काठमाडौं । आकर्षक तलबको प्रलोभन देखाउँदै विभिन्न देशमा रोजगारीका लागि पठाइदिने भन्दै ठगी गर्ने चार जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा रौतहटका २९ वर्षीय अनन्त कोईराला, इलामका ४७ वर्षीय जगतबहादुर खड्का, तारकेश्वरका ५४ वर्षीय ज्ञानु श्रेष्ठ र रामेछापका २२ वर्षीय विकास श्रेष्ठ रहेका छन् ।
उनीहरु हाल काठमाडौं र भक्तपुर क्षेत्रमा बसोबास गर्दै आएका थिए। प्रहरीका अनुसार उनीहरूले विभिन्न व्यक्तिलाई विदेश पठाइदिने आश्वासन दिँदै ठूलो रकम असुलेर सम्पर्कविहीन भएका थिए। अनन्त कोईरालाले फिनल्याण्ड पठाइदिने भन्दै एक पीडितबाट ३१ लाख १५ हजार ८७ रुपैयाँ लिएका थिए।
त्यस्तै, जगतबहादुर खड्काले कतार पठाइदिने भन्दै १ लाख ३९ हजार रुपैयाँ, ज्ञानु श्रेष्ठले युएई पठाइदिने भन्दै ३ लाख रुपैयाँ र विकास श्रेष्ठले साईप्रस पठाइदिने भन्दै ९ लाख रुपैयाँ ठगी गरेका थिए।
पीडितहरूको उजुरीका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुको टोलीले उनीहरूलाई फरक–फरक स्थानबाट पक्राउ गरेको हो। जगतबहादुर खड्का काठमाडौं महानगरपालिका-३ बाट बुधबार पक्राउ परेका हुन् भने अनन्त कोईराला, ज्ञानु श्रेष्ठ र विकास श्रेष्ठलाई बिहीबार क्रमशः काठमाडौं महानगरपालिका-२९, काठमाडौं महानगरपालिका-२६ र भक्तपुर नगरपालिका-१० बाट नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
पक्राउमध्ये अनन्त कोईरालालाई थप अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ भने अन्य तीन जनालाई वैदेशिक रोजगार विभाग, ताहाचल काठमाडौं पठाइएको छ।