काठमाडौं । गत मंसिर २८ गतेदेखि पुस ७ गतेसम्म काठमाडौंको बबरमहलस्थित नेपाल कला परिषद्मा “नदीनाला कसका ?” विषयक फोटो प्रदर्शनी भयाे । फोटो सर्कलले आयोजना गरेको कला प्रदर्शनीमा विकासको नाममा प्रकृतिको दोहन र यसले पारेको प्रभावलाई कलाका विभिन्न विधामार्फत् प्रस्तुत गरियाे । गोदावरी मार्बल उत्खननदेखि पछिल्लो समय चर्चामा रहेको पाथिभार केबलकार निर्माणले पर्यावरणमा पारेको असर प्रभावको कथालाई तस्बिरमार्फत कलात्मक रुपमा देखाइएको थयाे।
ललितपुरको गोदावरीमा मार्बल उत्खनन गर्न सिङ्गो डाँडा नै ओगटिएको थियो। यसको कथा के थियो ? ताप्लेजुङको मुक्कुमलुङको कथा के हो ? त्यहाँ नयाँ केबलकार परियोजना निर्माणका लागि फाँडिएको वन जोगाउन अहिले पनि स्थानीय किन सङ्घर्षरत छन ? आखिर वन कसको हो?
उदयपुरको जोगी दहको विकासको कथा के हो ? ३० वर्षदेखि यहाँका राजनीतिक दलका नेताहरूले आफ्ना मतदातालाई नयाँ विमानस्थल बनाइदिने वाचा गर्दै आए पनि त्यसका लागि १५६ हेक्टर जंगलका रूखबिरुवा फँडानी गरेर आएको काठपात बेच्नेबाहेक अरू केही गरेका छैननन् । ती रूखबिरुवा कसका हुन् ? सुनकोसीको विकासको व्यथा के हो ? यस नदीलाई सिँचाइ र जलविद्युतका लागि बाँध लगाउने र अन्तै डो¥याउने काम मात्रै भएको छ । यो नदी कसको हो ? उक्त कला प्रदर्शनीमा यी र यस्ता थुप्रै प्रश्न गरिएका छन् जुन कथित विकास र समृद्धिको भाष्यमा भइरहेको प्राकृतिक सम्पदाको दोहनसँग सम्बन्धित छन् ।
यी मध्येको एक हो ताप्लेजुङको मक्कुमलुङको विषय । जो पाछिल्लो समय निक्कै चर्चामा छ । पाथिभारा केबलकार निर्माण गर्ने कि नगर्ने भन्नेमा नै अहिले विवाद भइरहेको छ । स्थानीयको विरोधमा मात्र सीमित छैन, यो विषय सर्वोच्च अदालतसम्म पुगेको छ । ताप्लेजुङको छिमेकी जिल्ला, पाँचथरको फालेलुङ गाउँपालिका–१ का आइन्द्रकुमार लिम्बूले केबलकार निर्माण रोक्न माग गर्दै २०७७ फागुन ३ गते सर्वोच्चमा रिट दायर गरेका थिए । तर पटक–पटक पेसीमा चढेर पनि सो रिटमाथि अन्तिम सुनुवाइ हुन सकेको छैन । रिटमा त्यो ठाउँमा केबलकार निर्माणले धार्मिक आस्थाको मुन्धुमी स्थल, ऐतिहासिक एवम् पुरातात्विक महत्व र सांस्कृतिक मूल्यमान्यता, परम्परा, पहिचान तथा अस्तित्व तोडमोड हुने दाबी गरिएको छ ।
मक्कुमलुङ कि पाथीभारा ?
मुक्कुमलुङ ताप्लेजुङस्थित पाथीभाराको रैथाने मुन्धुमी नाम हो । याक्थुङ–लिम्बुहरुले मक्कुमलुङलाई पवित्र शक्तिदायक मुन्धुमी लुङ अर्थात् चट्टानको अद्धितीय शृ.खला मानेर पुज्ने गर्छन् । पाथीभारा क्षेत्र विकास समिति गठन आदेश २०५३ मार्फत समिति गठन भएपछि याक्थुङ–लिम्बहरुको किपट भूमि, मुन्धुमी सम्पदा, नाम र अपनत्व राज्यको मातहतमा राखियो । २०५८ सालमा मुक्कुमलुङ शिरमा दुर्गा देवीको मूर्ति स्थापना गरियो । पहाडको नाम पाथीभरा र शिरमा बस्ने पाथीभरा माताको रुपमा महिमा चुल्याइयो ।
२०७५ सालदेखि याक्थुङ–लिम्बुहरुले पाथीभारा होइन मुक्कुमलुङ र पाथीभरा देवी होइन युमा माङ भन्दै भूमि र सम्पदासँगको स्वत्व बोध फर्काउने सामूहिक संघर्ष थाले । राज्य, राजनीतिक दल, प्रशासन, सुरक्षा निकाय र केबलकार निर्माण कम्पनीसँग संवाद, खबरदारी रप्रतिरोध गर्नाका लागि मुक्कुमलुङ संरक्षण संयुक्त संघर्ष समिति गठन गरियो , अहिले पाथीभरा–मुक्कुमलुङ, मुक्कुमलुङ–पाथीभरा जस्ता शब्दावली बोलीचाली र लेखनमा पनि प्रयोग हुदै आएका छन् ।
मुक्कुमलुङ–पाथीभरा जंगलमा के छ ?
