काठमाडौं । गत महिना काठमाडौंमा भएको नेपाल टी–२० लिगमा स्पट फिक्सिङमा ४ नेपालीसहित कम्तीमा १० जना संलग्न भएको प्रहरीले निष्कर्ष निकालेको छ । उक्त घटनाको अनुसन्धान गरिरहेको प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) स्रोतका अनुसार स्पट फिक्सिङमा ४ जना नेपाली र ६ जना विदेशी संलग्न छन् ।
सो घटनामा दुई क्रिकेटर पक्राउ परेका छन् । केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले दुई जना क्रिकेटरलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा आदिल अन्सारी र मेहबुब आलम रहेको सिआइबी स्रोतले जनाएको छ ।
सुरूदेखि नै विवादमा परेको लिगमा स्पट फिक्सिङ भएको भन्ने उजुरीपछि सिआइबीले अनुसन्धान गरिरहेको थियो । आदिलले टी-२० लिगमा जनकपुर रोयल्सबाट खेलेका थिए । तर मेहबुब भने लिगमा कुनै पनि टिममा आबद्ध थिएनन् ।
आदिलले गत वर्ष अमेरिकाविरुद्धको खेलबाट एकदिवसीय राष्ट्रिय टिम र पपुवा न्युगिनीविरुद्धको खेलबाट टी-२० टिममा डेब्यू गरेका थिए। मेहबुब भने नेपालका चर्चित अलराउन्डर हुन् ।
पछिल्लो समय राष्ट्रिय टिममा नरहेका ४१ वर्षीय मेहबुबको नाममा एकै खेलमा दश विकेट लिने कीर्तिमान छ । लिगको समयमा उनी भारतमा गएका थिए । त्यहीँबाट उनले क्रिकेटरसँग फिक्सिङका लागि सम्पर्क गरेको प्रहरीको भनाइ छ ।
राष्ट्रिय टिमबाट नखेले पनि मेहबुबले भने मधेश प्रदेशको टिमबाट गत वर्षसम्म राष्ट्रिय क्रिकेट खेलेका थिए । १९ वर्षीय आदिलले पपुवा न्युगिनीविरुद्धको खेलमा डेब्यू गर्दा ११ बलमा ३१ रन हानेर सनसनी मच्चाएका थिए ।