अतिक्रमित सम्पत्ति ३५ दिनभित्र फिर्ता गर्न त्रिभुवन विश्वविद्यालयद्वारा ३५ दिने अल्टिमेटम

दियोपोस्ट संवाददाता  

काठमाडौँ । त्रिभुवन विश्व विद्यालयले आफ्नो स्वामित्वमा रहेका जग्गा तथा सम्पत्तिमा भइरहेको अतिक्रमण र अवैध कब्जा हटाउन निर्देशन दिएको छ। विश्वविद्यालयले एक सूचना जारी गर्दै त्यस्ता सम्पत्ति ३५ दिनभित्र स्वेच्छिक रूपमा फिर्ता गर्न आग्रह गरेको हो।

सूचनामा उल्लेख भएअनुसार, विश्वविद्यालयको स्वामित्वमा रहेका विभिन्न स्थानका जग्गा तथा संरचनामा केही व्यक्ति, कम्पनी, संघ–संस्था वा निकायहरूले अनधिकृत रूपमा कब्जा, भोगचलन तथा नियन्त्रण गरिरहेको पाइएको छ। यस्ता कार्य विश्वविद्यालयको ऐन, नियम तथा प्रचलित कानुन विपरीत भएको जनाइएको छ।

विश्वविद्यालयले नेपाल सरकारबाट स्वीकृत मापदण्ड तथा व्यवस्थाअनुसार ती सम्पत्तिहरूको संरक्षण र व्यवस्थापन गर्नुपर्ने दायित्व रहेको स्पष्ट पारेको छ। त्यसैले अतिक्रमण गरेर प्रयोगमा रहेका सम्पत्तिहरू ३५ दिनभित्र खाली गरी आधिकारिक रूपमा विश्वविद्यालयलाई फिर्ता गर्न सम्बन्धित सबै पक्षलाई आग्रह गरिएको छ।

सूचनामा तोकिएको समयसीमाभित्र सम्पत्ति फिर्ता नगरेमा प्रचलित कानुनअनुसार कारबाही गरिने चेतावनी पनि दिइएको छ। विश्वविद्यालयले यो निर्णय सम्बन्धित निकायको परिपत्र र आन्तरिक निर्णयका आधारमा गरिएको जनाएको छ।
यस कदमलाई विश्वविद्यालयको सम्पत्ति संरक्षण तथा व्यवस्थापन सुदृढ गर्ने प्रयासका रूपमा हेरिएको छ।