उद्वव विश्वकर्मा
दोलखा, माघ १ । सरकारले करोडौँ लगानी गरेको दोलखाको गाई फार्म अलपत्र रहेका पाइएको छ । दक्षिण एसियाकै ठुलो भन्दै २०६८ सालदेखि दोलखाको भीमेश्वर नगरपालिका–८ बोचमा शुरु गरिएको कालिञ्चोक गाई फार्म निर्माण अलपत्रमा पाइएको भेटिएको हो ।
काठमाडौँदेखि १ सय २० किलोमिटरको दुरीमा रहेको उक्त गाई फार्म १५ करोड लगानीमा संचालन गरिएको हो । फार्मका लागि सरकारले ८ करोड लगानी गरेको छ । त्यति मात्र होइन गाई फार्मकै लागि भनेर सामुदायिक बनको करिब तीन हजार रोपनी जंगल समेत फाँडेर घाँस र गाई चरन क्षेत्र बनाइएको थियो ।
६ सय गाईका लागि बनाइएको अत्याधुनिक गोठमा अहिले कुनै गाई भने छैनन् । नेपाल डेरि उद्योग संघका पुर्व उपाध्यक्ष रहेका रामकुमार खड्का कालिञ्चोक काउफार्म एण्ड रिसर्च सेन्टरका प्रमुख हुन् । गाई फार्म निर्माण अलपत्र पारेर खड्का भने सम्पर्कविहीन छन् ।
२०७२ सालको भुकम्पले क्षति पुर्याएपछि गाई फार्म बन्द भएको हो । क्षति पुगेको भौतिक संरचनाको पुन निर्माण गर्न छाडेर खड्का फरार छन् । उनले आफुले गरेको लगानी उठाइसकेको कारण गाई फार्म निर्माणलाई वास्ता नगरेको स्थानीयहरुले बताएका छन् ।
गाई फार्म संचालन भएपछि जंगल फाँडेर घाँस खेतीका लागि बनाइएको बारिमा रिसर्च सेन्टरका प्रमुख खड्काले आलु खेती गरेको त्यसबाट आर्थिक लाभ लिएको समेत स्थानीयहरु बताउँछन् । हाल फार्ममा बनेको अधिकांश संरचनाहरु अलपत्र रहेका छन् ।
फार्म निर्माण भएपछि दैनिक डेढ लाख दुध उत्पादन गरिने लक्ष्य रहेको थियो । तर, निर्माण अलपत्र पर्दा हाल गाई पाल्ने उद्धेश्यले निर्माण भएको फार्ममा १० वटा बाख्रा र तीनवटा कुकुर रहेका छन् । गाईफार्मको हेरचाह गर्नका लागि विश्व तामाङ कुरुवाको रुपमा बसिरहेका छन् ।
मुडे–चरिकोट राजमार्गको हलहलेबाट करिब ५ किलोमिटर पहुँचमार्गसहित फार्ममा करिब ११ करोड लगानी भइसकेको बताइन्छ।