३ लाखमा किनेको जग्गालाई २६ करोड बनाएर बैंक डुबाउने खेल : पाथीभरा केवलकार कसरी बन्दै छ ‘स्क्याम’

दियोपोस्ट संवाददाता  

काठमाडौं । चन्द्रागिरी हिल्स निर्माणका नाममा ‘चन्द्रागिरीको पाखो धितो’ राखेर २ सय २० करोड ऋण लिन सफल भएका आईएमई समुहका अध्यक्ष चन्द्र ढकाल संलग्न रहेको अर्को परियोजनामा जग्गाको अस्वभाविक मुल्यांकन गरिएको पाइएको छ ।

तत्कालिन प्रधानमन्त्री केपी ओलीका अति निकट व्यापारी ढकालको नेतृत्वमा धार्मिक पर्यटकीय क्षेत्र ताप्लेजुङको पाथीभरा क्षेत्रमा केवलकार सञ्चालन गर्ने परियोजनामा जग्गा खरिदमा व्यापक अनियमितता भएको पाइएको हो । पाथीभराको तल्लो फेदीमा केवलकारको ‘बेस स्टेशन’ बनाउन किनिएको जग्गा ७ लाख २० हजार रुपैयाँमा किनेर २६ करोड रुपैयाँ भन्दा बढी मुल्यांकन गरि राजश्व तिरेको पाइएको छ । विशेषगरी प्रोजेक्ट सम्पन्न हुनुअघि नै बैैंकबाटै अर्बौं रुपैयाँ निकाल्ने र मुख्य माफियाहरु रातारात अर्बपति बन्ने योजनामा यसरी जग्गामा अस्वाभविक मुल्यांकन भएको हो ।


केवलकार संचलनका लागि बटमस्टेशन बनाउनका लागि स्थानिय ध्रुवनारायण श्रेष्ठसँग फुङ्लिङ ९ तिरिङ्गेमा रहेको उनको नाउँको तीन वटा कित्ताहरु ७४७, १०५६, र १०९७ का ५९ रोपनी जग्गा तत्कालिन केवकालर परियोजनाका मालिक तथा पूर्वप्रधानमन्त्री केपी ओलीका पूर्वस्वकिय सचिव पुष्पराज बरुवालको समुहले ७ लाख २० हजार रुपैयाँमा खरिद गरेको देखिन्छ । २०७४ साल मंसिर २९ गते भएको यो जग्गाको कारोबारमा जग्गाधनी रहेका ध्रुवनारायण श्रेष्ठले पाथिभरा केवलकार कम्पनिका तर्फबाट हालसमेत संचालक रहेका ईश्वरी पौडेल समेत खरिद कर्ताको रुपमा छन् । ५९ रोपनी १५ आना जग्गाको मुल्य जम्मा ७ लाख २० रुपैयाँ राखेर जग्गा पास भएको देखिन्छ ।

त्यसपछि २०७७ साल भाद्र १८ गते लक्ष्मि प्रसाद मित्तलको नाममा दुई वटा कित्ताका २९ रोपनी जग्गा विक्री हुन्छ । तर, यो जग्गाको मुल्य भने अस्वभाविक देखाइएको छ अर्थात २६ करोड १० लाख रुपैयाँ । अर्थात शुरुमा बरुवाल समुहले यो जग्गा खरिद गर्दा प्रतिरोपनी १२ हजार २ सय ३ रुपैयाँमा खरिद गरेको देखिन्छ । तर, यही जग्गा लक्ष्मि मित्तल नाममा राजिनामा पास हुँदा प्रतिरोपनी ९० लाख रुपैयाँ पर्न गएको छ ।

कित्ता नम्बर १०९५ को १५ रोपनी जग्गा पनि हरि प्रसाद नेपालको नाममा ३ करोड ७५ लाख रुपैयाँमा राजिनामा पास भएको छ । आश्चर्य त के भने जग्गा विक्रेताको रुपमा उल्लेखित ताप्लेजुङ फुङलिङ ५ का धु्रुवनारायण श्रेष्ठकै नाममा पाथिभरा केवलकार प्रा.ली शुरुमा दर्ता भएको देखिएको छ । उद्योगको शुरुको कुल पुँजी ८ करोड ८४ लाख ८७ हजार रुपैयाँ रहेको देखिन्छ भने स्थिर पुँजी ८ करोड ४ लाख २२ हजार रुपेयाँ देखिएको छ । त्यस्तै चालु पुँजी ८० लाख ६५ हजार देखिएको छ । कम्पनिको कुल पुँजी, स्थीर पुँजी र चालु पुँजी भन्दा महँगोमा तीन वटा कित्ताको जग्गा विक्री भएको कागजातले नै देखाउँछ ।

 


