काठमाडौं । ताप्लेजुङको सदरमुकाम फुङ्लिङ वडा नंबर १० मा पर्छ काफ्लेपाटी । काफ्लेपाटीदेखि करिब आठसय मिटर अगाडी छ पाथीभरा केवलकार निर्माणस्थल । शुक्रबार (कात्तिक २३ गते) दिउँसो १ बजे सोही केवलकार स्टेसन निर्माणको शिलान्यास कार्यक्रम राखिएको थियो । संविधानसभा सदस्य तथा नेकपा एमालेका जिल्ला अध्यक्ष डम्बरध्वज तुम्बाहाम्फे, फुङलिङ नगरपालिकाका मेयर अमिर मादेन लगायतको उपस्थितीमा सो कार्यक्रम गर्ने भनिएको थियो । तय भइसकेको कार्यक्रम हुन सकेन । कार्यक्रमस्थल रणमैदान बन्यो,कारण हो-केवलकार निर्माण विवाद ।
पाथीभरामा केवलकार निर्माण गर्ने निर्णयलाई लिएर लामो समयदेखि त्यहाँका स्थानीयबिच फाटो छ । निर्माण गर्नुपर्छ भन्ने एउटा समुह छ भने निर्माण गर्न हुन्न भन्ने अर्को समुह छ । शुक्रबार सोही दुईपक्षबीच झडप भयो । झडपमा प्रहरीसहित ६ जना घाइते भए । केवलकारको बिरोध गर्दै आएका फुङलिङ नगरपालिका–४ का चन्द्र मादेन, फुङलिङ नगरपालिकाका मेयर अमिर मादेनका सवारी चालक दामोदर अधिकारी र पाथीभरा क्षेत्रमा मान्छे बोक्ने काम गर्दै आएका फक्ताङलुङ गाउँपालिका–५ का अर्जुन लिम्बू घाइते भएका छन् ।

जिल्ला प्रहरी ताप्लेजुङका अनुसार केवलकार बनाउने पक्षका मेरिङदेन–४ का कुमार शेर्पा, सशस्त्र प्रहरी निरीक्षक डिगेन्द्र ओली र प्रहरी सहायक हवल्दार अभिनाश माझी सामान्य घाइते भएको छन् । केवलकार निर्माणको विवक्षमा रहेकाहरुमाथि खुकुरी प्रहार भएको थियो ।
चन्द्र ढकालमाथि आरोप
खुकुरी प्रहार गर्ने व्यक्तिहरु निर्माण कम्पनीले भाडामा लिएर आएको विपक्षहरुको आरोप छ । यो केवलकार निर्माण कम्पनी उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालको हो । केवलकार निर्माणको विपक्षहरुले *चन्द्र ढकालकै योजनामा उनीहरुमाथि आक्रमण भएको जनाएका छन् ।
झडप लगत्तै केवलकार खारेजी संघर्ष समिति, मुक्कुमलुङ संघर्ष समितिलगायतका ७ संस्थाले जारी गरेको वक्तव्यमा सो घटनाको जिम्मेवारी चन्द्र ढकाल र सरकारले लिनुपर्ने उल्लेख छ । ‘यस घटनाको जिम्मेवारी चन्द्र ढकाल र सरकारले लिनु पर्दछ । यसका साथै घाइतेहरुको उपचार तथा क्षतिपूर्ति चन्द्र ढकालको कम्पनी र सरकारले गर्नुपर्दछ ।’ जारी विज्ञप्तीमा लेखिएको छ ।
त्यस्तै केवलकार निर्माणको विपक्षमा रहेका डा.कमल तिगेलाले पनि चन्द्र ढकालकै योजनामा यो उनीहरुमाथि आक्रमण भएको बताए । “चन्द्र ढकालको योजनामा प्रहरी प्रशासन समेत विक्रि भएर त्यहाँका केही नगरपालिकाका प्रमुख कुनै पार्टीका अध्यक्ष जस्ता मान्छेहरु विक्रि भएर ह्याल्मेट लगाएका मान्छेहरु प्रहरी प्रशासनकै योजनामा लगेर मान्छेहरु काट्ने काम भएको छ,” डा. तिगेला भन्छन्, ” त्यो कति हिंसात्मक काम हो र त्यसले हामी ‘रुल अफ ल’ अन्तर्गत छौ या एउटा दलाल पुजीँपतिको निर्देशनमा राज्य चल्छ ?”
