दुबई मानव तस्करी गर्ने कोमलको धन्दा अझै रोकिएन : वर्किङ भिषाको नाममा असुली शुरु !

diyopost.com
दियो पोस्ट  सोमबार, माघ १०, २०७८ | १५:५६:०९

 

काठमाडौं । भिजिट भिषाको नाममा नेपालबाट दुबई मानव तस्करी गर्दै आएको गिरोहका नाइके कोमलराज उपाध्यायबारे समाचार सार्वजनिक भइरहँदा पनि उनको ठगीधन्दा रोकिएको छैन ।

उनको स्वामित्व रहेको त्रिनेत्र म्यानेजमेन्ट एण्ड कन्सल्टेन्सीले दुबईमा सयौँ नेपालीलाई विचल्ली बनाएको छ । यस विषयमा तथ्य प्रमाणसहित दियोपोस्ट डटकमले समाचार प्रकाशन गरेको थियो ।

त्यसपछि अन्य सञ्चारमाध्यमले पनि खबर प्रकाशन गरेका थिए । आज सोमबार कान्तिपुर दैनिकले समेत कोमलको धन्दाबारे विस्तृत रिपोर्ट प्रकाशन गरेको छ ।

 

तर, यो अवधिमा पनि उनले ठगी भने रोकेका छैनन् । उनले आफ्नी श्रीमति रञ्जना ढकाल प्याकुरेलको नाममा रहेको बैंक एकाउन्टमा पैसा जम्मा गर्न लगाउने र दुबई भिजिट भिषामा पुर्याएर रोजगारी लगाइदिन्छु भन्दै प्रलोभन पार्न छाडेका छैनन् ।

दियोपोस्ट डटकमको सम्पर्कमा आएका केही पीडितका अनुसार उनीहरुबाट पनि कोमलले रकम ठगी गरिसकेका छन् ।

 

प्राप्त कागजात अनुसार गत मंसिर २९ गते  एक युवाले कोमलराज प्याकुरेलको सानिमा बैंकको एकाउन्टमा ५० हजार रुपैयाँ जम्मा गरिदिएका छन् ।

भिजिट भिषामा लैजाने प्रलोभन देखाएको यो समुहले पछिल्लो समय समाचार सार्वजनिक भएपछि भिजिटमा लान नसकिने र वर्किङमा जसरी पनि दुबई पुर्याउने प्रलोभन देखाएको छ ।

 

‘भिजिटमा त लैजान सकिन्न वर्किङमा लगिन्छ भनेर भनेको छ ।

आएका समाचार सबै झूटो हो भनेर हामीलाई भनिएको छ,’ ती युवाले दियोपोस्टसँग भने,‘पैसा कसरी फिर्ता लिने भन्ने विषयमा सोचिरहेको छु । २ महिना भइसक्यो हुन्छ हुन्छ भन्दै झूलाइरहेका छन् ।’

 

नेपालमा रहेको द लिंक फर रिक्रुटमेन्ट कन्सल्टेन्सी’ नामक म्यानपावर कम्पनिका दलाल बताउने व्यक्तिले अहिले पनि दुबई पुर्याउने आश्वासन दिइरहेका छन् ।

 

यो कम्पनि पनि कोमलकै हो । ९८४८०७७५८३ नम्बरबाट फोन गरेर उनीहरुले छिट्टै दुबई पुर्याउने प्रलोभन बाढिरहेका छन् ।

 

त्यस्तै तिलक डिसीले पनि आफ्नो भाईले रञ्जना ढकाल प्याकुरेललाई एक लाख रुपैयाँ दिएको र ठगीबारे थाहा पाएपछि पैसा फिर्ता माग्दा फेसबुकबाटै ब्लक गरेको बताए ।

 

आज प्रकाशित कान्तिपुर दैनिकको खबर अनुसार एक सय ११ जना नेपालीहरुलाई प्याकुरेलले क्याम्पमा बन्धक बनाएर राखेका छन् । उनीहरुलाई कुटपीट गर्ने, सिढिमा सुताइने र यातना दिइने गरेको छ । यातनाकै कारण सिन्धुपाल्चोकका एक युवा मानसिक रोगको शिकार हुनुपरेको छ ।

सम्बन्धित खबर