काठमाडौँ विश्वविद्यालयको उपकुलपतिमा विवेक बराल नियुक्त

दियोपोस्ट संवाददाता

काठमाडौँ । काठमाडौँ विश्वविद्यालय (केयू)को उपकुलपतिमा प्रा.डा. विवेक बराल नियुक्त भएका छन् । शुक्रबार विश्वविद्यालयका कुलपतिसमेत रहेका प्रधानमन्त्री बालेन्द्र शाहले बराललाई उपकुलपतिमा नियुक्त गरेका हुन् ।

शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलको नेतृत्वमा गठित छनोट समितिले उपकुलपतिका लागि तीन जनाको नाम सिफारिस गरेको थियो । सोही सिफारिसका आधारमा बराललाई उपकुलपतिमा नियुक्त गरिएको हो ।

बराल काठमाडौँ विश्वविद्यालयको मेकानिकल इन्जिनियरिङ विभागका प्राध्यापक हुन् ।

उपकुलपति पदका लागि ३५ जनाको आवेदन परेको थियो । आवेदन दिएका मध्ये १० जनाको नाम प्रारम्भिक सूचीमा सार्वजनिक गरिएको थियो। छनोट समितिले तीमध्ये तीन जनाको नाम सिफारिस गरेको थियो।