पुरानो र्यापमा प्रयोग भएका ‘हिँजडा’ र ‘छक्का’ शब्दका कारण प्रधानमन्त्री शाह विवादमा, साइबर ब्यूरोमा उजुरी

दियोपोस्ट संवाददाता  

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) विगतको र्याप सामग्रीका कारण विवादमा तानिएका छन्। यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायसँग सम्बन्धित केही व्यक्तिहरुले पुरानो र्याप भिडिओमा प्रयोग गरिएका शब्दप्रति आपत्ति जनाउँदै प्रहरीको साइबर ब्यूरोमा उजुरी दिएका हुन्।

उजुरीकर्ताहरुका अनुसार उक्त र्यापमा प्रयोग भएका केही शब्द महिलाविरोधी तथा यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायप्रति घृणा फैलाउने प्रकृतिका छन्। वन राई (बाबु दुमी), विवेक मगर, मनिन्द्र सिंह दनुवार र रोजी पुनले सामूहिक रुपमा उजुरी दिएका छन्। साइबर ब्यूरोले उजुरीलाई प्रक्रिया अघि बढाउने मौखिक आश्वासन दिएको भए पनि औपचारिक दर्ता भने भइसकेको छैन।

करिब १२ वर्षअघि युट्युबमा अपलोड गरिएको बालेन र लिटल ग्रिजलबीचको र्याप ब्याटलप्रति आपत्ति रहेको उनीहरुले जनाएका छन् । उक्त भिडिओमा अश्लील, स्त्रीद्वेषी तथा तेस्रोलिंगी समुदायलाई अपमानित गर्ने शब्द प्रयोग भएको दाबी गरिएको छ। हालै सामाजिक सञ्जालमार्फत प्रधानमन्त्रीमाथि अश्लील टिप्पणी गरेको आरोपमा एक व्यक्ति पक्राउ परेपछि यो र्याप पुनः चर्चामा आएको हो।

‘सङ्स नेपाल’ नामक युट्युब च्यानलमार्फत सार्वजनिक उक्त भिडिओले हालसम्म १ करोड ५० लाखभन्दा बढी भ्यूज प्राप्त गरिसकेको छ। सो र्याप ब्याटलमा दिवंगत र्यापर यमबुद्ध पनि देखिएका छन्। यसअघि बालेनले एक अन्तरवार्तामा र्याप ब्याटलमा अश्लीलता सामान्य पक्ष भएको र यसले प्रस्तुति प्रभावकारी बनाउन मद्दत गर्ने धारणा व्यक्त गरेका थिए।

उजुरीमा र्यापमा प्रयोग भएका ‘हिँजडा’ र ‘छक्का’ जस्ता शब्दले यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायको मानमर्दन गरेको उल्लेख गरिएको छ। साथै, सार्वजनिक पदमा रहेका व्यक्तिसँग सम्बन्धित यस्ता सामग्रीले महिला तथा अल्पसंख्यक समुदायविरुद्ध भेदभाव र असुरक्षाको वातावरण सिर्जना गर्न सक्ने दाबी गरिएको छ।

उजुरीकर्ताहरुले उक्त भिडिओ हटाउन, सार्वजनिक रुपमा माफी माग्न र उचित क्षतिपूर्ति दिन माग गरेका छन्। साथै, भिडिओबाट प्राप्त आम्दानीलाई यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायको सशक्तीकरणका लागि प्रयोग गर्नुपर्ने माग पनि उनीहरुले अघि सारेका छन्।

 

 

सिफारिस