नेपालमा पाइने ३२ प्रजातिमध्ये २६ प्रजातिका गुराँसलगायत अनेकौं जडीबुटी, वनस्पति र बहुमूल्य खनिज तत्वहरु मुक्कुमलुङ–पाथीभरा क्षेत्रमा पाइन्छन् । नेपालमा मात्रै पाइने काँडेभ्याकुर, विश्वमा दुर्लभ वन्यजन्तु रेड पाण्डा, कालो भालु, मृग, घोरल र काजिल डाँफेलगायतका पशुपंक्षीहरु पाइने गर्छन् भने ।
आज भन्दा करिब २० वर्षअघि मुक्कुमलुङमा थरीथरीका बनस्पति र जडिबुबटीहरुको फुल्ने, फल्ने, झर्ने र फेरि उम्रिने चक्र चलिरहन्थ्यो । ठाउँ–ठाउँमा पोखरी र पानीका मुहान भेटिन्थे । तर अहिले चौतर्फी विनाश चलिरहेको छ भन्दै उनीहरु खेद मानिरहेको फोटो प्रदर्शनीमा देख्न सकिन्छ ।
मजदुर र भरियाका कथा
२०६३ सालदेखि नै सामान र मान्छे बोकेर जीविका चलाउदै आएकी स्थानीय याक्थुङमा लिम्बु (नाम परिवर्तन)ले पाथीभराको चुलिदो महिमासँगसँगै आएको परिवर्तन भोग्दै अनि देख्दै आएकी छन् । तिर्थालुहरुको घुइँचो बढ्दै जाँदा दैनिक उपभोगका वस्तु तथा आवश्यक निर्माणसामग्री ओसारपसारको काम बन्यो ।
विभिन्न जिल्लाहरुबाट मजदुर आउन थाले र उनी जस्तै धेरै मजदुरले ३१०० मीटरमा रहेको काफ्लेपाटीबाट ३ हजार ७ सय ९४ मिटर उचाईमाथि उक्लिनुपर्दा लेक लाग्ने र चढ्न नसक्ने बच्चा, पाका, स्वास्थ्य समस्या भएकाहरुलाई बोकेर शिरसम्म बोकिदिने र काप्लेपाटीसम्म सुरक्षित झार्ने काम पाउन थाले । उनले भरिया–मजदुरी गरेरै सँगालेको पैसाले काफ्लेपाटीमा होटल खोलिन् पसल चलाउने र भारी खेप्ने काम दुबै अघि बढाइन् ।
केबलकारः इच्छित कि वर्जित ?
२०७७ सालमा केबलकार परियोजना शुरु गर्न कम्पनी निर्माणस्थिल पुग्यो । आन्दोलनरत पक्षले रोक्यो । जिल्ला प्रशासन, सुरक्षा निकाय, वन विभाग र राजनीतिक दलको रोहबरमा दुईपक्षबीच स्थानीइहरुको सहमतिबिना कुनैपनि काम अघि नबढाउने सहमति भयो । केबलकार खारेजी संयुक्त संघर्ष समिति पनि गठन भयो । सहमतिविरुद्ध कम्पनीले काम गर्न थालेपछि युवाहरुको एक समूह चौबिसै घण्टा बलुडाँडामा तैनाथ रहन थाल्यो ।
२०८१ कार्तिक २३ गते केबलकार निर्माण कार्यको शिलन्यास गर्ने क्रममा काफ्लेपाटीमा दुबै पक्षबीच मुठभेड भयो । केबलकार बनाउन नदिने र बनाइछाड्ने पक्षका व्यक्ति सुरक्षाकर्मी र मजदुरसहित ६ जना घाइते समेत भए । घटनालगत्तै पाथीभरा केबलकार परियोजना शिलल्यास भएको र १५ महिनाभित्रै केबलकार सन्चालनमा ल्याउने जस्ता समाचार सार्वजनिक भए ।
०००
केबलकार कम्पनीका मालिक चद्र ढकालले विकासका नाममा आफ्नो सांस्कृतिक मूल्यमान्यतालगायत प्रकृतिको दोहन गर्न खोजेको स्थानीयको अरोप छ । यसमा तोकिएको भन्दा धेरै रुखहरु काटेर राज्य र राज्यका निकायहरु वन फडाँनी गरिरहको मुक्कुमलुङ संरक्षण संयुक्त संघर्ष समितिका संयोजक श्री लिङखिम बताउछन् । उनका अनुसार नेपालको कानुन नै सिमित पुँजीपतिको कब्जामा छ । “पुँजीपतिको कब्जामा नेपालको कानुन अहिलेको अवस्थामा छ । हामी यो हाम्रो पहिचानसहित पर्यावरण जोगाउनका निम्ति कानुनी प्रक्रियामा पनि गयौं तर रिट दायर गरेको ४ वर्ष भइसक्दा पनि स्टे अर्डरसम्म आएको छैन । रातारात प्रहरी सेनाको संरक्षणमा निर्माण कम्पनीका कामदारहरु रुख काट्छन् । के जंगल जोगाउने जिम्मा आदिवासीको मात्रै हो ? उनले प्रश्न गरे ।