प्रमुख जिल्ला अधिकारी सिडिओ नेत्र प्रशाद शर्माले भने आफुहरुले कसैको योजनामा परिचालित नहुने बताए । “हामीले को पक्षमा को विपक्षमा हो भनेर हेर्ने होइन । सुरक्षाकर्मीहरु पनि घाइते भएका छन्,” सिडिओ शर्माले दियोपोस्टसँग भने, “हामीले पनि झडप नहोस् भनेर नै चाहेका हौ, कसैको संरक्षणका लागि वा कसैको विरोधका लागि सुरक्षाकर्मी खटाइएको होइन । खुकुरी बोकेर हिड्नेहरुमध्येकै एक जना पक्राउ परेका छन् ।”
कसरी जोडिए चन्द्र ढकाल ?
पाथिभरामा बनाउने भनिएको केवलकार निर्माण कम्पनी चन्द्र ढकाल को हो । २०७२ असोज छ गते पाथीभरा दर्शन केबलकार प्रालिका नामले कम्पनी दर्ता भएको थियो । उक्त कम्पनीका सञ्चालक थिए इश्वरी पौडेल । कम्पनीमा ल्हाक्पा सोनाम शेर्पा, आङ छिरीङ शेर्पा लगायतका व्यापरीहरुको लगानी थियो । उनीहरुले नै पाथीभरामाता केवलकारको खाका बनाएका थिए ।
ल्हाक्पा सोनाम शेर्पासहित उनका भाइ आङ्छिरिङ शेर्पा पहिलेदेखि नै यहाँ केवलकार बनाउन लागिपरेका थिए। यो उनीहरूको ‘ड्रिम प्रोजेक्ट’ जस्तै थियो । पाथीभरा दर्शन केबलकार प्रालिले २०७५ जेठमा नगरपालिकालाई १२ लाख रुपैयाँ राजस्व तिरेर तीन वर्षमा निर्माण सम्पन्न गर्ने गरी ४० वर्षका लागि स्वीकृति लिएको थियो । तर सोही समयदेखि स्थानीयले केवलकार निर्माणको विषयलाई लिएर विरोध गर्न सुरु गरेका थिए ।

विरोधकाबीच तत्कालिन केपी ओली नेतृत्वको २०७५ पुस १६ गतेको मन्त्रिपरिषद् बैठकले ताप्लेजुङको प्रसिद्ध धार्मिक स्थल पाथीभरा मन्दिरसम्म केबलकार निर्माणका लागि कम्पनीलाई वन क्षेत्रको जग्गा प्रयोग गर्न दिने निर्णय गरेको थियो । त्यसैबीच २०७५ फागुनमा आङ्छिरिङको हेलिकप्टर दुर्घटनामा मृत्यु भयो । उनको मृत्युपछि सोचेअनुसार निर्माणको काम काम गर्न सकेनन् । चौतर्फी रुपमा विवाद भैरहँदा चन्द्र ढकाल कम्पनीमा आएका थिए । ल्हाक्पा सोनाम शेर्पासहितको बहुमत सेयर भएपछि ढकालले पछि सबै सेयर हत्याएर कम्पनी आफ्नो नाममा बनाए ।
केवलकार निर्माणको विरोध किन ?
