
काठमाडौं । नेपाल पत्रकार महासंघको चौथो पूर्ण बैठक हेटौँडाको एभोकाडो एण्ड अर्किड रिसोर्टमा जारी छ । चैत्र २८ गते शनिबारदेखि जारी बैठकमा एक महिला केन्द्रिय सदस्यमाथि महिला हिंसाजन्य दुर्व्यवहार भएको पाइएको छ ।
महासंघको केन्द्रीय सदस्य विकास प्रसाद बञ्जाडेले मदिराले लठ्ठिएर महिला संचारकर्मी समेत रहेकी एक पत्रकारलाई संवेदनशिल अंगमा हात लगाउनेदेखि चरम दुर्व्यवहार गरेपछि उनी बसेको होटलमा प्रहरी परिचालन गरिएको छ ।
शनिबार साँझ बञ्जाडेले ती पत्रकारलाई हात लगाउने कार्य गरेपछि महिला पत्रकारले २ झापड लगाएको सहभागी एक पत्रकारले बताए । घटनाको विषयमा पीडित महिला पत्रकारले प्रहरीको कन्ट्रोल नम्बर १०० मा फोन गरेर मौखिक उजुरी गरेपछि प्रहरी आएको थियो । तर, प्रहरी त्यहाँ पुग्दा उनी अगाडी नै भागेर कपिलवस्तु पुगेकाे पाइएकाे छ ।
बञ्जाडेले यस अघि गत असारमा पोखरामा सम्पन्न केन्द्रिय समितिको बैठकमा समेत छुन खोज्ने, ‘चेली’ भन्दै नजिक हुन खोजेको पीडितले बताइन् ।
होटलका एक कर्मचारीका अनुसार बञ्जाडेले दिउँसैदेखि काउन्टरमा कार्यरत कर्मचारीसंग रक्सी माग्दै खाइरहेका थिए । ‘रक्सीले मात्तिएर दिउँसै देखि मलाई छुने प्रयास भएको थियो । साँझ खानाखानेबेलामा त पराकाष्ठ नै भएपछि मैले प्रतिवाद गरेँ,’ पीडित महिला पत्रकारले भनिन्,‘मैले यो पीडा सहनै सकेको छैन । मैले प्रहरीलाई खबर गर्ने भनेपछि उ रातारात भागेर कपिलबस्तु पुगेको रहेछ ।
महिला पत्रकारमाथि दुर्व्यवहार गर्ने बञ्जाडे नेपाल टेलिभिजनबाट कपिलवस्तुबाट रिपोर्टर समेत हुन् ।