आफूहरुको लडाई निर्माण कम्पनीसँगको मात्रै नभई उक्त कम्पनी र कम्पनी मालिकहरुलाई संरक्षण गरिरहेको राज्यसँग पनि भएको उनको भनाई छ । ‘अहिले एक जना युवाले २ घण्टाको समय दिएर रातदिन खटिइरहेको छ । नेपाल सरकारले १० हजार रुख काट्न अनुमति दिएकोमा ६० हजार रुख काटिने स्थिति त्यहाँ छ ।” उनले भने, “राज्य त परको कुरा राजनीतिक दलहरुबाट कुनै प्रकारको सहयोग हामीले पाएका छैनौं । मन्धुमी भूमीमा बिना अनुमति सेना, प्रहरीको गस्ती अहिले पनि बस्तीमा हिड्छ । विकासको नाममा प्रकृति विनास गर्ने कम्पनीलाई नै राज्यको संरक्षण छ । राज्यका निकायको संरक्षण छ । त्यस कारण पनि हाम्रो लडाई राज्य विरुद्ध पनि हो ।’
विकासले ताम्भुङ्माको आत्मालाई मारेको छः कलाकार सारा
कलाकार सारा टुनिच कोइचले ताप्लेजुङको पाथीभरा केबलकार निर्माले ताम्भुङ्माको आत्मालाई मारेको बताइन् । लामो समय ताप्लेजुङको मुक्कामलुङ–पाथीभरामा बसेर अध्ययन गरेकी उनले त्यहाँ केवलकार कम्पनीले हजारौंको संख्यामा लालिगुराससहित ठूल्ठूला पुराना रुखहरु काटेर जंगल फडानी गरेको कुरालाई कलामार्फत प्रस्तुत गर्न खोजेकी छन् । उनले विकासका नाममा हामीसँग भएको हामीले महत्पूर्ण चिजहरु गुमाइरहेको दाबी गरिन् ।
‘ताम्भुङ्माले हामीलाई दिने स्रोत छ । जुन विभिन्न खालका जडिबुटीदेखि लिएर खाने कुरा, हामीलाई चाहिले सास त्यही ताम्भुङ्मा अर्थात् प्रकृतिले नै हामीले दिइरहेको छ । विकासको नाममा हामीले हाम्रो जीवन नै गुमाउदै छौं ।’
कला क्षेत्रमा यस्ता बोल्न नहुने भन्दै सिकाइने र यो कुराहरु गलत भएको समेत उनको तर्क थियो । ‘कला क्षेत्रको कुरा गर्दा हामीले जति पनि कुराहरु सिक्दै आएका छौं त्यहाँ चाहि हामीलाई कुनै पनि मुभमेन्ट (अभियान)को कुरामा लाग्नु हुदैन, बोल्न हुदैन र त्यो सम्बन्धि काम गर्नु हुदैन भनेर सिकाइन्छ । तर एउटा आम मानिसको रोल के हुन्छ समाजमा ? केही गलत भइरहेको कुरामा बोल्ने की नबोल्ने, आवाज उठाउने की नउठाउने ? त्यसैले समाजमा भइरहेका अन्याय, गलत कुराहरुमा आम मानिसको हैसियतले बोल्न जरुरी छ ।’
उनका अनुसार अहिले ताप्लेजुङको मुक्कामलुङ–पाथीभरा क्षेत्रमा डर लाग्दो स्थिति छ । अहिले त्यहाँको अवस्था माओवादी जनयुद्धको जस्तो भएको उनले बताइन् । ‘म त्यो ठाउँमा फिल्ड भिजिटका लागि जाँदा त्यहाँ डर लाग्दो माहोल थियो र अहिले पनि छ । अहिले ताप्लेजुङको त्यो ठाउँमा पहिले माओवादी जनयुद्धको जस्तो अवस्था छ । जस्तो सेना तिर लाग्यो भने माओवादीले केही गर्ने हो की भन्ने र यता माओवादी तिर लाग्यो भने सेनाले केही गर्देला भन्ने त्यहाँका जनताको अवस्था छ । स्थानीयले पातसम्म टिप्न नपाउने जंगलमा हजारौं रुख काट्न दिइएको छ ।’