अघिल्लो पटक श्रेष्ठसँग खरिद गरिएको ७ लाख २० हजार रुपैयाँको ५९ रोपनी जग्गा मध्ये २९ रोपनी जग्गाको मुल्य ३ लाख ५३ हजार रुपैयाँ हुन आउँछ । तर, यही जग्गालाई बरुवाल समुहले पाथिभरा केवलकार निर्माण गर्ने पछिल्लो समुहलाई विक्री गर्दा भने २६ करोड १० लाख रुपैयाँ असुली गरेको सरकारी कागजातले नै देखाउँछ ।
शुरु अध्यक्ष श्रेष्ठ हुँदै, यति समुहका सोनाम शेर्पा र हाल यो परियोजना आईएमई समुहले लिएको छ । आईएमई समुहले लिएपछि विभिन्न बैंक तथा वित्तिय संस्थाले यसरी किर्ते मुल्यांकन गरि मुल्य बढाइएको जग्गालाई नै धितो राखेर ऋण दिने प्रक्रिया समेत शुरु भइसकेको छ ।

केवलकार सञ्चालनका लागि फुङलिङ नगरपालिका–११ को काफ्ले पाटीका अधिकांश जग्गालाई यसरी नै अस्वभाविक मुल्यांकन गरेर राजश्व तिरिएको छ ।

जग्गा विक्रेता बरुवालको रहस्यमयी रुपमा अमेरिकामा मृत्यु भइसकेको छ । पूर्वप्रधानमन्त्री ओलीका तर्फबाट तत्कालिन यति होल्डिङसँगको मिलेमतोमा यो परियोजना शुरु गरिएको थियो ।

जग्गाको बढि मुल्य राखेपछि बैंकबाट प्रोजेक्ट ऋण हरुमा धितोको १ सय प्रतिशत नै ऋण निकाल्ने प्रचलन छ । कतिपयले ८० प्रतिशतसम्म ऋण दिने गरेका छन् । ढकाल समुहले परियोजनालाई महँगो देखाएर आईपिओ निष्काशन गर्ने र सर्वसाधरणलाई बेवकुफ बनाएर फसाउँदै आएको छ । चन्द्रागिरीमा प्रोजेक्ट बनाउँदै गर्दा अर्बौं रुपैयाँ नाफा भएपछि शेयर होल्डर भित्र्याउँदै अन्तिममा आईपिओमा लगिएको थियो । अहिले चन्द्रागिरी घाटामा संचालित छ । तर, शुरुमा भने यो परियोजनाको सेयर निकै विक्री भएको थियो ।


‘केवलकार परियोजनामा खरिद भएका जग्गा मुल्य ९० लाख रुपैयाँ बैंकले लगानी गर्ने हुन् । जग्गा देखाएर नै यो पैसा माफियाले कमाउने हुन् । अर्को तर्फ यो परियोजनालाई ठूलो बनाएर बैंकबाट ३ अर्ब हाराहारी पैसा निकालिँदैछ,’ नाम उल्लेख नगर्ने शर्तमा एक अडिटर भन्छन्,‘जग्गा सरकारको, पैसा लगानी पनि बैंकमा भएको सर्वसाधारणको नै हो । ३ लाखमा किनेको जग्गालाई २६ करोड रुपैयाँ बनाइएको भन्ने विषय नै अनुसन्धानको विषय हो । मुलुकी अपराध संहिताले यस्ता विषयहरु छानबीनको बाटो खुला गरेको छ ।’

ढकाल समुहले पाथीभरामा मुकुम्लुङ सभ्यतालाई चुनौती दिँदै केवलकार निर्माण गर्न लागेको भन्दै लामो समय देखि आन्दोलन समेत जारी छ । तत्कालिन प्रधानमन्त्री केपी ओली सरकारले त्यहाँका स्थानिय जनताले गरेको शान्तिपूर्ण आन्दोलनमाथि धरपकड र चरम दमन गरेको थियो । प्रहरी र ढकाल समुहले नै परिचालन गरेको गुण्डाहरुद्वारा स्थानिय २० भन्दा बढि आन्दोलनकारीमाथि आक्रमण भएको थियो । खुकुरी लगायतको हतियारसहित प्रहरी र प्रशासनकै संरक्षणमा स्थानिय आन्दोलनकारीमाथि आक्रमण हुँदा तत्कालिन सरकारले आक्रमणकारीलाई उन्मुक्ति दिएको थियो भने आन्दोलनकारीलाई झुटा मुद्दा लगाएको थियो ।

राजनीतिक परिवर्तनपछि मुलुकमा नयाँ सरकार बनेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका नेता तथा प्रधानमन्त्री बालेन शाहले पाथिभरालाई धार्मिक गन्तव्यको रुपमा विस्तार गर्ने योजना सार्वजनिक गरेपछि ताप्लेजुङवासी न्यायको अनुभूति गर्न थालेका छन् ।

अपडेट
प्रकाशित समाचारका विषयमा चन्द्रागिरी हिल्सका अधिवक्ता हार्दिक सुवेदी खण्डन गरेका छन् ।

 

 

प्रभु बैंकको ऋण अपचलनमा चन्द्र ढकाल : चन्द्रागिरीको पाखो धितो राखेर १ सय ७० करोड ऋण !

‘नदीनाला कसका ?’ फोटो प्रदर्शनीमा मुक्कुमलुङ–पाथीभराको व्यथा !

व्यापारको नाममा ‘मुन्धुम’ सभ्यताको विनाश गर्दै चन्द्र ढकाल !

पाथीभरामा अभियान्तामाथि खुकुरी हान्ने अभियुक्तलाई ‘अभद्र’को मुद्दा लगाएर उन्मुक्ति

सिफारिस