
धनगढी । सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टसहित तीन मन्त्री र एक राज्यमन्त्रीले शुक्रबार पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।
प्रदेश प्रमुख नजिर मियाँले मुख्यमन्त्री भट्टलाई पद तथा गोपनीयताको शपथ गराएका हुन् भने मियाँले नै नवनियुक्त तीन मन्त्रीलाई पनि शपथ गराएका छन् ।
नेकपा एमालेबाट आर्थिक मामिलामन्त्रीमा चक्र मल्ल, सामाजिक विकासमन्त्रीमा सन्तोष शर्मा थापा र भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्रीमा दमन भण्डारी नियुक्त भएका छन् ।
यस्तै, मुख्यमन्त्री भट्टले एमालेबाट आर्थिक मामिला राज्यमन्त्रीको जिम्मेवारी पाएकी जानकी ऐरलाई शपथ ग्रहण गरेका छन् ।
मुख्यमन्त्री भट्ट नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का प्रदेशसभा संसदीय दलका नेता हुन् । एमालेको समर्थनमा भट्टले शुक्रबार बिहान प्रदेश प्रमुख मियाँसमक्ष नयाँ मुख्यमन्त्रीका लागि दाबी पेस गरेका थिए । दाबी पेस गरे लगत्तै प्रदेश प्रमुख मियाँले उनलाई मुख्यमन्त्रीमा नियुक्त गरेका थिए ।
संविधानको धारा १६८ को उपधारा २ बमोजिम दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत जुटाउन सक्ने प्रदेशसभा सदस्यलाई मुख्यमन्त्रीमा दाबी पेस गर्न प्रदेश प्रमुख मियाँले बिहीबार साँझ आह्वान गरेका थिए ।