आन्तरिक उपनिवेशको परिणाम पाथीभारा केवलकारः अनुसन्धानकर्ता कैलाश राई
अनुसन्धानकर्ता कैलाश राईले पाथिभारा केवलकारले विभिन्न पक्षमा नकारात्मक असर पार्ने बताएकी छन् । उनले “नदीनाला कसका ?” विषयक तस्बिर प्रदर्शनी बुधबार सामाजिक, आर्थिकलगायत विभिन्न क्षेत्रमा ठूलो असर पार्ने बताएकी हुन् ।
‘पाथिभारा र मुक्कुमलुङ भन्दा धेरै जसोले अहिले पनि पाथिभारा नै भन्ने बुझ्छौं । म चै यसलाई आन्तिरिक उपनिवेशको परिणाम हो भन्छु । जुन अहिले हामीले झेलिरहेका छौं एउटा त पाथिभारा सबैको हो अझ भनौं नेपालका मात्रै होइन देश विदेशका तिर्थ आउने पर्यटकको रुपमा पनि आउछन् त्यही भएर यो नाम राखिएको सरकारी निकाय, त्यहाँको विकास प्रेमी भनिएकाहरुको बुझाई छ । यता अर्काे मुक्कुमलुङ चाहि लिम्बूहरुको हो भन्ने बुझाई छ । पहिले त यसलाई त्यसरी नै सरकारी दस्तावेजबाट प्रचारप्रसार गरियो, दोस्रो युवा लक्षित कार्यक्रमहरुपछि गरियो र तेस्रो चाहि पाथिभारा माताको महिमागानलाई चुलाइयो र चौथो कुरा मिडिया कन्टेन्ट कलेक्टर । मिडियाले कन्टेन्ट कलेक्सनमा मुक्कुमलुङ होइन पाथिभारा भनेर ल्याइयो ।’ कलाकार साराको कुरालाई समर्थन गर्दै उनले अघि भनिन्, ‘अहिले मुक्कुमलुङका स्थानीयहरु त्रसित वातावरणमा बाँचिरहेका छन् । वैदेशिक रोजगारको आन्तिरिक स्रोतका रुपमा ठूलो भूमिका खेलेको छ। परिवारसँगै बसेर अर्थतन्त्रलाई धान्ने काम पनि यसले गरेको छ । केवलकारले यी कुरालाई विस्थापित गर्ने देखिन्छ भने स्थानीय कृषकहरु पनि मार परेको छन् । त्यहाँ धेरै खाले अन्नबालीहरु उत्पादन हुदैन तर त्यहाँ जे जे हुन्छ त्यो अरु भेगमा पाइनन् । जडिबुटीदेखि विभिन्न गाइबस्तु पाल्नेहरुसम्म किसानसम्म छन् । त्यसले त्यहाँको बजारलाई पर्याप्त मात्रामा पुग्ने उत्पादन दिन सक्छ । यस्ता कुराहरु विस्थापित हुँदै गइरहेका छन् ।’
राईका अनुसार स्थानीय जनप्रतिनिधि नै वन जंगल सखाप पारेर पुँजीपति व्यक्तिको फाइदाका लागि काम गर्न लागी परेका छन् ।
‘अहिले त ताप्लेजुङको विकास हुनलाई पाथिभारा केवलकार हुन जरुरी छ भन्ने भाष्य निर्माण गरिएको छ । एउटा सार्वजनिक कार्यक्रममा त्यहाँको मेयरसाबले चन्द्र ढकाल ज्यू आउनुस्, पाथिभारा केवलकार बनाउनुस् र ताप्लेजुङको विकास गरिदिनुस् भनेर भन्नु भएको थियो । यो वाक्यले नै हाम्रो सरकार, राज्यले के चाहेको छ स्थानीय समुदायसँग भन्ने प्रष्ट हुन्छ । त्यहाँ पुँजीपति व्यक्तिको आर्थिक लगानीमा सरकारी निकाय, प्रहरी, सेना नै पर्यावराण विर्गान खोजिरहेका छन् ।’