लिस्ट अनुसार २६ लाखको सामान लुटपाट भएछ । म सन्त लाइनको मान्छे भएको हुनाले दाहिने शंख र एक मुखी रुद्राक्षको माला नै थियो । २ सय सामानको मुचुल्कामा पनि हाम्रो छाप थिएन । सिडिओकै सल्लाहमा हामी मुद्दामा गयौँ । तर, रविन्द्र र गिताले पैसा खुवाएर अदालतमा पनि २ सय सामानलाई नै सदर गरिदियो । हाम्रो केही सुनुवाई भएन ।

त्यहाँ सुनुवाई नभएपछि हामी ‘केन्द्र’ काठमाडौं आयौँ । ८ दिन बस्दा हामीले केही पत्ता लगाउन सकेनौँ र फर्कियौँ । अर्को पटक हामी आयौँ र डेढ महिनामा जिल्ला अदालतमा एनआइसि एसिया बैंक विरुद्ध मुद्दा हाल्न आयौँ । र हामीले रविन्द्रको सम्पित्ति रोक्काको मुद्दा हाल्यौँ । जिल्ला अदालतमा आउँदा पनि हामीलाई गुण्डा लगाइयो । अदालतको चार तलाबाट हामीलाई लछारपछार गर्दै तल झारियो । रविन्द्रको सम्पत्ति फुकुवा गर्न जबरजस्ति छाप लगाउन दबाव दिइयो ।

जिल्ला अदालत काठमाडौंले हामीमाथि न्याय गर्ने आसा थियो । फैसाला हुने दिन एनआइसि एसिया बैंकका एक कर्मचारीले न्यायधीश सापलाई एउटा खाम दिए । त्यो खाम भित्र के थियो हामीलाई थाहा भएन । खाम पाएपछि न्यायधीशले भन्नु भयो,‘ल फातिमा जी, एउटा कागज आयो । त्यो कागजको आधारमा तपाईंले मुद्दा हार्नु भयो ।’ मैले भनें,‘श्रीमान त्यो कागज पढेर हामीलाई सुनाइ दिनुस् । हामीलाई पनि सन्तोष हुन्छ ।’

 

न्यायधिशले भन्नु भयो,‘तपाईं बढी नहुनुहोस् ।’ हाम्रो वकिलले भने,‘न्यायधीशले लेखिदयो भने हामीलाई जेल पठाई दिन्छ ।’ त्यसपछि हामी बोल्न सकेनौँ ।

फैसला के भएको भन्ने थाहा पाएनौँ । तीन दिनसम्म नेटमा पनि हालेनन् । फैसला हामीलाई दिएनन् । फैसला कुर्दा कुर्दै धेरै दिन वित्यो । हामी घुम्दै घुम्दै प्रधानमन्त्री कार्यालय सिंह दरबार पुग्यौँ । त्यहाँ धनबहादुर केसी भन्ने सचिवललाई कहानी बतायौँ ।

उहाँले जिल्ला अदालतलाई फोनमा भन्नु भयो,‘सुर्खेतबाट आएको बड्डा बड्डीलाई एक महिनासम्म फैसला किन दिनु भएन ?’ उहाँले फोन गरेपछि फैसला हामीले पायौँ ।

त्यसपछि हामी पुनरावेदन अदालत पाटन गयौँ । त्यहाँ मेलमिलापमा राखियो ।

 

मेलमिलापमा बैंकका अधिकारी, वकिल र रविन्द्र आरसी सहित हामी थियौँ । छलफलमा रविन्द्र आरसीले भने,‘१० लाख रुपैयाँ लैजाउ र मुद्दा झिक ।’ मैले भनेँ,‘मेरो ६ करोडको सम्पत्ति खाने अनि मलाई १० लाख दिनेँ ? म भिखारी हुँ ? बैंकको ब्याज र हर्जाना सहित म ३० लाख रुपैयाँ दिन्छु मेरो सम्पत्ति फिर्ता लेऊ ।’ त्यसपछि ‘मिल्दैनौँ’ भनेर उनीहरु हिँडे ।

