प्रभु बैंकको ऋण अपचलनमा चन्द्र ढकाल : चन्द्रागिरीको पाखो धितो राखेर १ सय ७० करोड ऋण !

दियोपोस्ट संवाददाता  

 

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले प्रभु बैंक भित्र भएको ऋण अपचलन, हुण्डी र बैंकिङ कसुर लगायतको मुद्दामा अनुसन्धान गरिरहेको छ । सीआईबीले अनुसन्धानका लागि तत्कालिन प्रमुख कार्यकारी अधिकृत अशोक शेरचन सहितका उच्च अधिकारीलाई पक्राउ गरेर अनुसन्धान गरेको थियो । तर, विशेष सरकारी वकिल कार्यालयको सेटिङमा शेरचनसहितका अभियुक्तहरु रिहा भएपछि सीआईबीले अनुसन्धानलाई थाँती राखेको थियो । प्रधानमन्त्रीको रुपमा बालेन शाह निर्वाचित भएपछि प्रधानमन्त्री कार्यालयमा तत्कालिन जिल्ला सरकारी वकिल कार्यालयका प्रमुख रामहरी काफ्ले शर्मा र विशेष सरकारी वकिल कार्यालयका प्रमुख मोहनसागर बश्याललाई झिकाएरै कारबाहीको चेतावनी दिइएको छ ।

प्रभु बैंकको मुद्दा रिङाइदिने भन्दै साँझमा प्रभु बैंककै वकिलसँग भेटघाट गरि अस्वभाविक साँठगाँठ देखिएपछि बस्याललाई सरुवा गरिएको थियो । प्रभु बैंकमाथि सीआईबीले अनुसन्धान गर्दा अन्य व्यक्ति समेत तानिने डरले मुद्दा प्रभावित बन्न पुगेको पाइएको छ । विशेषगरी नेपाल उद्योग वाणिज्य महासंघको अध्यक्ष समेत रहेका चन्द्र ढकाल समेत प्रभु बैंकको ऋण अपचलनमा मुछिएका छन् ।

उनको स्वामित्व रहेको चन्द्रागिरी हिल्स लिमिटेडले प्रभु बैंकको १७० करोड रुपैयाँ भन्दा बढी रकम ऋण अपचलन गरेको पाइएको छ । चन्द्रागिरीको पाखामा रहेको करिब १०३ रोपनी जग्गालाई ओभरभ्यालु गरेर बैंकहरुबाट शुरुमा ऋण लिएको पाइएको छ । स्थानियसँग कौडीको भाउ (केही) लाखमा किनेर करोडौ रुपैयाँ थैली कायम गरेर विभिन्न बैंकबाट २ सय २० करोड ऋण निकालिएको पाइएको हो ।

आर्थिक वर्ष २०७६।७७ को अपरिस्कृत लेखा परिक्षण प्रतिवेदन अनुसार चन्द्रागिरी हिल्सले कुल ३४ करोड ९८ लाख ९५ हजारमा स्थानियबाट १ सय ६ रोपनी ९ आना जग्गा खरिद गरेको उल्लेख छ ।

परियोजना निर्माणका लागि ढकाल समुहले साविक थानकोट —१ ख, थानकोट महादेवस्थान, फाखेल—६ मकवानपुर लगायत क्षेत्रको जग्गा कोडीको भाउमा खरिद गरेको थियो । चन्द्रागिरीदेखि मकवानपुरको पाखामा रहेको १ सय ६ रोपनी, ९ आना २ दाम जग्गालाई थैली ठूलो देखाएर पुनर्मुल्यांकन गरि दृष्टिबन्धक राखेर विभिन्न बैंकबाट ऋण लिइएको पाइएको हो ।

सिटिजन बैंकको नेतृत्वमा सहवित्तियकरण बैंकहरु साविक नेपाल ईन्भेष्टमेन्ट बैंक, सानिमा बैंक, सनराईज बैंक, साविक मेगा बैंक, र प्रभु बैंकले ऋण लगानी गरेका थिए । सन् २०१४ मे ०२ र सन् २०१६ मार्च ३१ म भएको ऋण सम्झौता अनुसार यो परियोजनामा बैंकहरुले २ अर्ब २० करोड रुपैयाँ आवधिक कर्जा दिएका थिए ।

‘ऋण दिँदा पछि सिर्जना हुने चल अचल सम्पत्तिलाई समेत धितोको रुपमा राखिएको छ । हाल रहेको एक सय ३ रोपनी १३ आना क्षेत्रफलको जग्गा मात्रै दृष्टिबन्धक राखेर रजिष्ट्रसन पारित गरि ऋण निकालिएको छ,’ प्रभु बैंककै उच्च स्रोतले दियोपोस्टसँग भन्यो,‘धितो त सबै चन्द्रागिरीको पाखो हो । त्यो पाखोको मुल्यांकन कहाँबाट २ अर्ब पुग्नु । यही काम गर्दा हाम्रा पूर्वसिइओहरु सिआइबीको फन्दामा पर्नुभयो । अब यो विषय पनि अनुसन्धान हुने हो भने को को जाने हो म भन्न सक्दिनँ ।’