चन्द्र भण्डारीले कम्पनीमा ‘इन्ट्री’लिएर काम थालेसँगै स्थानीयको विरोध थप चर्कीएको हो । त्यसअघी पनि पटक पटक विरोध हुँदै आएको हो । यसको विरोध गर्नुको कारण-मुन्धुम सभ्यता हो । याक्थुङ लिम्बूहरुको मुन्धुमी आध्यामिकस्थलका रुपमा पाथीभरालाई मानिन्छ । पाथीभरा पहाडलाई उनिहरु “मुकुम्लुङ” भनेर चिन्दछन । लिम्बू भाषामा ‘मुकुम्’को अर्थ शक्ति वा बल, ‘लुङ’को अर्थ ढुंगा भन्ने जनाउँदछ । अर्थात लिम्बु जातिहरू पाथीभरालाई शक्ति वा बलको श्रोत रूपमा मान्छन् । यस्तो क्षेत्रमा कुनैपनि व्यवसायिक कार्य गर्न नहुने भन्दै उनीहरुले विरोध गर्दै आएका हुन् ।
नेकपा एकीकृत समाजवादीकी सांसद खिनु लङ्वा लिम्बूले पाथीभरा मुकुलुङ क्षेत्रमा केबलकार निर्माण गर्ने बहानामा लिम्बूहरूको साँस्कृतिक तथा धार्मिक धरोहरमाथि अतिक्रमण हुन लागेको संसद्मै बताएकी थिइन् ।

‘ताप्लेजुङको पाथीभरा मुकुलुङ क्षेत्र आदिबासी लिम्बूहरूको पवित्र धार्मिक स्थल हो। धार्मिक आस्थाको धरोहर, हो’, पूर्वमन्त्रीसमेत रहेकी लिम्बूले भनिन्, ‘ प्रकृतिपूजक जाति हो लिम्बू, सो क्षेत्रसँग उनीहरूको धार्मिक, साँस्कृतिक र मुन्धुमी सम्बन्धहरू जोडिएको छ। यो क्षेत्रमा हजारौं वर्ष पुराना जडिबुटी, वनस्पति तथा वन्यजन्तुहरू छन्। एउटा निजी कम्पनी पोस्ने गरी अहिले जंगल फडानी भइरहेको छ। एउटा निजी कम्पनीको हितका लागि जंगल फडानी भइरहेको छ। यसले हिमाली चराचुरूङ्गी, रेडपान्डा सहितका वन्यजन्तुहरू समेत सखाप पार्न खोजिँदैछ।’
पाथीभरामा केबलकार निर्माणको विषय स्थानीयको विरोधमा मात्र सीमित छैन, यो विषय सर्वोच्च अदालतसम्म पुगेको छ। ताप्लेजुङको छिमेकी जिल्ला, पाँचथरको फालेलुङ गाउँपालिका–१ का आइन्द्रकुमार लिम्बूले केबलकार निर्माण रोक्न माग गर्दै २०७७ फागुन ३ गते सर्वोच्चमा रिट दायर गरेका थिए । तर पटक–पटक पेसीमा चढेर पनि सो रिटमाथि अन्तिम सुनुवाइ हुन सकेको छैन । रिटमा त्यो ठाउँमा केबलकार निर्माणले धार्मिक आस्थाको मुन्धुमी स्थल, ऐतिहासिक एवम् पुरातात्विक महत्व र सांस्कृतिक मूल्यमान्यता, परम्परा, पहिचान तथा अस्तित्व तोडमोड हुने दाबी गरिएको छ ।
यो केवलकार निर्माण भएमा धार्मीक सभ्यतामाथि आक्रमण भएको छैन । प्रकृतीमाथि पनि आक्रमण भएको छ । यो निर्माणका लागि २.७२ किमि क्षेत्रफलमा रहेको १४ हजार २३१ वटा रुख काट्नुपर्छ जसले पर्यावर्णमा पनि समस्या पुर्याउने स्थानीयहरु बताउछन् । यसरी गाउँमा विकासका नाममा धार्मीक मान्यता र सभ्यताको विनास गर्न लागेको भन्दै उनिहरु विगत लामोसमयदेखि आफ्नो सभ्यताको संरक्षणमा तल्लिन् छन् ।
* चन्द्र ढकाल हुनु पर्नेमा अन्यथा भएकाले सच्याइएको ।