एनआइसि एशिया बैंकले यसरी कब्जा गर्यो मेरो सम्पत्ति

बैंकले १० वटा भन्दा बढी गल्ती गरेर हाम्रो सम्पति लिलाम गरेको रहेछ । जग्गा धितो राख्नेबेला बैंकले हाम्रो सम्पत्तिको मुल्यांकन १ करोड २४ लाख रुपैयाँ गरेको थियो । लिलाम गर्नेबेला उक्त सम्पत्तिलाई ८७ लाखमा लिलाम गरेका छन् । धितो राख्नेबेलाको मुल्यांकन भन्दा धेरै हुनुपर्ने हो । अर्को कुरा सम्पत्ति मुल्यांकन गरेर मात्रै लिलाम गर्नुपर्ने नियम रहेछ ।

हामीले धितो राख्नेबेलाको मुल्यांकन भएको घर सम्पतिलाई २ वर्षमा हामीले फिनिसिङ गरेर दरबार जस्तो बनाएका थियौँ । पछि थपिएको १४ मिटरको जग्गा पनि मुल्यांकन नै नगरी लिलाम गरेछन् । मेरो सम्पत्ति अहिले मुल्यांकन गर्दा ६ करोड जतिको हुने रहेछ । मैले बैंकबाट लिएको ऋण मध्ये १२–१५ लाख तिरेको रहेछु । त्यो सबै स्टेटमेन्ट छ ।

बैंकले लिलामी गर्दा तीन जनाको शिलबन्दी टेन्डर हुनुपर्ने हो । तर, बैंकले रविन्द्र आरसीलाई मात्रै लिलामी सकार्न दिएछ । के सुर्खेतमा रविन्द्र मात्रै थिए ?सुर्खेतमा भएको कारोबार काठमाडौंमा लिलाम गर्नुपर्ने कारण के थियो ? बैंकले लिलामीको लागि निकालेको सुचना हामीलाई दिएन ।

अर्को कुरा हाम्रो घरसम्पत्ति त लिलाम भयो तर घरभित्र भएको जेथा त लिलाम हुँदैन नी । हाम्रो घर राखिएको १ करोड बराबरको सम्पत्ति नै कब्जा गरियो । हामीले खाइनखाइ जोगाएर राखेको सम्पत्ति थियो । हज गर्न गएको बेला हामीले ल्याएको ८ तोला सुन थियो ।

००००

अहिले १ वर्ष भयो । हाम्रो आयस्रोत केही छैन । हामीलाई नातागोता इष्ट मित्रले दिएर चलेका छौँ । कसैले चामल दिएका छन्, कसैले पैसा दिएका छन् । यसरी चलेका छौँ । बुढाबुढी मात्रै छौँ । एक छाक मात्रै खान्छौँ । अहिले केही दिनअघि केही उपाय नलागेपछि टोल छिमेकका महिला उठाएर हामीलाई भारत लखेट्न खोजीयो । ‘लौ यो देशीलाई यहाँबाट’ भगाउनु पर्यो भनियो । टोलका महिलाहरुले भनेँ,‘यी बड्डा बड्डीले केही विगारेका छैनन् । हामीहरुलाई मिलबाट कुटेर पिसेर खुवाए । तिमीहरुले यत्रो घर सम्पत्ति लगेर अझै सन्तोष भएन ? तिमीहरुलाई मर्नु छैन ? पाप नगर ।’

त्यसपछि बाहिरको महिलाहरु बोलाएर मेरो सामन फाल्न थालियो । हामीले प्रहरीलाई फोन गर्यौँ । सुर्खेत प्रहरीले हामीलाई सहयोग गरे । मिलापत्र हुन सकेन । फेरी सामान फाले । फेरी प्रहरी आए र सहयोग गर्नुभयो । प्रहरीले सार्वजनिक मुद्दा लगाउने भनेपछि मात्रै उनीहरुपछि हटे ।

अहिले हामीसँग केही छैन । हामी करोडौं रुपैयाँ कमाएको मान्छे अहिले एक रुपैयाँको भिकारी भएका छौँ ।
हामी एनआइसि एशिया बैंकको थापाथली स्थित केन्द्रीय कार्यालयमा गयौँ । तर त्यहाँका कर्मचारीले धकेलेर तल झारिदिए ।

बैंकका कर्मचारीले भने,‘मलाई केही थाहा छैन’

एनआइसि एशिया बैंकका प्रवक्ता सरोज भट्टराईले आफूलाई यस विषयमा केही थाहा नभएको बताए । ‘यो लोन रिकभरको इस्यु हो । यस सम्बन्धमा मलाई केही थाहा छैन,’ उनले भने ।

भिडियाे हेर्नुहाेस् ः

 

० प्रतिक्रिया




ट्रेन्डिङ