 

गत कार्तिक ११ गते केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) प्रभु समुहका अध्यक्ष देवि प्रकाश भट्टचनलाई ठगी, आपराधिक विश्वासघात, आपराधिक लाभ र नेपाल राष्ट्र बैंक ऐन, २०५८ अन्तर्गत पक्राउ गरेको थियो ।

पीडितहरु ठाकुर प्रसाद मानन्धरसहित जना पीडितको जाहेरीको आधारमा नेकपा एमालेका पूर्व सांसद समेत रहेका भट्टचनलाई सीआईबीले पक्राउ गरि मुद्दा चलाएको थियो । सीआईबीले लामो अनुसन्धानपछि भट्टचनको स्वामित्व रहेको प्रभु म्यानेजमेन्ट र रेमिट्यान्स प्रा.लीले ४ सय ६४ सहकारीको २ अर्ब ४० करोड ३१ लख ८८ हजार ९ सय ५८ रुपैयाँ हिनामिना गरेको तथ्य पत्ता लगाएको थियो । सहकारी विभागले पनि सोही आसयको पत्र पठाएको थियो ।

पक्राउ परेका अभियुक्तहरु मध्ये जयसवाल थरका एक व्यक्तिले हुण्डि कारोबारमा चन्द्र ढकाल नेतृत्वको आईएमई रेमिट समेत संलग्न रहेको बयान दिएका थिए । तर, आईएमई रेमिटमाथि अनुसन्धान भने भएको छैन ।

गत मंसिर १४ गते बैंकिङ कसुर तथा सजाय ऐन अन्तर्गतको कसुरमा प्रभु बैंकका सीईओ अशोक शेरचनसहितका तीन उच्च अधिकारीलाई सीआईबीले पक्राउ गरेको थियो । उच्च अदालत पाटनको पक्राउ अनुमतिको आधारमा ठगी विश्वासघात, तथा नेपाल राष्ट्र बैंक ऐन उलंघनको कसुरमा उनीहरुलाई सीआईबीले पक्राउ गरेको थियो । सीआईबीले भट्टचनसमेत जोडिएको करोडौँ हिनामिना कसुरमा अनुसन्धान गरिरहेकै समयमा २१ पुसमा विशेष सरकारी वकिल कार्यालयको निर्देशनको आधारमा शेरचनलाई हाजीरी जमानीमा छोड्नु परेको थियो ।

हाल सीआईबीले यो अनुसन्धान प्रक्रियालाई पुन अघि बढाएको छ । ढकाल समुहमाथि भएको प्रभु बैंकको अन्य ऋण समेत शंकाष्पद रहेको स्रोतले बताएको छ । ढकालले पाथिभरा केवलकार परियोजनाका लागि पनि एक व्यक्तिसँग ७ लाख २० हजार रुपैयाँमा किनेर बैंक तथा वित्तिय संस्थामा दृष्टिबन्धक राख्ने उद्देश्यले २६ करोड मुल्यांकन गरि राजश्व समेत तिरेको पाइएको छ । चन्द्रागिरीको अधिकांश जग्गामा पाथिभराकै जस्तो किर्ते मुल्यांकन गरि प्रभु बैंकको ऋण अपचलन गरेको स्रोतले जनाएको छ ।

चन्द्रागिरीको पाखो धितो राखेर सिटिजन बैंकबाट ५२ करोड ३८ लाख १७ हजार ९ सय ३४ रुपैयाँ ऋण निकालिएको थियो ।

नेपाल ईन्भेष्टमेन्ट बैंकबाट ४९ करोड ७६ लाख ३६ हजार २२ रुपैयाँ, मेगा बैंकबाट ११ करोड ९९ लाख ९६ हजार २७ रुपैयाँ, सिद्धार्थ बैंक्बाट १० करोड रुपैयाँ, प्रभु बैंकबाट ३४ करोड ९५ लाख ७४ हजार रुपैयाँ, सानिमा बैंकबाट ३४ करोड ९० लाख ६ हजार रुपैयाँ, सनराईज बैंकबाट २४ करोड ९२ लाख ९० हजार गरि २ अर्ब १८ करोड ९३ लाख २० हजार ८ सय ८४ रुपैयाँ ऋण निकालिएको थियो ।

माथि उल्लेखित सबै बैंकबाट प्रभु बैंकमा ऋण सारिएको थियो । प्रभु बैंकले अधिकांश कर्जामा किर्ते मुंल्यांकन गरि धितो पारित गरि ऋण दिएको भेटिएपछि सीआईबीले छानबीन अघि बढाएको थियो ।

अपडेट
प्रकाशित समाचारका विषयमा चन्द्रागिरि हिल्सका अधिवक्ता हार्दिक सुवेदीले खण्डन गरेका छन् । यस्ताे छ उनकाे खण्डन ।

 

 

 

सिफारिस