
काठमाडौँ, माघ ७ । मकवानपुरको दामनस्थित एभरेष्ट प्यानारोमा रिसोर्टमा बेहोस अवस्थामा भेटिएका ८ भारतीयको मृत्यु भएको छ । भारतको केरलाबाट नेपाल घुम्न आएका १५ जना भारतीय नागरिकहरु गएराति दामनको एभरेस्ट प्यानारोमा रिसोर्टमा बसेका थिए ।
रिसोर्टमा बसेका १५ जनामध्य ८ जना एउटै कोठमा सुतेका थिए । राति सुत्दा हिटर बालेर सुतेको र बिहान अचेत भेटिएको जिल्ला प्रशासन कार्यलय मकवानपुरका सुचना अधिकारी देव चन्द्र गर्तौलाले दियोपोस्टलाई जानकारी दिएका छन् । बिहान आठै जना बेहोस भेटिएपछि तत्काल कैलाश एयरको हेलिकप्टरमार्फत उनिहरुलाई काठमाडौँ स्थित ह्याम्स हस्पिटल लगिएको गर्तौलाले बताए ।
हस्पिटलको आकस्मिक कक्षमा उपचार गराइरहेका आठै जनालाई मृत घोषणा गरेको हो । उनिहरुको शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल लैजाने तयारी भइरहेको अस्पतालका एक कर्मचारीले बताएका छन् ।
मकवानपुरका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टका अनुसार बेहोस हुने ४ जना बालबालिका रहेका छन् । उनले दिएको जानकारी अनुसार भारत केरलाका ३८ बर्षीय रंजित कप, सोही ठाउँका ३४ बर्षीय इन्द्र, ३७ बर्षीय प्रविण, ३२ बर्षीय सरिया, ५ बर्षीया अभि, ७ बर्षीया अर्जना, ५ बर्षीय देशनब र ९ बर्षीय बज्रा रहेका छन् ।